९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

हरिवंशलाई सेलिब्रिटी सम्मान

काठमाडौं  – अग्रज कलाकार तथा बेस्ट सेलर लेखक हरिवंश आचार्यलाई बिहीबार ‘नेपाल बैंक अन्नपूर्ण सेलिब्रिटी सम्मान’ अर्पण गरिएको छ। हरिवंशलाई काठमाडौं ठमेलमा आयोजित एक विशेष समारोहमा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले ताम्रपत्र हस्तान्तरण तथा दोसल्ला ओडाएर सम्मान अर्पण गरेका थिए।

समारोहमा सम्मानित स्रष्टा हरिवंशले कतिपय समालोचकले आफूलाई लेखक नमानेको भन्दै गुनासो गरेका थिए। उनले आफूले कोही घोस्ट राइटर प्रयोग नगरेको, आफ्नो कथा आफै लेखेको उल्लेख गर्दै भने, ‘कतिपय टिप्पणीकारले हरिवंशको किताब धेरै बिक्यो भनेर आरिस गरेका पनि हुन सक्छन्, त्यस्ताहरूको टिप्पणीप्रति मेरो कुनै गुनासो छैन। बरु त्यसबाट मैले अर्को पुस्तक लेख्ने प्रेरणा लिएको छु।’

नेपाली वाङमयका मानक साधक हरिवंश आचार्यलाई योगदानको कदर र अभ्यर्चनासहित सार्वजनिक सम्मान गरिएको कार्यक्रम संयोजक ठाकुर बेल्वासेले बताए। लेखक हरिवंशले लेखेको आत्मकथात्मक पुस्तक ‘चिना हराएको मान्छे’ नेपाली भाषामा सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा पर्दछ। कार्यक्रममा लोक गायक रामेश श्रेष्ठ, चर्चित गायिका आनी छोइङ डोल्मालगायत सेलिब्रिटीहरूको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित: २७ मंसिर २०७६ ०२:१९ शुक्रबार

हरिवंश_आचार्य सेलिब्रिटी_सम्मान