मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्माले पूर्व भारतीय क्रिकेटर फारुख इन्जीनियरको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै वल्र्ड कप २०१९ को लागि भारतीय क्रिकेट टोलीको छनोटकर्ताहरुलाई अभिनेत्री शर्माले प्रभाव पारेको अभिव्यक्ति फारुखले दिएका थिए।
फारुखको विवादितक्तप्रति आपत्ति जनाउँदै अभिनेत्री शर्माले सामाजिक सञ्जालहरु ट्वीटर र इन्स्टाग्राममार्फत् पोस्ट सेयर गरेकी थिइन्। ‘झुटो समाचारप्रति चुप लागेर आलोचकलाई बोल्ने अवसर दिनुपर्छ भन्ने सुझाव मैले दिने गरेको छु। यस भावप्रति विश्वास राखेर मैले आफ्नो करियरको ११ वर्ष पूरा गरिसकेको छु। मैले सधैं आत्मसम्मान र सत्यको पक्षमा आफूलाई उभ्याएकी छु,’ उनले पोस्टमा उल्लेख गरेकी छिन्, ‘म चुपचाप सहेर बस्ने भएको कारण मविरुद्ध आएका अभिव्यक्ति सत्य लागिरहेको छ। तर, आज यसको अन्त्य हुनेछ।’
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको खराब प्रदर्शनको कारकको रुपमा आफूलाई मिडियाले स्थापित गरिदिँदा समेत चुप रहेको अभिनेत्री शर्माले उल्लेख गरेकी छिन्। ‘मलाई लगाइएको वाहियात आरोपप्रति म चुप बसें। अनुमानको आधारमा मेरो नाम जोडेर बन्द कोठामा हुने क्रिकेट टोलीको बैंठकमा सहभागी भएर छनोट प्रक्रियालाई प्रभावित गर्छुसम्मका अभिव्यक्ति आए। म चुपचाप बसें,’ पोस्टमा लेखिएको छ।
उनले समाचारको आधारमा विभिन्न आरोप लाग्दा समेत चुप बसेको जनाएकी छिन्। ‘वल्र्ड कप छनोटकर्ताले मसँग छलफल गरेको अर्को झुट फैलिएको छ। झुटलाई स्थापित गर्न मेरो प्रयोग नगरिदिनुहोला। तल्लो स्तरको अभिव्यक्तिमा मेरो नाम नजोडियोस्। मैले आज बोल्ने निर्णय गरेको छु। कारण, मलाई लाग्यो चुप रहनुको अर्थ कमजोर हुन होइन्। तपाईंहरु मेरो श्रीमानको आलोचना गर्नुहोस्। तर, त्यो आलोचना तथ्यमा आधारित होस् र मेरो नाम नजोडियोस्। मैले कडा मेहनतका साथ आफ्नो करियर बनाएकी छु। म यसबारे कसैसँग सम्झौता गर्न सक्दिन्,’ पोस्टमा अभिनेत्री शर्माले उल्लेख गरेकी छिन्, ‘म आफ्नो मेहनतका आधारमा सफल भएकी एक स्वतन्त्र महिला हुँ र एक क्रिकेटरकी पत्नी पनि हुँ।’
प्रकाशित: १७ कार्तिक २०७६ ०३:१० आइतबार