२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

थारू संस्कृति, पुस्तान्तरण नहुँदा हराउँदै मन्द्रौहा नाच

कैलाली - भगवान रामलक्ष्मणको जिवनीमा आधारित पौराणिक कथालाई मिलाएर नाटकीय रूपमा नाचिने थारु समुदायको ‘मन्द्रौहा नाच’ विस्तारै हराउँदै गएको छ।

थारु समुदायले असोज महिनादेखि गाउँघरमा मन्द्रौहा नाच सुरु गर्छन्। धान भिœयाउँदै दिनभरको थकान मेट्न मन्द्रौहा नाच नाच्ने गरिन्छ। मनोरञ्जनका साथै संस्कृति संरक्षण गर्न मन्द्रौहा नाच नाच्ने गरिए पनि पछिल्लो समय पुस्तान्तरण हुन नसक्दा मन्द्रौहा नाच लोप हुँदै गएको गौरीगंगा नगरपालिका–७, मट्कौनाका थारु अगुवा गंगाराम चौधरी बताउँछन्।

विशेषगरी दशैंको (ढिक्रौहा) अष्टमीको राति ढिक्री (थारु जातिको एक प्रकारको विशेष रोटी) लाई पूजा गरेर रातभरी भलमन्सा (गाउँको थारु मुखिया) को घरमा जाग्राम बस्नका लागि मन्द्रौहा नाच नाच्ने गरिएको स्थानीय भलमन्सा वीरबहादुर जोगीले बताए। उनले भने, ‘पहिले पहिले मन्द्रौहा नाच नाच्ने गरिए पनि द्वन्द्वको समयदेखि भने मन्द्रौहा नाच विस्थापित जस्तै भइसेको छ।’ नयाँ पुस्ताले मन्द्रौहा नाच नाच्न र नाटकीय भूमिका प्रस्तुत गर्न नसक्नुले पनि मन्द्रौहा नाच हराउँदै गएको उनले बताए।

मन्द्रौहा नाचमा पुरुषले महिलाको नृत्य पोशाक (लेहंगा, चोली तथा गरगहना) लगाएर मादल बजाउने मान्छेसँगै नाच्ने गरिन्छ। जसलाई थारु भाषामा नचुनिया भनिन्छ। नचुनियाले नाचिसकेपछि मात्र मन्द्रौहा नाचको नाटकीय पात्रको आगमन हुने गर्छ। रातभर मन्द्रौहा नाच नाचेपछि बिहानी पख कुखुराको डाँकोसँगै झुम्रा नाच देखाएर मन्द्रौहा नाच सकिने गथ्र्यो।

भगवान रामलक्ष्मणको जिवनीलाई आधार बनाएर दुःखीको कथा कहानी मिसाउँदै मादल बजाएर देखाउने मन्द्रौहा नाच आधुनिक गीतिक्यासेट, सांगीतिक साधनहरुले गर्दा लोप हुन लागेको भलमन्सा जोगी बताउँछन्। ‘पुरानो संस्कृतिमा मादलद्वारा नाच देखाउने गरिन्थ्यो,’ उनले भने, ‘तर, आधुनिक समयमा डिजे र आधुनिक नृत्यले गर्दा मन्द्रौहा नाच लोप भइसक्यो।’ आधुनिक फेसनप्रति युवा आकर्षित हुनु र परम्परागत पहिरन लगाउन लजाउनुले पनि मन्द्रौहा नाचको अस्थित्व हराउँदै गएको उनको बुझाइ छ।

मन्द्रौहा नाचमा केटीको लुगा लगाएर सुन्दरी बनेर नाचेको स्मरण गर्दै स्थानीय प्रेम जोगी भन्छन्, ‘मट्कौनाको मन्द्रौहा नाच भनेपछि कुनै समयमा निकै चर्चित थियो।’ २०४७ सालतिर धनगढी जाली गाउँमा मन्द्रौहा नाचको माग भएपछि त्यहाँ पुगेर कला प्रस्तुत गरिएको उनले स्मरण गरे। ‘एक रात नाच देखाउने भनेर धनगढी जाली पुगेका हामीलाई दर्शकले खुबै रुचाएपछि दुई रात बसेर नाच देखायौं,’ उनले भने, ‘त्यस समयमा पनि नाच राम्रो मानेर तमामौ दर्शकले राम्रै पैसा दिएका थिए।’ मट्कौनाको मन्द्रौहा नाच त्यो समयमा थारु बस्तीमा चर्चा कमाएको उनले बताए।

मन्द्रौहा नाचमा सधैं राजाको अभिनयमा देखा पर्ने चेचुराम जोगी पनि आधुनिक गीत संगीतमा थारु समुदायका नयाँ पुस्ताको आकर्षले गर्दा मन्द्रौहा नाच संकटमा परेको बताउँछन्। संकटकालमा रातिको समयमा घुम्न मिल्दैनथ्यो। मन्द्रौहा नाच राति नाचिने भएकाले त्यस समयदेखि बन्द भएको उनले बताए। ‘द्वन्द्वकालमा रातिको समयमा मन्द्रौहा नाच बन्द गर्नुप¥यो,’ उनले भने, ‘त्यसयता भने मन्द्रौहा नाच नाचिएको छैन।’ देशमा स्थायी शान्तिपछि सबैले क्यासेट तथा म्युजिक प्लेयरबाट नाचगान गर्न थालेसँगै मन्द्रौहा नाचप्रति कसैको चासो नगएको उनको बुझाइ छ।

पहिले–पहिले छोराहरुलाई पनि मन्द्रौहा नाच सिकाउनु पर्छ भनेर बाबुछोरासँगै नाच्ने गरेको स्मरण गर्दै अर्का स्थानीय भैयाराम चौधरीले भने, ‘आजभोलि भने बाबुछोरा एकै नाचमा नाच्न त के दर्शक बनेर पनि हेर्न लाज मान्छन्। त्यही भएर मन्द्रौहा नाच लोप हुने अवस्थामा पुगेको हो।’

प्रकाशित: ८ कार्तिक २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App