१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

साहित्यमा समानता खोज्दै एसियाली स्रष्टा

काठमाडौं – एसियाली देशका स्रष्टाहरू साहित्य र संस्कृतिमार्फत् समानता खोज्न लागि परेका छन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना भइरहेको ‘चीन तथा दक्षिण एसियाली साहित्य सम्मेलन’ मा सहभागी स्रष्टाहरूले कला र साहित्यका विभिन्न पक्षमाथि बहस गरिरहेका छन्।

अन्तर–हिमाली सांस्कृतिक तथा साहित्यिक सम्बन्धको प्रवद्र्धन गर्ने आयोजना गरिएको सम्मेलनको दोस्रो दिन कला र साहित्यका पाँच वटा कार्यपत्र प्रस्तुत गरिएका थिए। दुई वर्षअघि चीनको छेन्दुमा आयोजना भएको सम्मेलनको यो दोस्रो संस्करण हो।

एसियाली देशहरूबीच संस्कृति र सभ्यताको पुल कसरी निर्माण गर्ने बिषयमा श्रीलंका, माल्दिभ्स र चीनका स्रष्टाहरु सहभागी भएका छन्। माल्दिभ्सबाट धिवेही भाषा एकेडेमीकी उपाध्यक्ष रफिया अब्दुल गादिरले कार्यपत्रमा विभिन्न देशको लोकसंगीतका उल्लेख गरेकी छिन्। चिनियाँ लेखक संघको अन्तर्राष्ट्रिय समन्वय विभागअन्तर्गत रहेको एसियाली तथा अफ्रिकी सम्बन्ध शाखाका उपनिर्देशक तथा साहित्यकार लि छ्याङले चीनको प्रतिनिधित्व गर्दै कार्यपत्र प्रस्तुत तयार गरेका छन्। ‘साहित्यिक अनुवादको विस्तार गर्दै संस्कृति र सभ्यताको आदानप्रदानमा जोड दिनुपर्छ,’उनले भने।

बंगलादेशका अनुवादक मेहबुबा रहमानले भने साहित्यमा अन्तरक्रियात्मक कार्यलाई अगाडि बढाउन एक अर्काको साहित्य विभिन्न भाषामा अनुवाद हुनुपर्ने बताइन्। ‘अनुवादनै सञ्चारको कला हो,’ उनले भनिन, ‘यसले अनेक भाषा र संस्कृति आधारित समाजलाई जोडिदिन्छ ।’

प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चीन र दक्षिण एसियाली देशहरूका साहित्य र कलाका माध्यमबाट समानता खोज्न सम्मेलनको आयोजना गरेको दाबी गरेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सम्मेलनमा ‘हिमालय वारपार साहित्य तथा सांस्कृतिक सञ्जाल’ गोष्ठीसहित नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका सहभागीले विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिरहेका छन्। सम्मेलनमा भारतीय साहित्य अकादमी, चिनियाँ लेखक संघ, पाकिस्तानी एकेडेमी अफ लेटर्स, बाङ्गला एकेडेमीसँग दुईपक्षिय साहित्यिक आदान प्रदान भइरहेका छन्।

प्रकाशित: ३० आश्विन २०७६ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App