४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सन्तानकाे दीर्घायुका लागि ‘जिउतिया’

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा जिउतिया मनाउँदै थारु समुदायका महिला। तस्बिरः मोनिका मल्ल/नागरिक

वीरगन्ज – कुल खन्दानभित्र परलोक भएका महिला पुर्वजहरुको सम्झनामा मनाइने ‘जिउतिया’ अर्थात ‘जीवितपुत्रिका व्रतु आइतबार आस्थापूर्वक मनाइएको छ। सन्तुख, समृद्धि र रक्षाको कामनासाथ परलोकका मातृहरुलाई स्मरण गर्दै मनाइने जिउतीय मातृहरुको आत्माको शान्ति र सम्मानमा मनाइने जिउतीया पितृपक्षभित्र महिलाहरुद्वारा मनाइने एउटा पर्व हो।

मधेसी र थारु महिलाले विशेष विधिको साथमा यो पर्व हरेक वर्ष आश्विन महिनाको शुक्लपक्षको सप्तमी र अष्टमी तिथिका दिन मनाउने गरेका छन्। व्रर्तालुले यस पर्वमा पहिलो दिन जलाशयमा स्नान गरी झिगंनी (तराई) को पातमा पिना र तेल चढाई भगवान् सूर्यलाई अर्घ अर्पण गरेर व्रतको सङ्कल्प लिन्छन्। शनिबार व्रत थालेका व्रर्तालु आइतबार दिनभर निर्जला उपवासमा बस्ने छन्। आइतबार बिहान महिलाले यो विधिगरी उपवास सुरु गर्छन। त्यतिबेला व्रतालुले दहि, चिउरा पुरी र सख्खरलगायत चोखो परिकार भगवानलाई चढाएर पुजाआजा गरी प्रसाद खाएपछि व्रत बस्छन्। यस बेलाको चढाइएको सामग्रीलाई ‘सरगही’ भनिन्छ। त्यस प्रसादलाई सन्तानलाई समेत खुवाउने चलन छ। ‘सरगही’ खाएर ‘दिर्घजीवी भइन्छ’ भन्ने मान्यता छ। त्यस्तै यस पर्वमा जतसरी गीत र झ्याम्टा नाचसमेत नाच्ने चलन रहेको छ।

थारु समुदायमा जितियालाई जितका रुपमा लिदैं मनाउने गर्छन्। पारम्परीक गीत, संगीतका साथमा नाचगान सहित यो पर्व मनाइन्छ। यस जितियामा नाच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ। यस अवसरमा ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ जसलाई ‘जतसरी’ भनिन्छ। थारु महिलाहरुले गाउने एउटा अर्को पारम्परीक विशेष गीत छ जसलाई ‘दारकाटोनी’ भनिन्छ। जितिया पर्वमा खुला आकाशमुनि गीत र नृत्य प्रदर्शन गरिन्छ।

गाउँघरमा सप्तमीको रातको अन्तिम पहरमा सरगही खाएपछि बालबालिकाहरु झिसमिसेमैं घरबाहिर निस्किएर सामुहिक रुपमा रमाउने गरेका छन्। ‘मधेसी महिलाले स्नान गरेर गम्हदी चामल (कोसाभित्रै फल्ने धान) को भात, दहिचिउरा र पुरीलगायत परिकार खाने गर्दछन् भने मांसाहारीहरु र विशेषगरी थारु समुदायका महिलाले माछा, मरुवा (कोदो)को रोटी र कर्मीको साग लगायतका परिकार खाने गर्दछन्,’पण्डित उमाशंकर द्विवेदीले भने, ‘सोमबार व्रतालुहरुले व्रत उद्यापनपछि अन्नजल खाने छन्।’ पितृपक्षमा पुरुषद्वारा पितृ तर्पणका विधि पालना गरिराखेको समयमा सप्तमी र अष्टमीका दिन महिलाहरुले मातृहरुलाई सम्झिदै यो व्रत गर्ने गरेको द्विवेदीले बताए। उनका अनुसार लोकबोलीमा ‘जिउतीया’ भनिन्छ। जिउतीया गर्ने महिलाले सन्तानको आकाल मृत्यु उपर विजयी पाउने लोकविश्वास छ। उपवास बसेको दिनव्रती महिलाले मुखले ‘खर’ (सिन्को) समेत नटोक्ने भएकोले यसलाई ‘खर जिउतिया’ पनि भनिन्छ।

प्रकाशित: ६ आश्विन २०७६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App