५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

'गुलाबी उमेर'मा किशोरीका कथा

काठमाडौं – ‘नबनाई लेखुँ भन्छु, आखिर अक्षरहरू त बनाइएकै हुन्। थाहा छैन्, बनाइएका अक्षरहरूमा आफैँ लेखिँदै र मेटिँदै जाने उमेर लेख्न सकिन्छ कि सकिँदैन ?,’ मदन पुरस्कार विजेता अमर न्यौपानेको चौथो पुस्तक ‘गुलाबी उमेर’ को यो भावले मानिसलाई उमेरबारे सोच्नमग्न हुन अनुरोध गरिरहेको छ। शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी र अभिनेत्री केकी अधिकारीले संयुक्त रूपमा मदन पुरस्कार विजेता लेखक न्यौपानेको पुस्तक ‘गुलाबी उमेर’ विमोचन गरेका थिए।

कार्यक्रममा अभिनेत्री अधिकारीले पुस्तक पढ्दै गर्दा आफ्नो किशोर अवस्थामा फर्किएको अनुभव सुनाएकी थिइन्। ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवस्थामा फर्किएको अनुभूति भयो। मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरूले आफ्नो किशोरावस्थाका घटनापरिघटनालाई सम्झन्छन्,’ उनले भनिन्, ‘किशोरवस्थाका यौन जिज्ञासा, रजस्वला र गुलाबी उमेर सक्किदैं गर्दा आमासँग बढ्दै जाने निकट सम्बन्धलाई यस उपन्यासमा समेटिएको छ।’

पुस्तक पढिरहँदा मलाई आफै किशोरावस्थामा फर्किएको अनुभूति भयो। मलाई लाग्छ यो पुस्तकमा प्रत्येक किशोरीहरु आफूलाई भेट्टाउँछन् भने महिलाहरु आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झन्छन्।

मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले यो पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताए। ‘यो समयमा किशोरीहरूको मनोविज्ञान कसरी विकास हुन्छ ? वर्षाैपिच्छे उनीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ ? उनीहरूले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन् ? त्यो देखाउने प्रयास पुस्तकले गरेको छ, ’ उनले भने, ‘यस पुस्तकमा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको छ। उपन्यास लेखनमा केही नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रूपमा अर्काे पाठक खडा गरिनु नौलो अभ्यास हो ।’ नेपाली साहित्यमा किशोर साहित्यको अभाव रहेको र त्यसलाई पूर्ति गर्न यो उपन्यासले सघाउने उनको भनाइ छ।

पुस्तकमा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिएपनि विद्यार्थीहरूले भने आफूलाई जीवनको कुरा पढाएर जीवनको गृहकार्य दिएको बताए । उनले भने, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरूले नभनेर गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरूले दिएको त्यही गृहकार्य हो।’ पुस्तकमा लेखकले एक किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन् । जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ।

पुस्तकमा लेखकले उमेरलाई पाँच भागमा विभाजन गरेका छन्। जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निश्छल हुन्छ । १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील उमेर हो। र, २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रूपमा बुझ्न सकिन्छ । ४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो। ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रूपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो। फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रूपैयाँ राखिएको छ।

प्रकाशित: २२ भाद्र २०७६ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App