२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नेपाल चिनाउँदै एनालग फोटोग्राफी

काठमाडौं - नेपालमा बनेका सांस्कृतिक तथा धार्मिक सम्पदाको ऐतिहासिक फोटो विरलै पाइन्छ। डिजिटल युगको सुरुवातअघि खिचिएका सांस्कृतिक तथा धार्मिक सम्पदाको फोटोहरू जोगाउन उत्तिकै अप्ठ्यारो हुने गर्दछ। हाते प्रिन्ट र पानीको प्रयोगबाट तयार गरिएका विभिन्न पर्व र धार्मिक सम्पदाका फोटोहरूबबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएका छन्।

‘लाइफ इन एनालग’ नामक फोटोग्राफी प्रदर्शनीमा नेपालको ऐतिहासिक महत्व झल्काउने ९० वटा फोटोहरू ग्यालरीको भित्तामा झुन्डाइएका छन्। गत साउन १९ देखि सुरु भएको प्रदर्शनीमा हाते प्रिन्ट र पानीको प्रयोगबाट तयार भएका फोटो४० जना फोटोग्राफरबाट संकलन गरेर राखिएको छ। फोटोग्राफर जगदिश उपाध्यायले पुराना फोटोहरू संकलन गरेर प्रशोधन र प्रिन्ट गरेका थिए। यसअघि तीन वटा प्रदर्शनी गरिसकेका उनले ६ महिना लगाएर विभिन्न फोटोहरू संकलन र प्रशोधन गरेका थिए। ‘युवा पुस्तालाई ऐतिहासिक नेपाल चिनाउन प्रदर्शनीको आयोजना गरेका हौं। प्रदर्शनीमा समावेश फोटोहरूले प्राचीन नेपालको परिचय दिएको छ,’ उनले भने, ‘प्रदर्शनमा राखिएका फोटोहरूले नेपालको इतिहास बुझाउन मदत गर्दछ भन्ने आशा गरेका छौं।’

प्रदर्शनीमा प्राचीन बौद्ध स्तुपा, भक्तपुरको दरबार क्षेत्र र स्वयम्भुलगायत सम्पदाहरूको फोटोहरू राखिएका छन्। प्रदर्शनीमा समावेश फोटोहरूलाई नेपाली कागज, सिसा र स्टीलमा फ्रेमिङ गरिएको छ। फोटोग्राफर राजु भण्डारीको पूर्वी नेपालको भोजपुरलाई केन्द्रबिन्दु बनाएर खिचेको संस्कृति र रहनसहन समेट्ने फोटोप्रदर्शनमा राखिएको छ। मनाङको नार्फ गाउँको मानिसहरूको पारिवारिक वातावरण र माटोका घरहरुको सुन्दर फोटोप्रदर्शनमा समावेश गरिएको छ।

फोटोग्राफर मणि लामाले खिचेको डोल्पोको भान्सामा खाना पकाउन व्यस्त महिलाको जीवनशैलीको सुन्दर फोटोले दर्शकलाई आकर्षित गरिरहेको छ। स्तनपानको महत्व झल्काउँदै खिचिएको अर्को फोटोले मातृत्वको बयान गरेको छ। फोटोग्राफर आके मानन्धरले सन् १९९८ मा खिचेको कर्णालीका माझीहरुको जीवनशैली झल्काउने फोटोले पश्चिम नेपालको चिनारी बोकेको छ।

फोटोग्राफर गोपाल चित्रकारले खिचेको नेपाली खेलकुद र खेलाडीहरूको जीवनशैली झल्काउने फोटोप्रदर्शनीमा समावेश गरिएको छ। त्यस्तै सन् १९६५ मा खिचिएको सुन्दर सुन्धाराको फोटोले राजधानी बुझ्न सहयोग गरेको छ। यस फोटोलाई बखतबहादुर चित्रकारले खिचेका थिए। यो सुन्दर फोटोले सुन्धाराको इतिहास र वर्तमान अवस्थाको चित्रण गरेको छ। भक्तपुरको दरबार क्षेत्र र बौद्ध स्तुपाको ऐतिहासिक फोटोहरूले सुन्दर काठमाडौं उपत्यकालाई वर्तमान अवस्थासँग तुलना गरिएको छ। खेतै खेतको बीचमा रहेको बौद्ध स्तुपाले वर्तमान अवस्थालाई व्यंग्य गरेको छ।

फोटोग्राफर निभा राजवंशीले खिचेको प्राचीन माटाका भाँडाको फोटोग्राफहरूले कालीगढको जीवनशैली समेत बयान गरेको छ। फोटोग्राफर विवश महर्जनले खिचेको पाटन दरबार क्षेत्रको कुमारीको सुन्दर फोटोलाई हाते प्रिन्ट र रिलको माध्यमबाट निकालिएको छ।

फोटोग्राफर डा. प्रनभ जोशीले विसं.२०७२ सालको भूकम्पपछिको भक्तपुर दरबार क्षेत्रको फोटोले विनाशकारी भूकम्पको सम्झना गरेको छ। प्रदर्शनीमा नेपालमा मनाइने विभिन्न पर्व, नाचगान र सद्भावका फोटोहरूले आनन्दको महसुस गराएको छ। प्रदर्शनी भदौ ४ सम्म चल्नेछ।

प्रकाशित: २३ श्रावण २०७६ ०२:५८ बिहीबार

एनालग_फोटोग्राफी प्रदर्शनी