१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

लोकप्रिय बन्दै लोकगीत

काठमाडौं - नेपाली लोक संगीतमा आधुनिकता भित्रिएसँगै युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। वृद्धवृद्धा होस् वा युवा युवती, लोक गीत सुन्न थालेका छन्। नेपाली जीवनशैलीको पहिचानलाई लिएर तयार हुने गरेका लोक गीतहरू समय सापेक्ष हुने भएकाले यसले आफ्नो श्रोताहरूको संख्या दिनानुदिन बढाइरहेको छ। सामान्य नेपाली जीवनको विभिन्न कथामा आधारित रहेर बनेका लोकगीतको लयले नेपालीपन समेट्ने गरेको छ।

सामाजिक विषयमा आधारित रहेर लोकगीत तयार गर्ने लोक गायक बद्री पंगेनीलाई सामाजिक परिवेशले गीत लेख्न प्रोत्साहन गर्दछ। ‘सामाजिक घटनाक्रममा गीत लेख्ने कला भएका कलाकारहरूको रचना मनपराउने श्रोताहरूको संख्या दिनानुदिन बढ्दै गएको छ,’ उनी भन्छन्,‘ गीत लेख्नहरूको प्रवृति भने पक्कै फरक हुन्छ। म सामान्य अवस्थामा गीत लेख्न मनपराउँदछु।’

लोकगीतको स्तर बढेसँगै लोक संगीत सुन्ने श्रोताहरू र नयाँ कलाकारहरूको संख्या ह्वात्तै बढेको छ ।

उनका अनुसार नेपालको लोक संगीतमा आधुनिक बाजाहरू भित्रिएका छन् भने लोकगीतको स्तर बढेकाले लोक संगीत सुन्ने श्रोताहरू र नयाँ कलाकारहरूको संख्या ह्वात्तै बढेको छ। ‘लोक संगीतमा आधुनिक बाजाहरू भित्रिएका छन्। यसको स्तर बढेकाले पारिवारिक जमघटमा लोक दोहोरी सुनेर रमाउने श्रोता बढेका छन्। हरेक दिनजसो नयाँ कलाकारहरू यस क्षेत्रमा प्रवेश गरिरहेका छन्।’

नेपाली लोकगीतमा तुलनात्मक सुधार आएको यस क्षेत्रमा आवद्ध स्रष्टाहरू बताउँछन्। नेपाली लोकगीत लेखनमा गीतकारहरू सचेत हुन थालेका छन्। जमघटको माहोलमा सबैले सुन्ने मिल्ने विधामा लोकगीत पर्ने भएका कारण यसको श्रोताको संख्या बढेको राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वली बताउँछिन्। ‘स्कुल र कलेज जस्ता क्षेत्रमा लोकगीतहरूको मोह धेरै भएकाले यसलाई सुन्ने श्रोता बढ्दै गएका छन्। नेपालीको पहिचान लोक दोहोरीसँग जोडिएको हुँदा यो लोकप्रिय हुँदै गएको हो,’ उनले भनिन्।

लोक दोहोरी गीतसमेत लेख्ने गरेका गायक युवराज चौलागाईं शब्द र लय छनोटमा ध्यान दिने गरेको बताउँछन्। तीज विशेष गीतहरू निकाल्न व्यस्त उनले पछिल्लो समय नयाँ लोक कलाकारहरूसँग काम गरिरहेका छन्। ‘मैले गीत लेख्दा सामाजिक घटनाहरूलाई केन्द्रित गरिरहेको हुन्छु। शब्द र लय छनोटमा विशेष ध्यान दिने गरेको छु,’ उनी भन्छन्, ‘पुराना लोकगीतको तुलनामा राम्रा गीतहरू बन्ने गरेकाले नेपाली लोक संगीतको क्षेत्रमा नयाँ कलाकारहरू आउनेक्रम बढेको छ। लोकगीत लोकप्रिय बन्दै गएको छ।’

हाल प्रेम र विछोडका लोकगीतहरूले चर्चा पाउने गरेका छन्। कस्तो गीत लेख्ने भन्ने प्रश्नमा गायक चौलागाईं थिमअनुसार शब्द छनोटमा प्राथमिकता दिनुपर्ने बताउँछन्। गायक खुमन अधिकारीका अनुसार लोकगीतमा युवा आकर्षण बढ्दो छ। ‘विगत १५ वर्षको तुलनामा अहिले लोक संगीतको स्तर र युवा पुस्ताको आकर्षण बढेको महसुस गरेको छु। लोकगीत तयार गर्न कलाकार र स्रष्टाहरू सचेत भएका छन्। यसले निरन्तरता पाउनसक्नुपर्छ,’ उनले भने, ‘संसारभरका विभिन्न देशमा रहेका नेपाली समुदायमा लोक संगीतले चर्चा पाएको छ। युट्युवजस्ता सामाजिक सञ्जालले लोकगीतको माध्यमबाट संसारभर फैलिएर बसेका नेपाली समुदायलाई निकट ल्याउन लागिपरेको छ।’

लोकगीतका भिडियोहरू तुलनात्मक रूपमा स्तरीय बन्न नसकेको यस क्षेत्रमा लागेका स्रष्टा र कलाकारहरूले अनुभव गरेका छन्। जसले गर्दा लोकगीतको मर्म फरक अर्को हुने गरेको उनीहरूले सुनाए। लोक दोहोरी गीतहरूको प्रयोग गरेर सामाजिक सञ्जालमा व्यग्यात्मक भिडियोहरू आउने गरेका छन्।

प्रकाशित: ३ श्रावण २०७६ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App