लसएन्जल्स– अमेरिकी गायिका ब्रिटनी स्पेयर्सले आफु चाँडै नै गीत गाउन स्टेजमा फर्किने बताएकी छन्। उनको सांगीतिक करियर शुरुवाती समयदेखि नै व्यवस्थापकका रूपमा काम गरिरहेका लैरी रूडोल्फले मानसिक रूपमा अस्वस्थ रहेकी गायिका स्पेयर्स आगामी दिनमा सांगीतिक क्षेत्रमा नफर्किने घोषणा गरिरहँदा ब्रिटनीले त्यो कुराको खण्डन गरेकी हुन्।
रूडोल्फले ब्रिटनी गायनमा नफर्किने बताएपछि ब्रिटनीका फ्यानहरू चिन्तित भएका थिए। उनले स्वास्थ्य अवस्थाका कारण ब्रिटनी लस भेगासमा पुनः फर्किने सम्भावना करिब सकिएको बताएका थिए। यही मेसोमा गत शुक्रबार प्रेमी साम असघरीसँग लसएन्जल्सको कामारिलो प्रिमियम आउटलेट भेटिएकी ब्रिटनीले आफु चाँडै नै गायनमा फर्किने बताएकी हुन्।
त्यहाँ एक पत्रकारहरूले ब्रिटनीलाई ‘ब्रिटनी, धेरै मानिसहरूले तिमी पुनः गायनमा नफर्किने कुरा सोधिरहेका छन्। के हामी पुनः तपाईलाई गायनमा फर्किएको देख्न सक्छौं ?’ भनेर सोधेका थिए। ब्रिटनीले ‘अवश्य सम्भव छ’ भन्दै फ्यानप्रति माया दर्शाएकी थिइन्।
एक महिना लामो मानसिक स्वास्थ्यको परीक्षणका लागि उनले लस भेगासमा हुन लागेको सांगीतिक कार्यक्रमलाई रद्ध गरेकी थिइन्। उनले आफ्नो पिता तथा संरक्षक जेमी स्पियर्स पनि अस्वस्थ रहेकाले उनलाई समय दिनुपर्ने कारण देखाएकी थिइन्।
रूडोल्फले आगामी दिनमा ब्रिटनीले लस भेगास निवासमा फर्किएर आफ्नो प्रस्तुति दिन असक्षम रहेको खुलाएपछि उनका प्रशंसक निरास भएका थिए। ‘गायिकाको करियरको मार्गदर्शकका हिसाबले म उनीसँग काम गर्ने अन्य व्यावसायिक क्षेत्रलाई यो भन्न चाहन्छु कि उनी अब भेगास निवासमा फर्किने छैनन्। जहाँसम्म मलाई लाग्छ अब उनी त्यहाँ कहिल्यै जाने छैनन्। ब्रिटनी अब गायनमा फर्किन्नन’, रूडोल्फले भनेका थिए। लस भेगास रेसिडेन्सीलाई प्रख्यात संगीतकर्मीको घरका रूपमा चिनिन्छ।
रूडोल्फ स्पीयर्सको करियरलाई सफल बनाउन एउटा सक्रिय पात्र हुन्। सन् १९९९ मा गायिकाको पहिलो एल्बम ‘बेबी वन मोर टाइम’ सार्वजनिक भएसँगै रूडोल्फ ब्रिटनीसँग जोडिएका थिए।
पिताको स्वास्थ्यका कारण ब्रिटनी आफै पनि मनोवैज्ञानिक बिरामी भएकी थिइन्। जैमी ब्रिटनीको सह–संरक्षकका रूपमा सन् २००८ देखि सँगै छन्। गत मार्चमा ब्रिटनीका सह–संरक्षक एन्ड्रिउ वालेटले पदबाट राजीनामा दिएपछि जैमीले एक्लै ब्रिटनीको हेरचाह गर्दै आएका छन्।
पिताको खराब स्वास्थ्यको तनावमा रहेकी ब्रिटनीले आफ्ना लागि पनि एक महिनाको स्वास्थ्य जाँचको सुविधा लिएकी थिइन्। ब्रिटनीले स्वास्थ्य जाँचको सुविधा लिएको खबर सार्वजनिक भएको केही समय बित्न नपाउँदै उनी आमाको समर्थन लिएर आफै अदालत पुगेर आफुलाई जबरजस्ती मानसिक क्लिनिक पठाएको भनेर निवेदन दिएकी थिइन्।
प्रकाशित: ६ जेष्ठ २०७६ ०५:१६ सोमबार