युरोपेली सहरका ठूला सुपरमार्केट छेउछाउ हिँड्दा ‘भेगन’ रेस्टुरेन्ट प्रशस्तै देखिन्छन्। यस्तो दृश्यले युरोपमा ‘हर्वीभर्स’हरुको संख्या बढ्दै गएको हो कि भनेर अनुमान लगाउनुहोला।
तपाईंको अनुमान सही नहुन सक्छ। एउटा अध्ययनले १० प्रतिशतभन्दा कम युरोपियनले मात्र मासु खान छाडेको बताएको छ। ‘ग्यालुप’काअनुसार ५ प्रतिशत अमेरिकी मात्र ‘भेजिटरियन’ छन्। सन् १९९९ देखिको यो तथ्यांकमा कुनै परिवर्तन आएको छैन। पश्चिमाहरु तोफु ससेजमा अलि बढी साबधान भए पनि बिफ(गाईको मासु), पोर्क (सुँगुरको मासु)पहिलेकै मात्रामा खाइरहेका छन्।
पेरिसमा रहेको एक अनुसन्धान संस्था ‘ओईसीडीको’को तथ्यांकले भनेको छ – सन् १९९० यता धनी देशहरूमा चिकेन सेवनको दर ७० प्रतिशतले बढेको छ।
पश्चिमा भान्सामा चिकेनको महत्व किन यति धेरै बढ्यो? यसको एउटा कारणचाहिँ स्वास्थ्य पनि हो। सन् १९८० मा डाक्टरहरुले चेतावनी दिएका थिए– ‘रातो मासुको अत्यधिक सेवनले मुटुरोगको सम्भावना बढाउँछ।’
नयाँ अध्ययनहरूका अनुसार रातो मासुले कोलोन क्यान्सरको सम्भावना बढाउने बताइरहेको छ। रातो मासु हानिकारक भएको बताइरहँदा चिकेनलाई स्वस्थ मासुको रूपमा लिइँदै आइएको।
स्वास्थ्यकै कारण पश्चिमाहरुले चिकेन खान थाले। त्यस्तै यसमा आर्थिक पक्ष पनि जोडिएको छ। अन्य मासुको तुलनामा कुखुराको मासु बढी उत्पादन हुने गरेको छ। यसमा पोल्ट्रिफार्मको योगदान उल्लेख्य छ। सन् १९६० मा एक पाउन्ड चिकेनको दाम एक पाउन्ड बिफको भन्दा आधा कम थियो। अहिले यो अनुपात एक तिहाइमा झरेको छ।
सन् १९४० देखि किसानहरुले चराजन्य मासुको उत्पादनमा बढी ध्यान दिए। कुखुरा पाल्न उपर्युक्त वातावरण पनि बन्दै गयो। सन् २००५ मा अल्बर्ट विश्वविद्यालयका मार्टिन जुइदफले एउटा अध्ययन गरे। अध्ययनमा एउटा कुखुरा ५६ दिनमा ४.२ किलोसम्म हुन सक्ने कुरा पत्ता लाग्यो। एकातिर स्वस्थ र अर्काेतिर सस्तो भएपछि मान्छेले बढी चिकेन खानु अस्वाभाविक हैन।
–द इकोनोमिस्टबाट अनुवादित
प्रकाशित: २ चैत्र २०७५ १२:५८ शनिबार