२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मौसम’ लिएर मल्लिका

काठमाडौं – गायिका मल्लिका कार्कीले श्रोता र दर्शकमाझ दोस्रो एल्बम ‘मौसम’ लिएर आएकी छन्। उनले २०६५ सालमा ‘मल्लिका’ नामक पहिलो एल्बम बजारमा ल्याएकी थिइन्। मल्लिकाका अनुसार एल्बम ‘मौसम’मा पाँच गीत छन्। ‘एल्बमका गीत रोमान्टिक फ्लेभरका छन्। दर्शक र श्रोताले मनपराउनुहुनेछ भन्नेमा आशावादी छु’, मल्लिकाले भनिन्।
२०६१ सालबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी मोरङ सिजुवाकी मल्लिकाले गायक उदितनारायण झासँगको सहकार्यमा गाएको ‘लाजको लाली’ बोलको गीतबाट चर्चा पाइन्। यो गीत पछि उनलाई ‘यति धेरै मान्छेहरूको भीडमा’ बोलको गीतले थप चर्चा दियो। यी गीतबाहेक ‘तिमीलाई नसम्झिँदा माया’, ‘आँखैमा राखु की’, ‘कसरी कसरी आयौ’ले पनि उनी श्रोतामाझ चिनिइन्।

मल्लिकाले गायक कुमार सानुसँग ‘नयाँ जीवन पाउछु आज’, राजेशपायल राईसँग ‘जून माग जून दिन्छु’, कुमार कान्छासँग ‘खोजीमेली गर्दैमा दिन गयो’लगायतका गीतमा स्वर दिएकी छन्। मल्लिका पाश्र्व गायनमा पनि उत्तिकै अब्बल छिन्। उनले फिल्म ‘जीवनमृत्यु’को ‘गल्ती भो कि जिन्दगीमा’मा गायक दीपक लिम्बुसँग र ‘भूलभुलैया’को ‘माया राम्रो डबल सिम’ मा गायक प्रल्हाद तिमल्सिनासँग स्वर दिएकी छन्।

उनले गीतबाट ‘कालिका म्युजिक अवार्ड’, ‘विन्ध्यवासिनी संगीत अवार्ड’, ‘इमेज अवार्ड’, ‘सगरमाथा म्युजिक अवार्ड’, ‘म्युजिक खबर अवार्ड पनि पाइसकेकी छन्। मल्लिकाले एल्बम ‘मौसम’मा रहेको ‘लाखौं छन्’ बोलको गीतको भिडियो पनि निर्माण गरेकी छन्। आलोक श्रीको संगीत र किरण केसी ‘क्रोधी’को शब्द रहेको गीतको भिडियोमा ‘बुगीवुगी’ विजेता कविता नेपाली फिचर्ड छिन्।

मल्लिकाले केही दिन अघि मात्र चाबहिलस्थित सात तलेमा रहेको इनरभिजन नेपालमा रहेका बालबालिकालाई ब्ल्यांकेट, टोपी, मोज्जालगायत जाडोमा लगाउने लुगाका पहिरन प्रदान गरेकी थिइन्। ‘गायनसँगै समाजसेवा पनि मेरो रुची हो। जाडोको मौसममा बालबालिकाहरूलाई जाडोबाट जोगाउनका लागि त्यहाँ गएर लुगा वितरण गरेकी हुँ’, उनले भनिन्।

प्रकाशित: ६ माघ २०७५ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App