कठमाडौं – शैली थिएटरले १० औं राष्ट्रिय बाल नाटक महोत्सवको आयोजना गर्दैछ। आगामी माघ ७ देखि सुरु हुने महोत्सवमा राजधानीको रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ।
नौ दिने लामो महोत्सवमा झण्डै चार सय स्कुले विद्यार्थीहरू सहभागी हुँदैछन्। महोत्सवको उद्घाटनमा शैली थिएटरको नाटक ‘माटोको फुल’ मञ्चन हुनेछ। शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार महोत्सवमा रंगमञ्चमा बालबालिकाहरूलाई प्रोत्साहन गर्न तयार भएका नाटकहरू मञ्चन हुनेछन्। ‘शैली थिएटरले बालबालिकालाई रंगमञ्चमा काम गर्न प्रोत्साहित गर्ने उद्देश्यले विगत नौ वर्षदेखि निरन्तर रूपमा यो महोत्सव गर्दै आएका छ। यसपटक गत मंसिरको अन्तिम साताभित्र पठाएका उत्कृष्ट स्क्रिप्टहरूबाट छनौंट भएका नाटकहरू महोत्सवमा मञ्चन हुनेछन्’,उनले भने।
आयोजकले बालबालिकाको मनोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर नगर्ने, भाषामा केन्द्रित र राष्ट्रिय अखण्डतामा असर नपुर्याउने खालको स्क्रिप्टहरू छनोट गरेको थियो। त्यस्तै नाटकमा १५ जनासम्म कलाकार र बढीमा ७० मिनेटको नाटकहरूलाई प्राथमिकतामा राखेको थियो। यसपटक महोत्सवमा ‘आशाको सपना’, ‘लैगिंक हिंसा’, ‘चित्कार’, ‘नमस्ते’, ‘मेनुका’, ‘डम्बरी’ र ‘अध्यारो मन’ लगायत नाटकहरू मञ्चन हुनेछन्। महोत्सवका निर्णायक टोलीले विभिन्न १९ वटा प्रतिस्पर्धी नाटकलाई ६ वटा विधामा मूल्यांकन गर्नेछन्। महोत्सवमा उत्कृष्ट अभिनेता र अभिनेत्री, उत्कृष्ट नाटक, उत्कृष्ट निर्देशन, नव कलाकार र अडिसन च्वाईस अवार्ड विधामा पुरस्कार प्रदान गरिनेछ।
प्रकाशित: ३ माघ २०७५ ०६:१० बिहीबार