१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

तीन वर्षमा ‘समर लभ’

फिल्म ‘समर लभ’का कलाकार तथा निर्देशकको टिम।  तस्विरः सविता/नागरिक

चितवन - युवापुस्ताको प्रेमकथामा लेखिएको चर्चित उपन्यास ‘सभर लभ’ मा आधारित रहेर फिल्म ‘समर लभ’ निर्माण गरिएको छ। आगामी माघ २५ गते रिलिज हुने फिल्मको टिम यतिबेला प्रोमोसनल टुरमा छन्। फिल्मको निर्देशन मुस्कान ढकालले गरेका छन्।

निर्देशक ढकालले ‘नाइँ नभन्नु ल ३’मा काम गरिरहँदा प्रेमकथामा फिल्म बनाउन कथा खोज्दै गएपछि ‘समर लभ’ बताए। ‘मलाई ‘समर लभ’को कथाले जसरी अरुले मन छुन नसकेपछि उपन्यासका लेखक सुबिन भट्टराईलाई ‘समर लभ’मा केन्द्रित रहेर फिल्म बनाउन प्रस्ताव गरें’, निर्देशक ढकालले भने, ‘पाठकले अधिक मन पराएको उपन्यासमा फिल्म बनाउनु चुनौती पूर्ण थियो। चुनौतीलाई स्वीकार गरेर फिल्म बनाउन तीन वर्ष लाग्यो।’ निर्देशक ढकालले युवापुस्ताको प्रेमकथा रहेकाले लेखककै सल्लाहमा फिल्ममा नयाँ कलाकार लिईएको खुलाए। फिल्ममा अतितको भुमिकामा आशिष पिया र सायाको भुमिकामा रेवती क्षेत्री छन्। नेपाली फिल्म नगरीमा दुबै नयाँ कलाकार हुन्। 

नेपाली मूलकी भारतीय नागरिक रेवतीले यसअघि भारतीय फिल्म ‘ग्याङ्स अफ नर्थ वेष्ट’मा अभिनय गरेकी छन्। निर्देशक ढकालले फिल्मका लागि कलाकार खोज्न नै समय लागेको बताए। उनका अनुसार फिल्मका लागि हिरो पाएको १६ महिनापछि मात्र हिरोइनको टुंगो लागेको थियो। फिल्म नेपालको काठमाडौं, पोखरा, धनगढीसँगै नर्वे, सिंगापुर मलेसियाका विभिन्न स्थानमा छायांकन गरिएको छ।

पाठकले अधिक मन पराएको उपन्यासमा फिल्म बनाउनु चुनौती पूर्ण थियो। चुनौतीलाई स्वीकार गरेर फिल्म बनाउन तीन वर्ष लाग्यो।

फिल्ममार्फत अभिनयमा ‘डेब्यु’ गरेका आशिष चितवन नारायणगढका हुन्। उनले फिल्मको लागि तीन वर्ष समय दिएर काम गरेको बताए। ‘स्क्रिप्ट पनि धेरै पटक परिवर्तन गरेपछि मात्र फाइनल गरेकाले फिल्म राम्रो बनेको छ’, आशिषले भने, ‘मैले पनि उपन्यासको पात्रले जसरी नै माया पाउने आशा राखेको छु।’

नायिका रेवतीले फिल्मको कथा मन परेकाले अभिनय गरेको बताईन्। ‘घरमा पनि नेपाली नै बोल्ने हो’ उनले भनिन्, ‘बोल्न, बुझ्न मलाई कहिले गाह्रो भएन। फिल्ममा काम गर्दा भने उच्चारणमा आउने भारतीय लयका कारण केही अप्ठ्यारो भयो। 

निर्देशक ढकालले उपन्यासले उठाएको विषयवस्तु अनुसार नै फिल्मको कथा अघि बढेको बताए। ‘फिल्ममा साया उपन्यासलाई जोडिएको छैन। केही कुरा अधुरो नै राम्रो हुन्छ। पुरा होस् भने चाहना नै कहाँ हुन्छ र’ उनले भने, ‘उपन्यासमा रहेको यही लाइनलाई आधार बनाएर फिल्म बनाएको छु। यो नै सरप्राईज प्याकेज हो।’ 

प्रकाशित: १ माघ २०७५ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App