१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

जलरङ क्यानभासमा सुन्दर लुम्बिनी

काठमाडौं - गत सोमबारदेखि राजधानी र लुम्बिनीमा एकैसाथ सुरु भएको ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’मा सहभागी स्वदेशी तथा विदेशी कलाकारहरू जलरङमा क्यानभास कोर्न व्यस्त छन्। राजधानीको नेपाल कला परिषदमा राखिएका ४० देशका कलाकारको ३ सय बढी चित्र हेर्न कला पारखीको भिड बढ्दो छ। काठमाडौंमा कार्यशाला गरी लुम्बिनी पुगेको जलरङ कोर्ने कलाकारको टोली पनि भगवान गौतमबुद्धको जन्मथलोलाई क्यानभासमा उतार्न व्यस्त छन्।

बौद्ध धर्म मान्ने देशबाट आएका कलाकारहरूमा लुम्बिनी पुग्दाको क्षण विशेष रह्यो। बुद्ध जन्मेकै ठाउँ मायादेवी मन्दिरले विदेशी कलाकारलाई मोहित नै बनायो। यही माहौलमा मख्ख कलाकारहरूले जलरङको कार्यशालामा मायादेवी मन्दिर, बुद्ध जन्मेको प्रतिकका रुपमा बनेका मायादेवी र सानो बुद्धका मूर्तिहरू, छेउमै रहेको सुन्दर पोखरी र किनारमा रहेको बोधीवृक्षको सुन्दरतालाई क्यानभासमा उतारे। यो शान्त सुन्दरतालाई कसैले ल्याण्डस्केपमा त कसैले क्यानभासको आकारमा जलरङमार्फत सजाए।

चीनकी जाहोसिन रोङ्गीले बुद्धलाई धेरैपटक नमन गरिन्। आफ्नै देशको शैलीमा बनेको बिहार देखेर उनी झन दंग देखिइन्। न्यूजिल्याण्डका जिनेट वाङले सुतेरै आफ्ना इष्ट देवतालाई प्रणाम गरिन्। विश्वसम्पदा सूचीमा परेको लुम्बिनीमा बस्ने समुदायको सबै धर्मलाई सम्मान गर्ने संस्कारमा उनी लोभिइन्। उनले बुद्ध जन्मस्थल नै त्यही भएकाले त्यसको महत्व चित्रमा रहोस भन्ने ध्येय पुरा गर्न मायादेवी मन्दिरलाई रोजिन्। जिनेटले काठमाडौं फर्किएपछि बुद्ध जन्मेको स्थलका बारेमा आफ्नो देशका अरु कलाकारलाई त्यही चित्र देखाएर बयान गर्ने योजना बनाएकी छन्।

मंगोलियाका मुङखु गुुगु बुद्ध जन्मेको माटोमा टेक्दा दंग परे। उनले बुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन चित्रमा बुद्ध र भिक्षुका प्रतिक उतारे। अमेरिकाकी मिन्नी भेलेरो बुद्ध जन्मस्थलको शान्तिमय वातावरण देखेर मख्ख परिन्। ‘शान्तिको केन्द्रविन्दु नै लुम्बिनी रहेछ,’ उनले भनिन्, ‘ लुम्बिनी अमेरिकाको सहर र काठमाडौं भन्दा फरक सुन्दर लाग्यो।’ मिन्नीले मायादेवी मन्दिर र छेउको पुष्कर्मी पोखरीको सुन्दरता मनभित्रैबाट उतारिन्।

राजधानीबाट लुम्बिनी पुगेका कलाकार पनि गएकै भोलिपल्ट गत बुधबार अवलोकनकै क्रममा चित्र बनाउन कस्सिए। विदेशी कलाकार शान्तिभूमी डुल्दाडुल्दै संगालेको अनुभुति क्यानभासमा साट्न तयार भए।

 नेपालकै चित्रकार लालकाजी लामाले भने लुम्बिनीलाई स्वर्गसँग दाजे। ‘स्वर्ग साँच्चिकै कसैले देखेका छैनन्। मात्र कल्पना गर्ने कुरा हो,’ उनले नागरिकसँग भने, ‘मलाई यही नै स्वर्ग हो जस्तो लाग्यो। त्यही कल्पना चित्रमा देखाएँ।’ आकाश, बादल र प्रकाशको सुन्दर फ्युजन गर्न खप्पिस उनले त्यही धारमा जलरङको कसीले लुम्बिनीलाई नेपालको स्वर्गमा रुपान्तरण गरिदिए।

भारतका अमलेस मजुमदारले बुद्धभूमिको स–साना बस्तुतिर आँखा लगाए। उनले कसैले ध्यान नदिएको तोरणसहित मायादेवी मन्दिर छेउ बोधीवृक्षको बीच भागबाट देखिने भग्नावशेषलाई दृश्यमा उतारे। यो भग्नावशेषमा बुद्धले शिष्यलाई पढाउथे।

कलाकार डी.बराल, केशवराज खनाल, डीराम पाल्पालीलगायतका कलाकारले जलरङलाई खुला वातावरणमा बसेर कुचीमार्फत रंगाए। पूर्वी नेपालका डिल्लीकृष्ण आले र सरोजा खड्गीले मायादेवी मन्दिर र पोखरीको बीचमा बुद्धको फ्युजन गरे। आलेले जसरी कलाकारिता मार्फत शान्तिको सन्देश फैलाउन खोजेको कल्पना गरे।     सरोजाले समाजमा बढ्दै गएको दुव्र्यवहार, असमानता, हत्याहिंसाजस्ता कुराले बुद्ध केही निरास भएको चित्रमा उतारिन्। सधैँ एक्रोलिक रङ चलाउने उनले यसपटक बुद्धभूमिमा जलरङ चलाइन्।

अन्तर्राष्ट्रिय जलरङ समाजका केन्द्रिय अध्यक्ष क्यानडाका अतानुर डोगान कार्यशालाका निर्णायक हुन्। लुम्बिनी पुग्दा उनले विश्वमा अन्त नभेटिएको शान्ति र सौहार्दको प्रतिक भेटेको बताए। यहाँको संरचना र शान्तपनले सुन्दर भविष्यको चित्रण गरेको औंल्याए।

समाजको नेपाल च्याप्टर अध्यक्ष एनबी गुरुङले विदेशी कलाकारहरू लुम्बिनीको शान्ति रमणिय स्थल देखेर खुशीले उफ्रिएको बताए। ‘कति शान्त र आनन्द स्थलमा ल्याउनु भयो। बुद्ध जन्मस्थल हेर्न पायौं भनेर पटक–पटक धन्यवाद भनिरहेका छन्।’ उनले भने। गुरुङले अध्ययन गरेका विषय व्याख्या गर्ने थिमसहित भएको कार्यशालामा अधिकांशले ल्याण्डस्केपमा मायादेवी मन्दिर र भिक्षुका प्रतिकमा जलरङ सजाएको बताए। ‘कसैको चित्रमा रातोको बाहुल्यता छ त कसैले भिक्षु राखेर प्राकृतिक वातावरणलाई महत्व दिएका छन्,’ उनले भने। उनका अनुसार महोत्सवमा बिहीबार बुटवल र भैरहवाका थप पचास कलाकारले जलरङमा चित्र कोरेका छन्। उनले उत्कृष्ट पन्ध्रजना छनौट गरी अवार्ड प्रदान गरिने बताए। लुम्बिनीबाट कलाकारको टोली शुक्रबार राजधानी फर्कदैछन्।

प्रकाशित: २१ मंसिर २०७५ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App