११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

नाछिरिङ भाषाको ३९ वर्ण

नाछिरिङ समुदायका पुर्खा भेला तथा वर्ण पहिचान कार्यक्रममा सहभागी पुर्खाहरु। तस्बिरः नागरिक

खोटाङ – पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको वर्ण निर्धारण गरिएको छ। नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवं पाठ्यपुस्तक प्रकाशनलगायतका प्रयोजनका लागि पहिलोपल्ट स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारण गरिएको हो।

किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरी वर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइएको हो।

भाषा, संस्कार र संस्कृतिका विषयमा जानकार पुर्खालाई गत मंसिर ९ गतेदेखि १३ गतेसम्म धरानमा भेला गरेर नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रीतिरिवाजलगायतका बारेमा छलफल एवं सुझाव संकलन पश्चात शुक्रबार वर्ण निर्धारणको काम गरिएको केन्द्रले जनाएको छ। भाषाविद् डा. तारामणि राईको सहजीकरणमा नाछिरिङ भाषाको २६ व्यञ्जन वर्ण र १३ स्वर वर्ण पहिचान गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)का महासचिव टेक नाछिरिङले बताए।

केन्द्रका अनुसार भाषाविद्को सहयोगमा नाछिरिङ भाषामा ‘क, ख, ग, घ, ङ, च, छ, ज, झ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह र अलाई व्यञ्जन वर्णका रुपमा पहिचान गरिएको छ। यस्तै यस भाषामा इ, इः, इ, ए, एः, आ, आः, अ, अः, ओ, ओः, उ र उः स्वर वर्ण पहिचान भएको महासचिव नाछिरिङले बताए। नाछिरिङ भाषाको पाठ्यक्रम तयार पारेर सोही भाषामा पठनपाठनका लागि वर्ण पहिचानको काम गरिएको हो। विभिन्न जिल्लामा नाछिरिङ राईको जनसंख्या करिब १२ हजार रहेको अनुमान गरिए पनि हालसम्म वर्ण निर्धारणको काम हुन सकेको थिएन।

संस्कार, संस्कृति र भाषा संरक्षण अभियानका लागि खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, तेह्रथुम, मोरङ र काठमाडौंबाट नाछिरिङ समुदायका पुर्खालाई एक ठाउँमा भेला गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताईन्।

प्रकाशित: १६ मंसिर २०७५ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App