काठमाडौं – नेपालसहित विभिन्न मुलुकका करिब २८ नाटक काठमाडौंमा मञ्चन हुने भएका छन्। नाट्य क्षेत्रमा सक्रिय नेपालका आठ नाट्य समूहहरूको आयोजनामा आगामी फागुन १३ गतेदेखि फागुन २० गतेसम्म हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव, २०७५’ मा नाट्यकर्मी भेलासँगै नाटक मञ्चन हुन लागेका हुन्।
महोत्सवका लागि मण्डला थिएटर नेपाल, शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेजले सहकार्य गरेका छन्। महोत्सव निर्देशक राजन खतिवडाले पछिल्लो पुस्ताका लागि नाट्य विधामा प्रेरणा र प्रोत्साहन दिन महोत्सव गर्न लागिएको बताए। ‘नेपाली रंगमञ्चमा नाट्य मेला, उत्सवहरूको अभाव भइरहँदा देशैभरका रंगकर्मी जुटेर यो महोत्सव गर्न लागेका हौं,’गत शुक्रबार राजधानीमा पत्रकारमाझ खतिवडाले भने,‘स्थानीय स्तरमा काम गरिरहेका कलाकर्मीहरूलाई उत्प्रेरणा र सहयोगको वातावरण बनाउनसँगै स्थानीय निकायहरूसँग समन्वय गरी समग्र रंगमञ्च र अन्य प्रदेशहरूमा नाट्य संस्कृतिको विकास गर्नु महोत्सवको उद्देश्य हो। नेपालबाट अधिकतम २० नाटक मञ्चन हुनेछन्।’ खतिवडाले ‘सामाजिक रुपान्तरणका लागि कलात्मक यात्रा’ नारा दिइएको महोत्सवलाई समानान्तर रुपमा काठमाडौं बाहिर पोखरा र विराटनगरमा समेत लैजाने योजना रहेको जनाए।
आयोजकका अनुसार आठ दिने महोत्सवमा दर्शकहरूले राजधानीस्थित कालिकास्थानको सर्वनाम थिएटर, अनामनगरको मण्डला नाटकघर, टेकुको कौसी थिएटर, बत्तीसपुतलीको गोठाले नाटकघर र कीर्तिपुरको थिएटर मलमा प्रत्येक दिन फरक–फरक नाटकहरू हेर्न पाउने छन्। महोत्सवमा विविध सांस्कृतिक झाँकी, नयाँदेखि पुराना नाटकका फोटो प्रदर्शनी, अन्तत्र्रिmया, कवितावाचन, चित्रकला प्रदर्शनीलगायतका कार्यक्रम पनि हुनेछ।
महोत्सवका संयोजक सोमनाथ खनालले गत जुलाईमा रंगमञ्चमा सक्रिय संस्थाहरू भेला भएर महोत्सवको खाका तयार पारेको बताए। ‘हामीले बनाएको त्यो खाकालाई मूर्त रुप दिन महोत्सव आयोजना गर्न लागेका हौं। सहभागी हुन चाहने समूहले आफ्नो मौलिक योजनासहित हामीलाई आवेदन दिन सक्नुहुनेछ,’खनालले भने।
झण्डै दुई करोडको बजेटमा सम्पन्न हुने महोत्सवमा आयोजकले आधा रकम व्यहोर्नेछन्। आयोजकका अनुसार आयोजकले व्यहोर्ने रकम नगद नभई जिन्सी सामानसँग जोडिएको छ। बाँकी रकम सरकारी तथा गैरसरकारी अनुदान र प्रायोजकबाट लिइनेछ। आयोजकले नाटक अभ्यास र तयारीका लागि एकल कलाकार भएको नाटकलाई ५० हजार र बहु कलाकार भएको नाटकलाई १ लाख रुपैंयाँ प्रदान गर्नेछ। आयोजकले महोत्सवमा नाटक सहभागिताका लागि मंसिर १५ गतेदेखि पुष १६ गतेसम्म नाटकको आलेख र अभ्यासको भिडियो पठाउनुपर्ने जनाएको छ।
महोत्सवको पहिलो दिन नेपाली नाट्य जगतमा विशेष योगदान पु-याउने ६ जना रंगकर्मी निर्देशकहरूलाई सम्मान तथा नाटककोे क्षेत्रमा काम गर्न चाहने दुई रंगकर्मी र अनुसन्धातालाई मौलिक नाटक निर्माण अथवा अनुसन्धानका लागि प्रोत्साहन पुरस्कार स्वरुप जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ। महोत्सवमा सहभागिताका लागि दिइएको आवेदनमध्येबाट महोत्सवका संरक्षक सल्लाहकारको निर्णयले एक आवेदकलाई ‘युनिक आइडिया इनोभेसन अवार्ड’ प्रदान गरिनेछ।
प्रकाशित: १६ मंसिर २०७५ ०२:४७ आइतबार