१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ

जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ । यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ । उनी मौलिक गीत संगीतलाई प्रवर्द्धन गर्ने अभियानमा जुटेका छन् । उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन् । सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन् । उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन् । 

उनलाई भेट्न चामुण्डा गेटबाट छिर्नुपर्छ । उनी नयाँ मान्छेसँग जोसिला कुरा गर्छन् । उनीसँग कुरा गर्दा जयनन्द लामा र कुमार बस्नेतको झ–झल्को दिन्छ ।

कार्पेट पसलको भित्ताभरि उनले आफूले निर्माण गरेका म्युजिक भिडियो र चलचित्रको ब्यानर टाँगेका छन् । गोठालो एल्वमको ब्यानर ठूलै साइजमा टाँगिएको छ । उनले धुपौरामा बालेको धुपको सुगन्धले स्वागत गरेझैं लाग्छ ।    
उनी नयाँ व्यक्ति भेटेपछि मौलिक गीत संगीतका कुरा सुरु गरिहाल्छन् । हामीसँगको भेटमा उनले यसरी सुरु गरे । 

हेलम्बु पाखा मौरिको चाका 
झन खायो गुलियो 
सँगै साथि देश छोडि गयो 
म के ले भुलियो ।। 
हाम्मै, लिला, खाइलाला, हाम्मै लिला,
होकी ले, होइन ‘हो भन’२ 

उनले यो गीत ६ वर्षअघि बजारमा ल्याएका थिए । यस गीतले हेलम्बु क्षेत्रको भौगलिक वस्तुस्थितिसँगै विदेसिनेहरूको कथा समेत गीतमा उतारेका छन् । उनी मौलिक गीत समाजतिर फर्के लेख्छन् र समाजकै लागि गाउँछन् । ‘मलाई अल्लारे गीतभन्दा गाउँको दुःख जोडिएको गीतमा जीवन देख्छु । गोठालो थिए । गोठालोकै गीत गाए,’ उनी सुनाउँछन्, ‘एक समय थियो– भक्तराज आचार्य, गोपाल योञ्जन, अरुणा लामाको गीत सुन्ने । अहिले संगीतको मौसम परिवर्तन भएको छ । तर, गाउँका भीर, पाखा, माइला बाजेको शीर टोपीको गीत लेख्न र सुनाउन छोड्नुहुन्न ।’ 

उनी करिव तीन दशकदेखि गलैचा बिक्री गरिरहेका छन् । यसैबाट परिवारको घरखर्च चलाउँछन् । तर, नेपाली समाज र संस्कृतिको बिम्बको विषयको गीतमा रुचि राख्छन् । उनले लेखेको ‘छोरीको कर्म’ गीत नेपाली संगीत क्षेत्रमा चर्चाकै विषय बन्यो ।   

उनी यो वा त्यो विषयमा समाजको विभाजन हुन नहुने पक्षमा उभिन्छन् । उनी नेपाल रहेमात्र नेपालीको पहिचान विश्वमा उच्च रहने धारणा राख्छन् । यही सन्दर्भमा उनले ‘सब हुन् हाम्रा सबै दाजुभाई, सब हुन् हाम्रो दिदी बहिनी’ जस्ता गीत लेखे । उक्त गीतको म्युजिक भिडियो पनि बजारमा ल्याए । देशप्रतिको माया र एकताका लागि कलाकार सर्वमान्य सूत्र रहेको उनको अनुभव छ ।    

अहिलेसम्म उनले  १८ गीत गाइसकेका छन् । उनी जाति विशेषभन्दा पनि नेपाली सांस्कृतिक पर्व र मौलिक उत्सवका विषयमा गीत लेख्न र गाउन रुचि राख्छन् । सिन्धुपालचोक पाँचपोखरी थाङपाल गाउँपालिका– १ मा जन्मिएका नोरसाङले २०६५ बाट कलायात्रा सुरु गरेका हुन् । तामाङ समुदायले गाउने चौतारी गीतबाट उनले संगीतको यात्रा तय गरेको सुनाउँछन् ।  

उनले ‘गोठालो,’ ‘मायाको डोरीले कसौकी’, ‘हेलम्बु सेरोफेरो’, ‘हुम्ला जिल्ला’, ‘हाम्मै लिला’ जस्ता एल्बम बजारमा ल्याइसकेका छन् । कलाकार हिरा लाबा स्याङबो र निर्देशक अमिर दोङले सहयोगमा यस क्षेत्रमा आएको उनले बताए । 
यस्तै, उनले केही तामाङ चलचित्र निर्माणसँगै अभिनय समेत गरेका छन् । 

‘क्यामरामा क्लिक हुन्छकी हुन्न सोचेकै थिइनँ । तर, निर्देशक अमिर दोङले केही चलचित्रमा काम गर्ने अवसर दिएपछि अभिनय कौशल देखाउन पाउँदा उत्साहित भएको छु,’ उनले भने, ‘२०६९ सालमा म्हेन्दा, अमिर ज्यो ज्यो २ निर्माणसँगै अभिनय समेत गरेँ ।’ उनले देन्बा मायामा जीवन्त अभिनय गरेका छन् ।’

प्रकाशित: १५ मंसिर २०७५ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App