११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

पुस्तकमा दार्जिलिङका सुरसाधक

काठमाडौं – लेखक तथा संगीतकार पिटर जे कार्थक पत्रिकामा सांगीतिक स्रष्टासँगको आफ्नो सामीप्यका विषयमा लेख लेख्न रुचाउँछन्। अंग्रेजी साहित्यमा लेख्न रुचाउने उनले दार्जिलिङमा रहँदा त्यहाँ जन्मिएर संगीतको सुरुवात गरेका धेरै संगीतकर्मीसँग घनिष्ठ सम्बन्ध थियो। यिनै कार्थक तिनै संगीतकर्मीलाई सम्झिँदै पुस्तक ‘नेपाली म्युजिकमेकर्सः बिटविन दि डेल्स अफ दार्जिलिङ एन्ड दि भेल्स अफ काठमाडौं’ लिएर पाठकमाझ आएका छन्।

राजधानीमा आइतबार लेखक कार्थकसहित शिक्षाविद् तथा पूर्व राजदूत केदारभक्त माथेमा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार वैरागी काँइलाले पुस्तक संयुक्त रुपमा लोकार्पण गरे। शिक्षाविद तथा पूर्व राजदुत माथेमाले आफूले सोचेकोभन्दा फरक विषय पुस्तकमा पाएको बताए। ‘पुस्तकको नामले पनि पुस्तकभित्र नेपाली संगीतकर्मीको प्रोफाइल होला भन्ने सोचेको थिएँ। तर पुस्तक पढेपछि त्यसभित्र फरक विषयवस्तु रहेछ,’माथेमाले भने,‘तर पुस्तकमा लेखकले पुस्तकका पात्रहरूसँगको सम्बन्धलाई प्रस्तुत गर्नु भएको रहेछ। पुस्तक पढेपछि मलाई उसबेलाको सांगीतिक अवस्थामा पु-यायो।’

माथेमाले थपे, ‘ म कलेजमा पढ्दा अम्बर गुरुङले गाउनु भएको ‘नौलाखे तारा उदाए’ गीत रेडियो नेपालमा बज्दा नेपाली संगीत क्षेत्रमा चट्याङ परेजस्तै भयो। एक किसिमले भन्नुपर्दा सुनामी नै आएको थियो। दार्जिलिङबाट अम्बर गुरुङ, गोपाल योञ्जन नेपाल आएर नारायण गोपालसँग सहकार्य गर्दा नेपाली  संगीतमा स्वर्णिम काल आएको थियो।’

माथेमाले दार्जिलिङमा सिर्जना गरिएका गीत जनजिब्रोमा झुण्डिने र कविताहरू श्रोता तथा पाठकको मुटुसम्म पुग्ने किसिमको हुने स्मरण गरे। उनले अहिलेको सन्तान पुस्ताले नेपाली भाषा बिर्सिने हो कि भन्ने चिन्ता व्यक्त गर्दै त्यसलाई बचाउन युवा पुस्ता लाग्नुपर्नेमा जोड दिए। नेपालमा संगीत एकेडेमी खुले पनि त्यसले काम नगरेकोप्रति आक्रोश व्यक्त गर्दै गोपाल योन्जनले गाएको ‘देशले रगत मागे’जस्तै हिमाल, पहाड र तराईलाई जोड्ने किसिमको गीत गाउन युवापुस्तालाई आहवान गरे।

कालेबुङमा अध्ययन गरेका साहित्यकार काइँलाले पुस्तकमा सन् १९५५देखि ५६ को दशकको सांगीतिक माहोललाई उल्लेख गरेको बताए। ‘यो दशकमा नेपाली संगीतमा भएको टिपोट, गायनमा आएको परिवर्तनलाई पुस्तकमा लेखकले सुक्ष्म रुपमा प्रस्तुत गरेका छन्,’उनले भने,‘मेरो बुझाइमा ‘नौलाखे तारापछि गीतको परिकल्पनामा नयाँपन आयो। आधुनिकतावादी धारा देखियो।’

आफूहरू अटेरी समयमा आएका साहित्यकारका रुपमा चित्रण गर्दै काँइलाले संगीतमा चासो दिए पनि त्यो विधा नअँगालेको बताए। उनले पुस्तक समाज शास्त्रका विद्यार्थीका लागि तत्कालीन समयमा दार्जिलिङको सामाजिक परिवेश बुझ्न उपयुक्त माध्यम बनेको बताए। ‘नेपाली संगीतले परम्परागत जीवनबाट आफूलाई कसरी नयाँ आधुनिक परिवेशमा रुपान्तरण ग-यो भन्ने बुझाउन पुस्तक काफी छ,’काँइलाले भने,‘ पुस्तकलाई नेपालीमा भाषामा अनुवाद गरेर ल्याउन सके यसले थप पाठक पाउँछ।’

लेखक पिटरले आफूले दि हिमालयन टाइम्स, दि काठमाडौं पोस्ट र रिपब्लिका दैनिकमा लेखेका संगीतसँग सम्बद्ध लेखलाई पुस्तकमा राखेको खुलाए। ‘मैले दार्जिलिङमा रहँदा जो–जो संगीतकर्मीसँग निकट रहेर काम गरें। उहाँहरूको बायोग्राफीलाई पुस्तकमा जस्ताको तस्तै प्रस्तुत गरेको छु,’पिटरे भने,‘मैले लेखेका झण्डै ७० बढी लेखलाई सम्पादन गरेर पुस्तकमा अटाएको हुँ।’

उनले संगीतकारमा अम्बर गुरुङ कडा स्वभावका संगीतकार रहेको दाबी गरे। ‘एकपटक छाउनीमा नारायण गोपालसँग गीतको रिहर्सल गर्दा अम्बरको उनीसँग झण्डै झगडाको अवस्था आएको थियो। किनकि अम्बर संगीतको सुर नबिग्रियोस् भन्ने चाहन्थे। तर नारायणगोपाल त्यसमा ध्यान दिँदैन थिए,’पिटरले सम्झिए,‘मैले संगत गरेका संगीतकारको स्वभाव अलग अलग किसिमको थियो। जुन आफैमा रोचक पनि थियो।’

पुस्तक प्रकाशक हिमाल बुक्सका बसन्त थापाले दार्जिलिङ र काठमाडौंको संगीतमा आबद्ध स्रष्टासँगको स्मृति पुस्तकमा राखिएको जनाए।

प्रकाशित: ११ मंसिर २०७५ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App