२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘अब सबैका लागि गाउँछु’

काठमाडौं - वैष्णव जन तो तेने रे कहिए जे पीड पराई जाणे रे
पर दुःखे उपकार करे तोये, मन अभिमान ना आणे रे
अर्थात् सच्चा वैष्णव उही हो जो अर्काको पीडा बुझ्छ, जब अर्काको दुःखमा उपकार गरेपछि पनि आफ्नो मनमा कुनै अहंकार आउन दिँदैनन्।

भारतीय राज्य गुजरातका सन्तकवि नरसी मेहताद्वारा रचित यो भजन महात्मा गान्धीलाई औधी प्रिय थियो । गान्धीजीले यो भजनलाई दैनिक प्रार्थनाको अभिन्न पाटो बनाएका थिए । १५ औं शताब्दीका शीर्ष कवि मेहताको यो भजनमा सच्चाइको शक्ति, गति र दृष्टि अन्तर्निहित छ । संकल्प, साहस र दृढताको यो काव्यस्वर भारतीय स्वतन्त्रता आन्दोलनका प्रायः सबै सेनानीका ओठमा झुन्डिएको थियो । गान्धीको आध्यात्मिक चिन्तनबाट प्रभावित रहँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले यो भजनको चर्चा गर्दै गत सोमबार ट्विट गरे–
‘गान्धीजीको प्रिय भजन वैष्णव जन सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो नेपाल भ्रमणका स्मृतिहरू ताजा भएको छ।’

सन् १९८६ मा संगठित भएर १९९१ मा औपचारिक ब्यान्डको रूपमा उदाएको नेपाली सांगीतिक समूह ‘सुरसुधा’ की पाँचौं र कान्छी सदस्य सरस्वतीले संसारकै लोकप्रिय र शक्तिशाली राजनेतामध्ये शीर्षपंक्तिमै रहेका भारतीय प्रधानमन्त्रीले उनको गायिकीलाई सार्वजनिक सञ्जालबाटै प्रशंसा गर्ने सपनामा समेत चिताएकी थिइनन्। तर सोमबार बिहान ठूलाबडा, साथीसंगाती र असंख्य प्रशंसकबाट बधाई आउन थालेपछि मोदीको ट्विट हेरेकी उनी दंग परिन् । ट्विटरको संसारबाट निकै टाढा रहेकी उनले मोदीको ट्विटपछि शब्दबाट भेट्न वा भन्न नसकिने खुसी, आनन्द र गौरवको बोध गरिन् । तीन वर्षको छोटो सांगीतिक यात्रामा उनको यो शिखर उपलब्धि आफैंमा चकित पार्ने खालको थियो । तर, यसको धरातल भारतीय प्रधानमन्त्रीको पछिल्लो नेपाल भ्रमणमै तयार भइसकेको थियो।

मोदीको पछिल्लो नेपाल भ्रमणक्रममा राजधानीको होटल द्वारिकामा आयोजित सुरसुधाको सांगीतिक प्रस्तुतिमा सरस्वतीले चर्चित गुजराती लोकगीत ‘उची तलावडी नि कोर पानी ज्ञाता’ गाएकी थिइन् । कार्यक्रममा विशिष्ठ अतिथि दीर्घामा रहेका मोदी सरस्वतीको बेजोड गायिकी र गीत छनोटबाट हर्षितमात्र भएका थिएनन् भावविभोर हुँदै छेउका अन्य अतिथिसँग गीत र उनको गायिकीका बारेमा कानेखुसीसमेत गरेका थिए।

कार्यक्रम सकेलगत्तै पूर्वनिर्धारित मार्ग छाडेर सांगीतिक समूहसँग मिसिन पुगेका मोदीले सरस्वतीसँग सोधेका थिए, ‘आप ने यह गीत कैसे सिखा’ (तपाईंले यो गीत कसरी सिक्नुभयो ?) । सरस्वतीले उत्तर दिइन्, ‘इन्टरनेटमा भेटाएर गाउने अभ्यास थालेकी हुँ ।’ हो, भारतीय प्रधानमन्त्रीको सम्मानमा गीतसंगीत प्रस्तुत गर्नुपर्ने परराष्ट्र मन्त्रालयको आग्रहपछि सुरसुधाले यो गुजराती लोकगीत चयन गरेको थियो। ‘इन्टरनेटमा खोजतलास गर्दा लोकलयमा आधारित यो गीतलाई सुन्नेहरूको कमेन्ट्सका भरमा छनोट गरेका थियौं। जसलाई निकै मिहिनेतका साथ सुरसुधाका वाद्यवादकले अझै श्रवणयोग्य बनाउनुभयो,’ बिहीबार सरस्वतीले नागरिकसँग भनिन्।

कार्यक्रममा मोदीको ताली र राम्रो गाउनुभयो भन्ने टिप्पणीबाट परम्परागत एवं शास्त्रीय ब्यान्ड सुरसुधाकी सरस्वती हौसिएकी थिइन्। र, आफ्ना अग्रज सहकर्मी एवं गुरु सुरेन्द्र श्रेष्ठ (तबलाबादक) सँग निरन्तर थप राम्रो गाउने योजनाअनुरूप थप साधना गर्न थालिन् । त्यसक्रममै १५० औं गान्धी जयन्तीका अवसरमा १ सय २४ देशका गायकहरूको स्वरमा ‘वैष्णव जन’ रेकर्ड हुने र नेपालका तर्फबाट उनलाई नै यो गीत गाउनुपर्ने सूचना नेपालस्थित भारतीय दूतावासबाट प्राप्त भयो । जयन्तीको केही दिनपूर्व मात्र उनले यो जानकारी प्राप्त गरेकी थिइन् । समय कम थियो, त्यसैले रातदिन गीतको तयारीमा जुटे सुरसुधाका संगीतकर्मीहरू। तवलावादक सुरेन्द्रकै घरमा रिहर्सल सुरु भयो । दिल्लीबाट प्राप्त गीतको अन्तर्राष्ट्रिय ट्रयाकलाई बेसिक गिटार र प्याडको प्रयोगबाट परिमार्जित गरियो । अर्थात् ट्रयाक र स्केल बुस्टअप गर्नेक्रममा नेपालको मौलिकता र विशिष्टता समावेश गरियो। र, एकदुई दिनको अभ्यासपछि ‘ड्रिम्स स्टुडियो’ मा गीत रेकर्डिङ भयो । रेकर्डेड गीतको भिजुअलसमेत तयार भएपछि दूतावासलाई बुझाइयो । ११ मे २०१८ का दिन गान्धी जयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सरस्वतीले पुनः त्यो गीत गाइन् र धेरै बढी प्रशंसा बटुलिन् । सोही दिन दिल्लीमा यो गीतको ५ मिनेट ३० सेकेन्डको अन्तर्राष्ट्रिय गायन (१ सय २४ देशका गायकको आवाज रहेको) एल्बमको लोकार्पण भयो । त्यसलगत्तै सरस्वतीको गायिकीबारे मोदीको ट्विट आएको हो।

पाँच वर्षअघिबाट अनौपचारिक तालिम दिँदै आएका र हौसलाबढाइँ गर्दै आएका सुरेन्द्रले सरस्वतीलाई तीन वर्षअघि सुरसुधाको  अन्तिम सदस्य बनाएका थिए । सन् २०१५ मा सुरसुधाको मञ्चमा देखिएकी सरस्वतीलाई छिमेकी देशका प्रधानमन्त्रीले सार्वजनिक सञ्जालबाट प्रशंसा गर्ने अनुमान सुरेन्द्रले पनि गरेका थिएनन् । उनले भने, ‘यो सरस्वतीको व्यक्तिगत उपलब्धिमात्र होइन्, सुरसुधाको वैश्विक परिचयको अनुमोदन पनि हो ।’ सुरेन्द्रका अनुसार अनवरत साधना सरस्वतीको राम्रो पक्ष रहेको र सुरुदेखि नै असल गायक बन्ने सम्भावना बोकेकी उनको गायिकीमा क्रमशः परिपक्वता आइरहेको छ।

काभ्रे जिल्लाको बेखसिम्लेमा जन्मिएकी सरस्वतीको शिक्षादीक्षा काठमाडौंमै भएको हो । स्कुल जीवनदेखि नै गीत गाउन रुचाउने उनी सन् २०१० देखि गीतसंगीतमै क्यारिअर बनाउने सोच बनाइन् । त्यसअनुसार नै उनी तालिम थालिन् र सुरसुधामा भोकलिस्टका रूपमा आबद्ध भइन् । सुरसुधामा सुरेन्द्रसँगै प्रेम राणा (बाँसुरी), राजीव श्रेष्ठ (सितार), विकास सिँह (गिटार) र सरस्वती (भोकलिस्ट) छन् । बुद्धिज्म र हिन्दुइज्म मन्त्रोच्चारणमा पोख्त उनी सन् २०१५ मा पेरिसमा आयोजित एक कार्यक्रममा बुद्धिज्म मन्त्रोच्चारण गरिरहँदा दर्शक दीर्घामा बसेका इसाइहरूसमेत भावविह्वल बनेका थिए । सहकर्मी सुरेन्द्रले त्यो कार्यक्रम सम्झिँदै भने, ‘सरस्वतीले मन्त्र गाइरहँदा दर्शकहरूले आँसु नै चुहाए । साँच्चिकै सरस्वतीको स्वरचरित्र अब्बल छ ।’ चीन र भारतको दिल्लीसमेतमा आफ्नो गायनको जादु पस्किसकेकी सरस्वतीले मोदीको ट्विटपछि आफूलाई थप व्यवसायिक र जिम्मेवार बनाएको सुनाइन् । उनले भनिन्, हिजोसम्म आफ्नो लागि गाउँथें, अब सबैका लागि गाउनुपर्छ।’

प्रकाशित: ९ कार्तिक २०७५ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App