फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा गरेको अभिनयबाट खगेन्द्र लामिछानेले खुब प्रशंसा पाए। दुवैको कारण थियो– फिल्ममा उनले गरेको जीवन्त अभिनय र लेखेको मन छुने कथा। त्यसपछि रिलिज भएको ‘धनपति’ले भने अघिल्ला दुई फिल्मको साख जोगाउन सकेन।
अहिले फेरि खगेन्द्र पर्दामा आएका छन्, ‘डमरुको डन्डिबियो’ लिएर। डमरु आफैँ बनेका छन् र लागेका छन्– डन्डिबियोे क्रान्ति गर्न। विषयवस्तुको छनोट मौलिक र संवेदनशील छ तर फिल्म उति बलियो र मन छुने छैन। ‘डमरुको डन्डिबियो’को लेखक र अभिनेता दुवै रहेका खगेन्द्रले ‘पशुपतिप्रसाद’बाट आर्जन गरेको साख जोगाउन सकेको छैन।
यो फिल्म लोप हुँदै गरेको डन्डिबियो खेललाई पुनः ब्युँताउने लक्ष्य बोकेर गाउँ फर्किएको डमरु (खगेन्द्र लामिछाने)को कथा हो । बिर्सिइएको डन्डिबियोलाई फेरि सम्झाउन डमरुले गर्ने संघर्ष फिल्मको मुटु हो।
गाउँका हेडमास्टर (अनुप बराल) तथा डमरुका बुबा डमरुलाई लोकसेवाको परीक्षा दिलाएर सरकारी जागिरे बनाउन चाहन्छन् तर डमरुको रुचि भने अर्कै छ– डन्डिबियो खेललाई पुनःस्थापित गराउने । गाउँमा बस्ने उनकी प्रेमिका माला (मेनुका प्रधान) र साथी मुखिया (बुद्धि तामाङ) सुरुमा उनको यो उद्देश्यमा सहमत हुँदैनन् । तर जब उनीहरु सहयोगका लागि तयार हुन्छन्, डमरुकै बुबा योगेन्द्र (अनुप बराल) भिलेन भइदिन्छन्। कारण, डन्डिबियोप्रेमी योगेन्द्र गाउँमा कसैले डन्डिबियो खेलेको रुचाउँदैनन् । उनको ठम्याइ छ, यो खेलेर जिन्दगी उँभो लाग्दैन।
बाबुको असहमतिपछि पनि डमरु स्कुले विद्यार्थीलाई भेला गरेर डन्डिबियोको टिम बनाउन थाल्छन्। उता हेडमास्टर बाबु विद्यार्थीलाई कारबाही गर्न थाल्छन्। यत्तिकैमा परिस्थिति यस्तो आउँछ कि बाबु (योगेन्द्र) र छोरा (डमरु)को टिमबीच डन्डिबियो प्रतिस्पर्धा हुन्छ। डमरुको टिमले हार्छ। आफ्नै प्रेमिकाले बाबुसँग मिलेर खेल हराएको आशंका गर्दै डमरु फेरि सहर फर्किन्छ– बाबुको ‘सरकारी जागिरे’ सपना पूरा गर्न । त्यसपछि डमरुको डन्डिबियो सपना के हुन्छ ? मालासँगको प्रेम के हुन्छ ? डन्डिबियोको पुनःस्थापना कसरी हुन्छ या हुँदैन ? यस्तै प्रश्नहरुको जवाफ दिएर फिल्म सकिन्छ।
नेपाली मौलिक खेललाई पर्दामा पस्कन खोज्नु आफैँमा एउटा सुन्दर प्रयास हो। यसको श्रेय निर्देशक छेतन गुरुङ र खगेन्द्रलाई जान्छ। विषयवस्तुकै कारण फिल्मप्रति दर्शकको संवेदना पनि पक्कै जान्छ। तर फिल्म उत्कृष्ट बनाउन यतिले मात्रै पुग्दैन। विषय उठाएपछि यसले दर्शकको भित्री संवेदनालाई पनि हुँडल्न सक्नुपर्छ। तर विडम्बना, पटकथा कमजोर भइदिँदा योे फिल्म उत्कृष्ट हुनबाट चुकेको छ। यस्तो लाग्छ, फिल्मको विषय मौलिक भए पनि पटकथा हावामा बगेको छ, भुइँ छोएको छैन।
खेल विधाका फिल्म बनाउँदा निर्देशकसँग ठूलो चुनौती हुन्छ– दर्शकलाई बोर नलाग्नेगरी कथा भन्ने। ताकि फिल्म हेरिरहँदा दर्शकले कुनै स्टेडियममा बसेर खेल मात्रै हेरिरहेको महसुस नगरुन्। पटकथामा मिहिनेत नपुग्दा यो फिल्म यही पक्षमा चुकेको छ।
फिल्ममा पात्रहरुबीचको द्वन्द्व र संघर्ष स्थापनामा पर्याप्त मिहिनेत देखिँदैन। खगेन्द्र र अंकित खड्काको टिमबीच हुने प्रदेशस्तरीय खेलले दर्शकमा कुनै रोमाञ्चकता छर्दैन। न त दुईमध्ये कुनै एक टिमप्रति सहानुभूति राख्नुपर्ने खास कारण नै भेटिन्छ। किनभने प्रदेश ६ र ७ नम्बरबीच खेल हुँदा दर्शकले स्वाभाविक रुपमा आ–आफ्नो प्रदेशलाई नै समर्थन गर्छन्।
बलिउडमा बनेका खेल विधाका फिल्महरु ‘चक दे इन्डिया’, ‘दंगल’को अन्त्य रोमाञ्चक र उत्सुक हुनुमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी पनि एक कारण हुन्थ्यो। तर ‘डमरुको डन्डिबियो’को अन्त्य अन्तर्राष्ट्रिय नभएर प्रदेशस्तरीय प्रतिस्पर्धामा हुन्छ। जहाँ दर्शक कसलाई किन समर्थन गर्ने भन्नेमै अल्मलिन्छन्।
दुई घण्टा १८ मिनेट समयवधिको यो फिल्मलाई छोट्याएर अझ कसिलो र खँदिलो बनाउन सकिन्थ्यो। ह्वाइट बोर्डमा डन्डिबियो खेल्न सिकाइएका दृश्यलाई छोट्याएको भए दर्शकले हाई काढ्ने थिएनन्।
मौलिकपन यो फिल्मको प्रशंसनीय पक्ष हो । विषय, परिवेश र पात्रहरुले नेपालीपनको झल्को दिन्छ तर विश्वका खेल विधाका फिल्म हेर्दै आइरहेका दर्शकलाई खेलाडीको संघर्ष र खेल स्थापित गराउन प्रयोग गरिएका दृश्यहरु नौलो नलाग्न सक्छन्।
फिल्ममा डन्डिबियो खेललाई आधुनिक तरिकाले खेलिएको छ। सायद यसअघि यति व्यावसायिक हिसाबले यो खेलबारे सोचिएको थिएन । फिल्ममा खेलका नियमहरु पढाइएका छन्। फिल्म हेर्दैै गर्दा यस्तो लाग्छ, यो सिनेमा कम र डन्डिबियोको प्रशिक्षण कक्षा ज्यादा हो।
यो सिनेमाको एउटै अभियान– डन्डिबियोलाई खेल जगत्मा पुनःस्थापित गराउने र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने देखिन्छ।
यो फिल्मले दर्शकलाई डन्डिबियोको सम्झना ताजा त गराउँछ तर खेल्न छाडेकालाई अब खेल्न थाल्नुपर्छ भन्ने भावना उत्प्रेरित पक्कै गराउँदैन । पहिलो हाफको तुलनामा दोस्रो हाफ झन् खस्किएको महसुस हुन्छ।
फिल्मले पात्रमार्फत् पुनःस्थापनाको लक्ष्य त लिएको छ तर सफल भएको महसुस गराउँदैन। किनभने एउटा प्रदेशस्तरीय प्रतिस्पर्धा हुँदैमा डन्डिबियो पुनस्र्थापना भयो भन्नेमा दर्शक कन्भिन्स हुने ठाउँ छैन।
फिल्ममा कसैले बढी कमाल गरेका छन् भने त्यो सिनेमाटोग्राफर हरि हुमागाईंले नै हो। पात्र र परिवेशलाई कथाको मर्मअनुसार उनले क्यामेरामा निकै कलात्मक ढंगले खिचेका छन्। एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर पनि फिल्मको विधाअनुसार लयमै छ। पटकथा फितलो हुँदाहुँदै पनि प्रस्तुतिमा निर्देशकले अथक् प्रयास गरेको फिल्ममा झल्किन्छ।
फिल्ममा अधिकांश कलाकारको काम राम्रै छ तर मुख्य पात्रको भूमिका निभाएका खगेन्द्र लामिछाने आफ्ना पुराना फिल्मभन्दा फरक देखिन सकेका छैनन्। उनलाई ‘टुल्के’ ‘पशुपतिप्रसाद’ र ‘धनपति’का रुपमा हेरिसकेका दर्शकले ‘डमरु’का रुपमा देख्दा अभिनयमा खासै परिवर्तन पाउँदैनन्। नयाँ पात्रमा काम गर्दा पुरानोको झल्को आउनु कलाकारको सफलता होइन । त्यसैले लेखनमा मात्रै होइन अभिनयबारे पनि खगेन्द्रले अब सोच्नुपर्छ।
फिल्ममा बुद्धि तामाङको अभिनय तारिफयोग्य छ। दर्शक त हसाउँछन् नै, फिल्मैपिच्छे आफूलाई परिष्कृत गर्दै लगिरहेको महसुस पनि गराउँछन्। अनुप बराल पात्रअनुसार स्वाभाविक छन्। अनुपको सहकर्मीका रुपमा आशान्त शर्मा फिट छन्। मेनुका प्रधान, अंकित खड्का, लक्ष्मी बर्देवाको अभिनय पनि पात्र सुहाउँदो छ।
समग्रमा यो फिल्मले अहिलेसम्म ओलम्पिकमा नखेलिएको डन्डिबियो त खेल्यो तर फिक्का !‘धनपति’बाट निराश दर्शकका लागि खगेन्द्र पुनः डन्डिबियोको मैदानमा उत्रिए तर सक्दो ठ्याक लाउन चुके। खेल्ने मिहिनेत पुगेन। ‘स्पोर्ट्स् ड्रामा’का पारखीलाई फिल्मले इन्गेज त गराउला तर उत्कृष्ट फिल्मको स्वाद पक्कै दिँदैन।
शुक्रवार साप्ताहिकबाट
प्रकाशित: २७ वैशाख २०७५ ०८:०१ बिहीबार