काठमाडौं फोटोग्राफर संघले देशैभरका विवाहमा खिचिएका विभिन्न जातजातिका धर्म संस्कृति झल्किने तस्बिरहरूको उत्कृष्ट १०० मध्येका फोटो र उत्कृष्ट भिडियोहरुलाई अवार्ड वितरण गरेको छ ।
संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा केपिए वेडिङ फोटो अवार्ड २०२४ अवार्ड वितरण गरेको हो ।
प्रतियोगितामा सहभागीमध्ये सञ्जय मगरले उत्कृष्ट फोटो मध्ये पहिलो स्थान ओगट्दै सोनी मिररलेस क्यामेरासहित विभिन्न उपहारहरू प्राप्त गरे ।
भिडियोतर्फ उत्कृष्ट भिडियो बनाउन सफल पशुपति श्रेष्ठले ड्रोन क्यामेरासहित विभिन्न उपहारहरू प्राप्त गरेका थिए ।
संघका अध्यक्ष हरि घिमिरेले देशैभरबाट संकलन भएका फोटो तथा भिडियोहरू उत्कृष्ट रहेको र निर्णायक मण्डलबाट आएको नतिजालाई आधार बनाएर अवार्ड वितरण गरेको बताए ।
प्रतियोगितामा मुख्य विधा अन्तर्गत काठमाडौंका संजय मगर प्रथम भए भने, पर्साका ओम प्रकाश कुशवाह द्वितिय र पोखराका लक्ष्मीपति पौडेलले तृतीय पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट दशमा सौगात भट्ट, प्रकाश गौतम महेश डंगोल, रामबहादुर तामाङ, रत्न बहादुर बस्नेत, आकाश कुमार चौधरी, सानुकाजी महर्जन पर्न सफल भए ।
पिपुल्स च्वाईस अवार्ड भने पोखराका अग्निधर तिमिल्सिनाले हात पारेका थिए । सहायक विधा अन्तर्गत प्रीपोस्ट वेडिङ तर्फ काठमाडौंका दीपक मैनाली प्रथम, काठमाडौंकै अजय बुढाथोकी द्वितीय र कपिलवस्तुका कर्णबहादुर तिवारी तृतीय भए । भिडियो विधामा भने काठमाडौंका पशुपति श्रेष्ठले प्रथम स्थान हात पारेका थिए ।
प्रतियोगितामा भाग लिएका फोटोहरुमध्ये उत्कृष्ट १२० फोटोहरु बबरमहलस्थित आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएको थियो ।
कार्यक्रममा पर्यटन तथा उडयन मन्त्री पाण्डेले प्रतियोगिता र अवार्डका कारण नेपाली परम्परा र संस्कृतिको जगेर्ना हुने बताउँदै नेपालको पर्यटन विकासमा उल्लेख्य भुमिका खेल्ने बताए । फोटोग्राफी आँखी झ्याल बन्न सकेमा संस्कृति विश्वव्यापी बन्न सक्ने बताउँदै उनले फोटोग्राफरले एक ठाउँमा बसेर अर्को ठाउँको दर्शन गराउने भन्दै त्यसबाट मोहित हाम्रो संस्कृति हेर्न आउन बाध्य हुने बताए । पशुपतिनाथ र मुक्तिनाथ मन्दिरलाई फोटो ग्राफीबाट हेरेर नेपाल आउने भावना पलाउने बताउँदै मन्त्री पाण्डेले प्रकृतिको हिमाल, पहाड, तराई, वनजंगल, जल,जडिबुटि र सम्पदाहरुले सम्पन्न रहेको नेपालको पर्दा र छविछायाँ बन्ने काम फोटोग्राफरको भएको मन्त्री पाण्डेले बताए ।
अवार्डले नेपाली परम्परागत विवाह, नेपाली फोटोग्राफी र भिडियोग्राफीलाई विश्वसामु पुर्याउन प्रोत्साहन मिलेको अध्यक्ष हरि घिमिरेले बताए ।
नेपालको कला संस्कृतीलाई बचाउँदै नेपाललाई वेडिङ् डेस्टिनेशनको हब बनाउनको लागि अवार्ड वितरण गरिएको जानकारी उनले दिए ।
प्रकाशित: १४ पुस २०८१ १९:०९ आइतबार