४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला

कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम भएको छ।

वैयक्तिक सम्बन्ध, साहित्य, शिक्षा आदि क्षेत्रमा सँगसँगै यात्रा र सङ्घर्ष गरी समाजमा विशेष परिचय बनाएका व्यक्तित्वका अन्तरङ्ग संवादका रूपमा सङ्घर्ष सँगाती कार्यक्रम रहेको छ।

 पहिलो कार्यक्रममा कोहलपुरमा रही शिक्षा र साहित्यका क्षेत्रमा सक्रिय एवम् स्थापित साहित्यकारद्वय महानन्द ढकाल र सुमित्रा न्यौपानेको अन्तरङ्ग संवाद प्रस्तुत गरियो।

आफ्नो बाल्यकाल, किशोरवय, विवाह, साहित्य यात्रा र जीवनशैलीका साथै शिक्षण अनुभवलाई ढकाल र न्यौपानेले खुलेर पस्किए। पूर्णिमाको तीन कार्यकाल अध्यक्ष बनेका ढकाल हाल नेपाल प्रज्ञाप्रतिष्ठान प्राज्ञ सभाका सदस्य छन्।

त्यस्तै संस्थाकी पूर्व उपाध्यक्ष न्यौपाने कोहलपुर वाङ्मय प्रतिष्ठानकी हालकी उपाध्यक्ष हुन्। शिक्षण पेसामा संलग्न यो जोडीले स्तरीय साहित्यिक कृतिहरू प्रकाशन गरेका छन्।

कार्यक्रममा छ दर्जन जति साहित्यिक तथा शिक्षा क्षेत्रका व्यक्तिहरू तथा सञ्चारकर्मीहरू उपस्थित थिए। सहभागीहरूले निकै नौलो र रोचक रहेको बताए।

अर्धऔपचारिक किसिमको सो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष पुष्कर रिजालले सहसङ्घर्षबाट सफलताको बाटोमा लम्केका व्यक्तित्वहरूका अनुभव धेरैका लागि पनि प्रेरणा मिलून् भन्दै यस्तो कार्यक्रम ल्याएको बताए।

उनले संवादमा रहेका सँगातीहरूलाई माला लगाएर सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए। डेढ घन्टा जति चलेको कार्यक्रमको आरम्भमा संस्थाका सचिव केशव निमेषले छोटो भिडियो मार्फत व्यक्तित्व परिचय दिएका थिए।

प्रकाशित: १ पुस २०८१ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App