साहित्यकार ध्रुव खनालको सामाजिक उपन्यास ‘श्रेय’ सार्वजनिक भएको छ। काठमाडौं उपत्यकाको केही पुस्ताअघिको परिवेशमा आधारित यो उपन्यासले काँठ क्षेत्रको त्यतिबेलाको सङ्घर्ष र कथा व्यथालाई सजीव रूपमा प्रस्तुत गरेको छ।
यसअघि नै करिब एक दर्जन पुस्तक र त्यत्तिकै संख्यामा गीतहरू सार्वजनिक गरिसकेका उपन्यासकार खनालले बाल्यकालमा सुनेका अनौठा र रहस्यमय कहानीहरूलाई उपन्यासमा विभिन्न पात्रहरूका कथा, उपकथामार्फत् अभिव्यक्त गरेका छन्।
उखाने काका, हर्षबहादुर मनकली दिदी, ज्योतिष बा, दिलमाया, द्वार्नी आमा, अछामे कान्छोजस्ता पात्रहरूका सम्वाद र चरित्र चित्रण मार्फत् आजभन्दा करिब सय वर्षअघि काँठको अवस्था के थियो भन्ने यथार्थ उपन्यासमा दुरुस्तै उतारिएको छ।
त्यतिबेला काँठ क्षेत्रमा घाँस दाउरा गर्दाको दुःख, पीठो पिन्न रात बस्दै घट्ट जानुपर्ने बाध्यता र खेतीपाती गर्न जाँदा राति राति वा दिउँसै भूतले तर्साएका कहानीहरूको उपन्यासमा सजीव चित्रण छ।
३६४ पृष्ठको यो उपन्यासमा उपन्यासकारले काँठ क्षेत्रको तत्कालीन जीवनचर्या टपक्कै टिपेका छन्। ढिकी, जाँतो, फलैचा, पिँढी, गुन्द्री, मान्द्रो, उड्गल, लुसी, धुन्चे, खुर्पेटो जस्ता काँठे पहिचानहरू अहिले लुप्तप्रायः भइसकेको परिवेशमा नयाँ पुस्ताका लागि यो उपन्यास एउटा नयाँ विषयवस्तुका रूपमा आएको छ।
“हाम्रा पुर्खाहरूको जीवनकथा र उनीहरूका संघर्षबारे अहिलेको पुस्ता पूरै अनभिज्ञ नहोस् भन्न मैले यो उपन्यास तयार पारेको हुँ,” उपन्यासकार खनालको दावी छ, “त्यसैले यो कृति विद्यालय तहका विद्यार्थीका लागि पनि एउटा उपयोगी पाठ्यसामाग्री हुने मैले ठानेको छु।”
इटर्नल पब्लिकेशन प्रालिले प्रकाशन गरेको यो किताबको मूल्य ५५० रुपैँया छ।
प्रकाशित: २९ मंसिर २०८१ ११:०० शनिबार