३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

‘महोत्सव भक्तपुर अध्ययन गर्न चाहनेका लागि अवसर’

२६ वर्षपछि भक्तपुरमा भक्तपुर महोत्सव सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको यो महोत्सव पुस २ गतेसम्म चल्ने छ। महोत्सव सुरुसँगै सिंगो भक्तपुर महोत्सवमय बनेको छ। प्रत्येक वडा र टोलटोलमा विभिन्न प्रदर्शनी गरिएको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले एक भव्य समारोहबीच महोत्सवको उद्घाटन गरेका हुन्। विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको दरबार क्षेत्रमा उद्घाटन कार्यक्रम गरिएको थियो। सोही कार्यक्रममा बिजुक्छेंले भक्तपुर नगरपालिकाले महोत्सवका अवसरमा प्रकाशन गरेको ‘स्मारिका’ र सांस्कृतिक नगरी भक्तपुरको ‘फोटो पुस्तक’ विमोचन गरे।

उदघाटन कार्यक्रममा महोत्सव आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव अवधिभर सिंगो भक्तपुर महोत्सवमय देखिने भएकाले अध्ययन अनुसन्धान गर्नेहरूका लागि यो एक महत्वपूर्ण अवसर भएको बताए।

महोत्सवमा नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरूमा महŒवपूर्ण गतिविधि सञ्चालन हुने बताउँदै उनले भक्तपुरका चोक र गल्लीहरूमा पनि स्थानीयवासीले विभिन्न आकर्षक गतिविधिहरू सञ्चालन गरिरहने बताए।

विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकहरूको पनि प्रवर्धन गर्ने उद्देश्यले भक्तपुर महोत्सव आयोजना भएको बताउँदै उनले महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरू प्रदर्शन गरिने जानकारी गराए।

खुल्यो नागपोखरी

बताइए अनुसार काठमाडौं उपत्यकामा काठमाडौं र भक्तपुर दुई ठाउँमा मात्रै नागसहितका नागपोखरी छन्। काठमाडौंको नागपोखरी धेरैले सुनेको, देखेको, घुमेको भए पनि भक्तपुरवासीबाहेकलाई भक्तपुरको नागपोखरीबारे थाहा नहुन सक्छ। यही ओझेलमा रहेको नागपोखरी भक्तपुर महोत्सवका क्रममा खुलेको हो।

यो पोखरी भक्तपुर नगरपालिका वडा नं १० थालाछेंमा पर्छ। यो ठाउँ सल्लाघारी कमलविनायक सडक खण्डअन्तर्गत देकोचा (चाँगुनारायण मन्दिर जाने चोक) चोकबाट झन्डै तीन सय मिटर दक्षिणमा पर्छ। यो ठाउँ देकोचाबाट हिँडेरै पांच मिनेटमा पुग्न सकिन्छ। यहाँँ पुग्नेबित्तिकै देखिने पोखरी हो– नागपोखरी।

महोत्सवका क्रममा पोखरीको वरपर समग्र भक्तपुरलाई चिनाउने गरी फोटो प्रदर्शनी गरिएको छ। फोटोग्राफर सुरेशराज शाक्यका झन्डै एक सय फोटो प्रदर्शनीमा छन्। ‘यी फोटा हेरेपछि सिंगो भक्तपुर चिन्न सकिन्छ’, फोटोग्राफर शाक्यले भने, भक्तपुरका धेरै विषयवस्तु मेरो फोटोहरूबाट देख्न सकिन्छ।’

त्यहाँ खानादेखि नानासम्मका प्रदर्शनी पनि छन्। त्यहाँ सम्हेबजी (नेवारी खानाका विभिन्न परिकार) देखि अन्य विभिन्न नेवारी स्वाद चाख्न सकिन्छ। उहिले नागपोखरी धागो सुकाउने ठाउँ भनेर भक्तपुरभरि चिनिन्थ्यो। तर अहिले त्यहाँ त्यस्तो छैन। परम्परागत तानबाट कपडा बुन्न धागोमा रङ हाल्ने र सुकाउने ठाउँको रूपमा प्रख्याती कमाएको यही ठाउँमा अहिले त्यस्तै प्रदर्शनी राखिएको छ।

प्रकाशित: २९ मंसिर २०८१ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App