साहित्यकार कविराज न्यौपानेकाे प्रमुख आतिथ्यमा कवि हरि कट्टेलको आठौं कृति ‘बिलौनै बिलौना’ कवितासङ्ग्रहकाे लाेकार्पण भएको छ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर र छन्द वाटिका, नेपालले संयुक्त रूपमा आयाेजना गरेकाे कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राध्यापक कविराज न्यौपाने, अग्रज साहित्यकारहरू बलराम पोखरेल, प्राडा मेदिनीप्रसाद शर्मा, प्राडा हरिहर भण्डारी, सोमराज अभय, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल लगायतले संयुक्त रूपमा कृतिको लाेकार्पण गरेका हुन्।
प्रमुख अतिथि न्यौपानेले कविका कविताहरू हेर्दा उनकाे दूर्दर्शिता ३५ वर्षअघि नै अब्बल रहेकाे बताए।
समालोचक निर्मला कोइरालाले लाेकार्पित कृति ‘बिलौनै बिलौना’ कवितासङ्ग्रहकाे समीक्षात्मक टिप्पणी गरेकी थिइन्।
दोस्रो संस्करणको रूपमा प्रकाशित ‘बिलौनै बिलौना’ कृति हेर्दा कवि २०४५ सालमा किशाेर छँदा नै युगप्रति सचेत र परिपक्व भएकाे उनले टिप्पणी गरिन्। जन्मभूमि सोलुखुम्बु, त्यहाँकाे प्रकृति, आमा र देश जस्ता विविध विषयलाई कवितामा कविले सुन्दर ढंगले व्यक्त गरेकाे पनि उनले बताइन्।
साहित्यकारहरू रमेशचन्द्र अधिकारी, शारदा कार्की, कविपुत्री प्रज्ञा कट्टेल लगायतले लाेकार्पित कृतिका कविता वाचन गरेरे कार्यक्रमकाे राैनक बढाएका थिए।
प्रकाशित: १० मंसिर २०८१ ११:२७ सोमबार