कति सजिलै पस्यौ हँ? तिमीलाई कसले अनुमति दियो? धनमायाले सोधिन्।
यताउता टाउको घुमाएर ए ,अब मैले मेरै घरभित्र पस्न अनुमति लिनुपर्ने? मनकुमारले दाह्रा किटे।
-अँ, घर भए त घरको कुनै नीतिनियम पनि होला नि जुन नियम प्रत्येक सदस्यले मान्नुपर्छ। धनमायाले आवाजको गति बढाइन्।
तिमी चर्को नबोल,मेरो खुसी,इच्छा अनुसार आउँछु जान्छु। थुनछेक गर्ने तिमी को? मनकुमारको पारो पनि के कम!
हो, म पनि यै घरकी सदस्य, एकदिन बिरामी आमा भेटेर आउँदा ढिलो भो भनेर रनकने तिमी! आफूचाहिँ मनपरी डुल्ने ठाउँकुठाउँ जाने? जहाँ जाने जाऊ। यो घरमा तिमीलाई ठाउँ छैन। धनमायाको जोसिलो र निर्भीक आवाजको निर्णय सुनेर मनकुमार छटपटिए। के गरूँ कसो गरूँ भएको देखेर आमालाई पिर पर्यो।
छोरो अलमल परेर आँगनको आँगन रोकियो। आमालाई सह्य हुने कुरै भएन। बुहारी बढी नभौ, तिमी को मेरो छोरालाई भित्र पस्न नदिने?
-खुरुक्क बाटो छाड। सासूआमाको डाको गर्जियो। उता मनकुमारको साहस बढ्न भ्यायो।
तर धनमाया अरू अदव हुँदै म पनि यै घरकी सदस्य हुँ। मलाई घरमा अनुशासन लागु हुन्छ भने त्यो प्रत्येक सदस्यले मान्नुपर्छ। तपाईंले पनि मान्नुपर्छ। नाताले तपाईं सासूआमा हो। त्यतिसम्म मान गर्छु तर घरपरिवारले मान्नुपर्ने नीतिनियम र अनुशासन सबैका बराबर हुन्छ, हुनुपर्छ। तपाईंसँग जति अधिकार छ त्यति नै मसँग पनि। तपाईंका छोराले मलाई भित्र नपस भन्दा चुइँक्क नबोल्ने तपाईं अहिले ठुल्याइँ छाट्ने?
-अब तँ मेरो बराबर गर्ने भइस्? सासूआमाले आफू बराबर हुन खोजी भन्ने आरोप लगाइन्।
धनमाया किन बराबर नहुने? तपाईंलाई दिनुपर्ने मान दिएपछि अरू घरव्यवहारमा अझ बढी हो म। काम जति मैले हेर्नुपर्ने ठुल्याइँ अरूले छाट्ने? यो सब चल्दैन। तपाईं छोरालाई भानभा झुटा कुरा सुनाएर परिवारमा फाटो ल्याउने काम छाड्नुस्। परिवार बिगार्नु राम्रो होइन। धनमाया पनि के कम दहकस नमानी ठोकेर बोलिन्।
एककान दुकान कुरो बढ्ने भो भन्ठानेर- भो कुरा नबढाओ। बुहारी ठिक भन्दै छन्। पारिवारिक अनुशासन सबै सदस्यका लागि बराबर हो। मानको ठाउँमा मान दिएपछि हकअधिकार तलमाथि हुँदैन। समान हो। कसैले कसैलाई हेप्न मिल्दैन। ससुराबा बोलेपछि भने तैँचुप मैचुप भो।
केहीबेरको सन्नाटा चिर्दै-ठिकै छ धनमाया तिम्रो कुरा मान्छौं। पुराना कुरा बिर्सिदेऊ। सासूआमाले कुरा टुङ्ग्याउनुभयो।
मनकुमारले सास ताने। बाआमा,धनमाया र मनकुमार सँगै भित्र पसे।
प्रकाशित: १९ कार्तिक २०८१ १३:४३ सोमबार