७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बिर्सिएका अतीतहरू कवितासंग्रह विमोचन

जुम्लाको चन्दननाथ नगरपालिका २ का धनबहादुर शाही (डीबी) द्धारा लिखित कवितासंग्रह बिर्सिएका अतीतहरू विमोचन भएको छ।

गाउँपालिका महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले उक्त कविता संग्रहको विमोचन गरेका हुन्।

उनले कविता संग्रहले समाजका सबै विषयवस्तुको प्रतिनिधित्व गरेको बताए। उनले कला, साहित्य र नव प्रतिभाहरूको संरक्षणमा जोड दिनुपर्ने उल्लेख गरे। ५२ कविता संग्रहित सो पुस्तकमा खुसीदुःख, हाँसोरोदन, मिलनविछोड, सफलता, अठोट र संकल्प समेटिएको छ।

विमोचन कार्यक्रममा बोल्दै डा.गोविन्द नेपालीले सरल भाषा, साहित्यमय र गम्भीर विषयवस्तुको उत्खनन हुनुको साथै निकै सजगतापूर्वक कविताहरू लेखिएको बताए। उनका अनुसार कविताहरूको भाषा निकै बलियो छ। बलवान् शब्द छनौट, बहु परिभाषित शीर्षक, बहु खोजयुक्त शब्दहरूले किताब पढ्न उत्प्रेरित गर्ने बताए। उनले जुम्लामा अब्बल र सफल कविहरू छन् भन्ने सन्देश बिर्सिएका अतीतहरूले फैलाइरहेको बताए।

खस साहित्य समाजका सदस्य लक्ष्मीचन्द्र न्यौपानेले पुस्तकमा समेटिएका कविताहरूले कर्णालीको कला,संस्कृति, आचार, व्यवहारदेखि लुकेका प्रतिभाहरू जबर्जस्त बाहिर ल्याउन दबाब दिइरहेको बताए।

खडेरी परिरहेको साहित्यिक क्षेत्रलाई अघि बढाउन प्रेरणा दिइरहेकोमा जोड दिए। धनबहादुर शाहीको यो पहिलो कृति पनि हो। पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले लेखक तथा साहित्यकारको सम्मानका लागि स्थानीय सरकारले साथ दिने बताए।

प्रकाशित: १५ कार्तिक २०८१ १५:४२ बिहीबार

#Jumla #Chandannath Municipality #Dhan Bahadur Shahi (DB)