सम्बन्ध यस्तो होस् कि जहाँ अनुरागले सधैँ धोइपखाली गरिएको होस्। ममताले सधैँ स्पन्दित, हार्दिक भावले सधैँ पुजित भएको होस्। कसैले दोष देख्न नसकोस्। कसैले दाग लगाउन नसकोस्। ज्योतिर्मय सधैँ, उर्वर उल्लासले वशीभूत होस्। मुस्कानमय आभाले ओतप्रोत जीवनको स्वभाव त्यस्तो होस्। यसपछि सम्बन्ध पनि सुमधुर बन्छ। आत्मीय बोलीबचन र व्यवहारले यस्तो सम्बन्ध र स्वभाव नमूना-उदाहण नै बन्छ।
वास्तवमा आजको आवश्यकता यही हो यौटा यस्तो सुसभ्य संस्कार र संस्कृतिको प्रारम्भ। जहाँबाट प्रस्थान हुने छ पवित्र शीलस्वभाव, चालचरित्र र आस्था-अनुरागको कुरा। साँच्चैको मानवीय सद्भावको स्वभाव।
बिछोडिएर एक्लिन कसलाई मनपर्छ र? सबैको मन निष्ठुरी निर्दय त हुनै सक्दैन। मान्छेको मन कतिपयको कडा पत्थर जस्तै, जब्बर चट्टान जस्तै कठोर हुन सक्ला तर अधिकांशको मन सुकोमल भावको नै हुन्छ। त्यो मन नौनीजस्तै तुरुन्तै मायाको न्यानोपनले पग्लिन सक्छ। पग्लाइमा मान्छेको पहिचान समाप्त हुँदैन। बरु झन् नवीन अध्यायमा प्रवेश गर्छ। जहाँ जीवनका सुन्दर सिलसिलाहरूले नयाँ क्षितिजको सीमारेखा निर्धारण गर्न थाल्छ।
वास्तवमा हामी कोही पनि र कहिल्यै एक्लै रमाउन सक्दैनौ। एकलै हाँस्न र बाँच्नसमेत सक्दैनौँ। एकलकाँटे स्वभाव कमैको हुन्छ। यस्तो स्वभाव भएकासँगको सम्बन्ध दीगो र दरिलो हुँदैन। विश्वासिलो र भरपर्दो पनि हुँदैन।
कुनै क्षण पीडाले वा तनावले एकान्तमा एक्लै चुपचाप बसेर आँसु बर्बर्ती खसालेर सान्त्वना पाउने कोशिश गरौँला। मात्र यत्तिका लागि हो एकान्त चाहिने। मनको सन्तोषका लागि आफूले खसालेको आँसु अरूले नदेखुँन भनेर लुकेर रुने। यसो गर्दा अलिकति आत्मसन्तोष पनि मिल्छ । मात्र मन बुझाउने मेलो।
परन्तु आफन्त र आफ्नोपनको साथ संगत र सहयोगबिना हाम्रो जीवनको नियमित क्रमले गति लिन सक्दैन। आफन्त र आफ्नोपनको अभावमा हामीले मनमा रत्तिभर पनि शान्तिको आभास पाउन सक्दैनौँ।
हामी हरेक क्षण खुशीमा रमाउन चाहन्छौं। हामी कहिले पनि दुःखमा तड्पिन चाहँदैनौँ। आँसुमा पीडा पोख्न वा चोटमा चोइटिएर टुक्राटुक्रा भई छरपष्ट हुन चाहँदैनौ। छिन्नभिन्न भएर टुट्नु, फुट्नु हुँदैन।
त्यसैले हामी मिलनमा रमाउन चाहन्छौं। प्रत्येक भेटहरूमा खुशी साट्न चाहन्छौँ। मनभित्र गुम्सिएका दुखेसा र गुनासाहरू बाँड्न चाहन्छौँ। प्रत्येक पलको भेटहरूमा खुशी बाँड्न चाहन्छौँ। यसमै मिठो सुख र सन्तुष्टिको आभास महसुस गर्न सक्छौँ।
कोही पनि कुनै दिन पराई बनेर बस्न सक्दैन। अपरिचित भएर टाढाटाढा धेरै टाढा पुगेर एक्लै रमाउन सक्दैन। विरानो ठाउँमा पुगेर अलग्ग आनन्दको जीवन र त्यस्तै सुखमय भोगाइ बाँच्न सक्दैन। कसैले नचिने, कसैले नबुझ्ने अनकन्टारकै ठाउँमा पुगे पनि हरेकपल मिलनको प्रतीक्षाले अवश्य पनि तड्पाइरहने छ। घरपरिवार र समाजविना कोही पनि अलग्ग, नितान्त एक्लै बाँच्न र बस्न सक्दैन।
अतः हामी सबैका लागि मिलनको व्यग्र प्रतीक्षा सदैव हुने गर्छ। भेटिँदै छुट्टिनु र छुटिँदै भेटिनु त स्वाभाविकै हो। तर भेटिँदैन भेटिनु र छुट्टिएपछि सदाका लागि कहिले नभेटिनु दुर्भाग्य नै हुन्छ। हामी कसैका लागि पनि यस किसिमको परिस्थिति अप्रिय लाग्छ। अस्वाभाविक हुन्छ।
त्यसैले भेटहरू भेटहरूमा आवाद भइरहनुपर्छ। भेटहरू विवादले विभाजित हुनु हुँदैन। त्यसैले भेटहरू भेटाइहरूमा आबद्ध हुनुपर्छ। भेटहरू टाढिनु हुँदैन कदापि। भेटहरू बिछोडको पीडामा तड्पाउने नियतले अनायासै र अनावश्यक चोटको प्रहार पार्नु हुँदैन। भेटले शक्ति प्रदान गर्छ। विजयको ऊर्जा दिन्छ।
भेटहरू सधैँसधैँ नजिकै रहनुपर्छ। नजिकिनुपर्छ भेटहरू। भेटको परिचयमा चिनिएर, बुझिएर, नजिकिएर सधैँ जीवन्त जीवनको पक्षमा वकालत गरिरहनुपर्छ। यस्तो स्वभावले सम्बन्धलाई प्रगाढ पार्छ। अन्ततः यसमा नै जीवनको मिठास प्राप्त हुन्छ। अनुकरणीय सम्बन्ध र स्वभावको स्वरूप त्यहाँ देख्न सकिन्छ।
आपसमा टिमुर्किएर, ठुस्किएर वा बाँउठिएर एक अर्काबाट अलग्गिनु टाढिनु बोलचालै बन्द गरिनु र भेटघाटबाटै बिछोडको सिमारेखामा रहनुले के फाइदा कसलाई कति उपलब्धि मिल्न सक्छ र! बरु उल्टै छटपटीले हैरानहैरान पार्न सक्छ। पश्चातापले पलपल तड्पाउन सक्छ। भित्रभित्रै जलाउन सक्छ। गलाउन सक्छ।
यस्तोमा कहाँ भेट्नु र खुशीका स्पन्दनहरू, कहाँ मिल्छन् र प्रगतिका उपलब्धिहरू। हात लाग्यो शून्यको हिसाबकिताबमा केवल आँसु, केवल पीडा र केवल चोटै चोटका घाउखतहरूले कसरी बाँच्न सकिएला रसुविस्ताले! न त आरामले मीठो निद्रा सुत्न सकिन्छ। आरामदायी ओछ्यान भए पनि विरामी मानसिकता भएपछि आँखा मस्त निदाउन सक्दैन।
कहिलेकाहीँ कैयौँ खुशी यहाँ अनायसै आइदिन्छन्। तिनले दुखेको घाउमा औषधिको काम गर्छन्। तर कति दुःखहरू यहाँ बेहिसाब भित्रिदिन्छन्। र, तिनले दिनुसम्मको सास्ती दिँदै शान्तिको सास फेर्नसमेत दिँदैनन्।
प्रकाशित: २९ आश्विन २०८१ १३:११ मंगलबार