४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

दुई स्मृतिग्रन्थ सार्वजनिक

पहिलो मदन पुरस्कार विजेता इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीका नाममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ। ‘दाइबा: चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ पुस्तक काठमाडौंमा आयोजित कार्यक्रममा शुक्रबार सार्वजनिक गरिएको हो।

उक्त पुस्तकलाई प्रा.डा. त्रिरत्न मानन्धर, मल्ल के सुन्दर, डा. मदन भट्टराई लगायतले सार्वजनिक गरेका हुन्। कार्यक्रममा प्रा.डा. मानन्धरले चित्तरञ्जन नेपालीले इतिहास विधालाई नयाँ ढंगले लेख्न सुरु गरेको उल्लेख गरे। पुस्तकमा परिवार, आफन्त, लेखक, साहित्यकार, प्रशासक, समाजसेवीलगायतले आफ्नो संस्मरण लेखेर नेपालीको व्यक्तित्व उजागर गरेको उनको भनाइ थियो।

लेखक तथा भाषाविद् मल्ल के सुन्दरले आफूले चार दशकभन्दा बढी संगत गरेको स्मरण गर्दै चित्तरञ्जन नेपालीले लेखन र अनुवादका माध्यमबाट नेपाली मात्र नभई नेपालभाषा र संस्कृतमा पनि योगदान दिएको बताए।

पूर्वपरराष्ट्र सचिव डा. मदन भट्टराईले चित्तरञ्जन नेपालीका चार पुस्ताले पहिला जैसीकोठा, मुन्सीखाना हुँदै पछि परराष्ट्र मन्त्रालयमा योगदान दिएको बताए।

खम्पा निःशस्त्रीकरणदेखि नेपाल–चीन सीमा सन्धिमा पनि उनको योगदान रहेको डा. भट्टराईले जानकारी दिए। छरछिमेकी, आफन्त तथा परिवारले बोलाउने नाम ‘दाइबा’ बाट पुस्तकको नाम राखिनु उचित भएको उनको भनाइ थियो।

प्रकाशक मिनु राजभण्डारीले दाइबाका योगदानहरूलाई एकमुष्ट रूपमा प्रस्तुत गर्न पुस्तक सफल भएको बताइन्। यो पुस्तक चित्तरञ्जन नेपालीको पहिलो पुण्यतिथिमा सार्वजनिक गरिएको हो। ९३ वर्षको उमेरमा गत वर्ष असोज २९ गते उनको मृत्यु भएको थियो।

‘दाइबा: चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ मा चित्तरञ्जन नेपालीको लेखन, इतिहास, कृतिका अलावा उनले प्रशासन, कूटनीति र सामाजसेवामा दिएको योगदानको पनि चर्चा छ।

यसैगरी सल्यानका शिक्षक मोहनसिंह थापाबारे स्मृतिग्रन्थ शनिबार सल्यानमा विमोचन गरिएको छ। ‘मोहन सर: व्यक्ति र कृति’ स्मृतिग्रन्थको कर्णाली प्रदेश मन्त्री सुरेश अधिकारीलगायतले विमोचन गरेका थिए।

विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर मोहन सरको दशौं स्मृति दिवसपछि ग्रन्थ लोकार्पण गरिएको हो।

ग्रन्थमा ६१ वर्षको उमेरमै दिवंगत मोहन सरबारे ४५ जनाको स्मृति तथा मोहन सरका अप्रकाशित डायरी पनि संगृहित छन्। आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका मोहन सर घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउँथे।

२०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्नवर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न पाएनन्। आजीवन अविवाहित मोहन सरलाई सल्यानी जनता तथा हजारौं शिष्यहरूले हिरो मानेर श्रद्धाले शिर निहुराउने गर्छन्।

प्रकाशित: २१ आश्विन २०८१ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App