१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

प्रज्ञाप्रतिष्ठानमा ‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया भएको थियो।

प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर अन्तर्क्रिया कार्यक्रमको समुद्घाटन गर्दै अनुवादको प्रभाव भाषाका पाठ्यपुस्तकको अध्ययन-अध्यापनमा त्यत्तिकै रहेको छ र यो स्वयंमा ज्ञान र सञ्चारको माध्यम हो। कुनै पनि रैथाने भाषाभाषीमा अनुवादको माध्यमले प्राथमिक तहदेखि नै प्रभाव पारेको हुन्छ।यसको महत्त्वलाई सबैले स्वीकार्नुपर्ने बताएका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानमा भएकाे कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालको अनुवाद विधासम्बन्धित नीतिको अभावमा अनुवाद कार्य र पठनपाठनमा अन्योल परेको बताए। भाषा शिक्षण विधिमा प्रत्यक्ष अनुवादको प्रभाव रहेकाेबारे उनले चर्चा गरेका थिए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले उक्त अन्तर्क्रियाको सभाध्यक्षता गरेकी थिइन्। अनुवादको माध्यमले ज्ञान आदानप्रदान गर्न सहज हुने बताउँदै उनले शिक्षामा अनुवादको संस्कृतिले पठनपाठनमा दिगो असर पार्ने बताएकी थिइन्। आजको विश्वमा अनुवादको दह्रो माध्यम भाषान्तर रहेकोमा जोड दिएकी थिइन्।

उक्त अन्तर्क्रियामा अनुवादक समाज नेपालका महासचिव डा. ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली पाठ्यसामग्रीमा अनुवादको महत्त्वबारे बताएका थिए।

अन्तर्क्रियाको प्यानलिस्ट छलफलमा डा. प्रकाश तिवारी, अजम्बरजङ लिम्बू (अमर तुम्याहाङ) र करुणा नेपालले भाग लिएका थिए। प्यानलिस्ट अन्तर्क्रियाको सहजीकरण चन्द्रबहादुर लामाले गरेका थिए।

यस अन्तर्क्रियामा डा. प्रकाश तिवारीले अनुवाद ज्ञान धारणाका लागि महत्त्वपूर्ण माध्यम भएको बताएका थिए। यसैगरी अमर तुम्याहाङले अनुवादको सैद्धान्तिक पक्ष मात्र नभई व्यवहारिक पक्षमा ध्यान दिनु आवश्यक रहेको बताउँदै भाषा शिक्षणमा अनुवादको प्रभाव प्रबल रहेको चर्चा गरेका थिए। साथै उनले बहुभाषिक अनुवाद कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका थिए।

करूणा नेपालले अनुवाद दैनिक जीवनबाट सुरु हुने बताउँदै अनुवादसँग भाषान्तर मात्रै नभई प्रत्यक्ष रूपमा संस्कृति र समाज पनि जोडिन आउने उल्लेख गरेका थिए।

प्राज्ञ चेतनाथ धमलाकाे अनुसार उक्त अन्तर्क्रियाको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गरेका थिए।

प्रकाशित: १८ आश्विन २०८१ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App