कथाकार डा. चित्र माबोको ‘डोलीभर्ना’ कथासंग्रहमा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ देखि २० गतेसम्म मञ्चन हुने भएको छ।
प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रूपान्तरण गरेको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन्। यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ स्रोत व्यक्तिका रूपमा रहेका छन्।
मंगलबारबाहेक अरू सबै दिन चल्ने उक्त नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, स्मृति कुलमर, उज्ज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारको अभिनय रहने भएको छ।
यसैगरी उक्त नाटकको संजित थुलुङको म्यूजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सन्जिव योगीको लाइट डिजाइन रहेको छ।
कथाकार डा. माबो ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्ष पनि हुन्। सांग्रीला बुक्सले केही समयअघि उनकाे डोलीभर्ना कथासंग्रह बजारमा ल्याएको थियो। उक्त संग्रहमा पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यहाँ बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयका १५ कथा सङ्गृहीत छ।
मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रूपमा मान्छन्। जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ। पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ।
प्रकाशित: ३० भाद्र २०८१ ०८:२५ आइतबार