६ पुस २०८१ शनिबार
image/svg+xml
कला

हरारीको ‘नेक्सस’: अतीतदेखि एआईसम्म

पुस्तक

यतिबेला चर्चित लेखक युवल नोह हरारीको पछिल्लो कृति ‘नेक्सस’ नेपाली बजारमा आइसकेको छ। १५ सय मूल्यको यो पुस्तक बजारमा आइपुग्दा एक किसिमको चर्चा बटुलिसकेको छ। चर्चा नबटुलोस् पनि कसरी? यसअघि यी लेखकले लेखेका तीन पुस्तक हातहातै बेस्टसेलर भएका थिए। ‘सेपियन्स’बाट उनको ख्याति सुरु हुँदै ‘होमोडिअस’ र ‘ट्वेन्टी वन लेसन्स फर ट्वेन्टी फस्ट सेन्चुरी’सम्म आइपुग्दा उनका भाषण र अखबारी लेखनको प्रतीक्षा गर्नेहरू संसारभर पुगिसकेका थिए। उनको विद्वतापूर्ण लेखनीकै कारण अहिले नेपाली पाठक पनि उनको पुस्तकको प्रतीक्षा गर्ने भएका हुन्।

उनको पछिल्लो पुस्तक ‘नेक्सस’ भने मानव जातिले कसरी आफ्नो सञ्चार गर्ने क्षमताले यहाँसम्म आइपुग्यो र अब यो कहाँ जाँदैछ भन्ने इतिहासदेखि भविष्यसम्मको यात्रा गराएका छन्।

उनले एक लाख वर्षयता मानव जातिले विशाल शक्ति सञ्चयन गरेको बताउँदै सबै खोज, आविष्कार र शक्तिले आफैंलाई संकटको अवस्थामा पुर्‍याएको बताएका छन्। ती संकट सामना गर्न मानव जाति एक जुट हुनुको साटो झन् बढी अन्तर्राष्ट्रिय तनाव बढेको, विश्वव्यापी सहकार्य कठिन भएको, शक्तिशाली मुलुकहरू प्रलयकारी हतियारको होडबाजीमा लागिरहेकाले कतै अर्को विश्वयुद्ध त हुँदैन भन्नेमा लेखक शंका गर्छन्।

यति बुद्धि हुँदा हुँदै पनि आखिर मानव जाति आफ्ना पूर्वजहरूजस्तै कल्पना र भ्रममा फस्दै नाजीवाद र स्टालिनवादजस्ता आक्रान्तहरू जन्माउने गरेको उनी उदाहरण पस्कन्छन्। यी सबैका कारण केलाउँदै उनी भन्छन्, मानिस सूचना र शक्ति जानकारी गर्न मन पराउने तर बुद्धिमत्तातर्फ ध्यान केन्द्रित गर्ने गरेको टिप्पणी गर्छन्। हाम्रो स्वभावमा रहेको कुनै घातक कमजोरीले हामी आफैंले नियन्त्रण गर्न नजान्ने शक्तिको खोजी गर्न प्रेरित गर्छ।

ग्रिक पौराणिक कथा ‘फेथनको कहानी’मा एउटा बालकले आफू सूर्यदेवता हिलिओसको छोरो भएको पत्ता लगाउँछ। आफ्नो दिव्य उत्पत्तिलाई प्रमाणित गर्ने रहरले ऊ सूर्यको रथ चलाउन खोज्छ। कुनै पनि मानवले सौर्य रथलाई तान्ने स्वर्गीय घोडाहरूलाई नियन्त्रण गर्न सक्दैन भनेर हिलिओसले सचेत गराउन खोजे पनि फेथनको जिद्दीका अगाडि सूर्यदेवता लाचार हुन्छन्।

गर्वसाथ आकाशमा उड्ने क्रममा फेथनले वास्तवमै रथको नियन्त्रण गुमाउँछ। सूर्यको मार्ग बिग्रन्छ, सबै वनस्पति नाश हुन्छन्, थुप्रै प्राणीहरू मर्छन् र पृथ्वी नै ध्वस्त हुने खतरा बढ्छ। अन्ततः जियसले हस्तक्षेप गर्छन्। घमण्डी फेथन आकाशबाट खस्छ। यसपछि देवताहरूले पुनः आकाशलाई नियन्त्रणमा लिएर संसारलाई बचाउँछन्।

दुई हजार वर्षपछि जब औद्योगिक क्रान्तिले प्रारम्भिक कदम चाल्दै थियो र मेसिनहरूले थुप्रै काममा मानिसहरूलाई प्रतिस्थापन गर्न थालेका थिए, जोहान वोल्फग्याङ भोन गोएथेले ‘जादुगरको चेला’ नामक यस्तै चेतावनी दिने कथा लेखेका थिए।

गोएथेको कथामा एउटा बुढो जादुगरले चेलालाई आफ्नो कारखाना जिम्मा दिन्छन्। कामका लागि खोलाबाट पानी ल्याउनू भन्ने आदेश दिन्छन् तर काम सजिलो बनाउने नाममा एउटा चेलाले जादुगरको मन्त्र प्रयोग गरेर एउटा झाडुलाई पानी ल्याउन आदेश दिन्छ। चेलालाई झाडुलाई कसरी काम गर्नबाट रोक्ने भन्ने थाहा हुँदैन, मात्र ल्याउने आदेश मात्र थाहा हुन्छ। झाडुले यति धेरै पानी ल्याउँछ कि कार्यशाला नै डुब्ने अवस्थामा पुग्छ। पछि आतङ्कित भएर चेलाले झाडुलाई दुई टुक्रा बनाउँछ। टुक्रिएको झाडुले झन् धेरै पानी ल्याउन थाल्छन्। यत्तिकैमा बुढो जादुगर कामबाट फर्कन्छ र मन्त्रले झाडुलाई काम गर्नबाट रोक्छ।

कथाले भन्छ, मान्छेले कहिल्यै त्यस्ता शक्तिलाई कहिल्यै प्रयोग गर्नु हुँदैन, जबसम्म तपाईंले त्यसलाई नियन्त्रण गर्नसक्ने क्षमता हासिल गर्नु हुन्न।

फेथन र त्यो चेलोका कथाले हामीलाई एक्काइसौं शताब्दीमा के सन्देश दिएको छ त ? अहिलेसम्मको अवस्थामा हामी मानवले ती कथाको सन्देशलाई पूरै बेवास्ता गरेका छौं। हामीले पृथ्वीको जलवायुलाई असन्तुलित बनाएका छौं। अर्बौंको संख्यामा चमत्कारी झाडु, ड्रोन, च्याटबट र अन्य एल्गोरिदमिक आत्माहरूलाई बोलाइरहेका छौं। ती आत्मा हाम्रो नियन्त्रणबाट बाहिर निस्केर अनपेक्षित परिणामहरूको बाढी ल्याइदिन सक्छन्।

अब हामीले के गर्ने त? हामीलाई यस्ता समस्याबाट जोगाउन कुनै देउता या जादूगर आउने छैनन्। माथिका मिथकीय कथामा एउटा मानवले ठुलो शक्ति हासिल गर्छ तर त्यसपछि ऊ घमण्ड र लालचले भ्रष्ट हुन्छ। हाम्रो त्रुटिपूर्ण व्यक्तिगत मनोविज्ञानले हामीलाई शक्तिको दुरूपयोग गराउँछ। सो सतही विश्लेषणले बुझ्न नसकेको कुरा के हो भने मानव शक्ति कहिल्यै व्यक्तिगत प्रयासको नतिजा हुँदैन। शक्ति सधैं धेरै मानिसहरूको सहकार्यबाट उत्पन्न हुन्छ।

तर कहिलेकाहीं केही मानिसमा भएको लोभ र क्रूरताले मानिसमा भएको प्रेम, करुणा, विनम्रता र आनन्द त्यागेर खराब व्यक्तिलाई शक्ति दुरूपयोगका लागि जिम्मा दिन्छन्। जस्तो कि सन् १९३३ मा अधिकांश जर्मनहरू मनोरोगी थिएनन् र पनि उनीहरूले हिटलरलाई भोट दिएका थिए।

हामीले नियन्त्रण गर्न नसक्ने शक्तिहरू बोलाउने हाम्रो प्रवृत्ति व्यक्तिगत मनोविज्ञानबाट होइन, बरु हाम्रो प्रजातिले ठुलो संख्यामा सहकार्य गर्ने अनौठो तरिकाबाट उत्पन्न हुन्छ। लेखक हरारीको तर्क छ, मानवजातिले ठुला सहकार्यका सञ्जालहरू बनाएर विशाल शक्ति प्राप्त गर्छ तर ती सञ्जालहरू कसरी बनाइन्छन् भन्ने प्रक्रियाले हामीलाई त्यो शक्ति अनियन्त्रित रूपमा प्रयोग गर्न प्रेरित गर्छ। त्यसैले हाम्रो समस्या भनेको सञ्जालको समस्या हो।

अझ विशेष रूपमा यो सूचनाको समस्या हो। सूचना नै जालाहरूलाई एकसाथ जोड्ने गुदी हो। मानव जातिले ठुला सञ्जाल निर्माण र मर्मत गर्न कल्पना, भ्रम र सामूहिक भ्रमहरूको आविष्कार र प्रसार गरेको छ। यस्ता ठुला जालाहरूले आफ्ना सदस्यहरूलाई बाँधेर र क्रम सिर्जना गरेर झुट र भ्रममा पार्छन्। यसरी नै हामी नाजीवाद र स्टालिनवादसम्म आइपुग्यौं। जर्ज अर्वेलले ‘अज्ञानता नै शक्ति हो’ त्यसैले भनेका हुन्। नाजी र स्टालिनवादीले सिर्जना गरेका झुटका सञ्जालले तिनलाई शक्तिशाली बनाएका थिए।

सन् १९९० मा शीतयुद्धको अन्त्यपछि संसारभर लोकतन्त्रको उदय भएको थियो तर त्यो अस्थायी विजय देखियो। एक्काइसौं शताब्दीमा केही नयाँ अधिनायकवादी शासनले हिटलर र स्टालिन असफल भएका ठाउँमा सफल हुन सक्छन् र तिनले यस्तो शक्तिशाली जालो बनाउन सक्छन्, जसले भविष्यका पुस्ताहरूलाई आफ्नो झुट र कल्पनाहरू सार्वजनिक गर्न नसक्ने बनाउँछ। हरारी भन्छन्, ‘अबको सोच, त्यस्ता तानाशाहको विजय रोक्नतर्फ कडा मिहिनेत गर्नुपर्ने छ।’

भ्रमपूर्ण वा सहीसत्य ठुला सूचनाका जालाहरू कसरी सञ्चालन हुन्छन् भन्ने व्यापक गलत बुझाइले भ्रमपूर्ण जालाहरूको शक्ति कति र कस्तोसम्म हुन्छ भन्ने हामी बुझ्न सक्दैनौं। गलत बुझाइलाई हरारीले ‘सूचनाको सरल दृष्टिकोण’ भन्ने गरेका छन्। यस्ता सरल दृष्टिकोणले ठुला मानवीय जालाहरूबारे ज्यादा आशावादी दृष्टिकोण फैलाउने हरारीको धारणा छ।

सरल दृष्टिकोणले व्यक्तिहरूले भन्दा धेरै धेरै जानकारी संकलन र प्रक्रिया गरेर ठुला जालाहरूले औषधि, भौतिकी, अर्थशास्त्र र अन्य धेरै क्षेत्रहरूमा गहिरो बुझाइ निर्माण हुन्छ र त्यसले जालोलाई शक्तिशाली बनाउँछ तर सँगैमा यसले ‘अनुभवहीन’ वा ‘भोला’ पनि बनाउँछ।

यस्तो ‘अनुभवहीनता’ वा ‘भोलापन’ खराब प्रवृत्तिबाट हार्न पनि सक्छ। ठुलो सञ्जालले सधैं राम्रा कुरा र बुद्धिमानीपूर्वक प्रयोग हुन्छ नै भन्ने पनि छैन। हामीले जानकारी हासिल गर्ने क्रममा इमानदार गल्ती पनि हुनसक्छ। कहिलेकाहीं लोभ वा घृणाबाट प्रेरित खराब व्यक्तिहरूले महत्त्वपूर्ण तथ्यहरू लुकाउन वा हामीलाई झुक्याउन प्रयास गर्न सक्छन्। फलस्वरूप कहिलेकाहीं सही जानकारीको साटो त्रुटिपूर्ण सूचनातिर पुग्छौं।

यस्तोमा अधिकांश समस्याहरूको उपाय भनेको अझ बढी जानकारी संकलन र विश्लेषण गर्नु हो। हामी कहिल्यै पूर्ण रूपमा त्रुटिबाट सुरक्षित छैनौं र अधिकांश अवस्थामा थप जानकारीले बढी शुद्धता ल्याउँछ। सही निर्णय गर्नु बुद्धिमता हो तर ‘सही’ के हो भन्नेबारे विभिन्न व्यक्ति, संस्कृति र विचारधाराहरूले बेग्लै मानक निर्धारण गरेका हुनसक्छन्।

१९८९ मा बर्लिन पर्खाल ढल्नुलाई अधिनायकवादको अन्त्यको रूपमा लिइएको थियो। सूचना प्रविधिको विकासलाई पनि यस्तै मानिएको थियो। कतिसम्म भने सन् १८५८ मा द न्यु इंग्ल्यान्डर पत्रिकाले टेलिग्राफको आविष्कारबारे सम्पादकीयमा भनेको थियो, ‘सबै राष्ट्रहरूका बीच विचारको आदानप्रदानका लागि यस्तो यन्त्र निर्माण भएपछि पुराना पूर्वाग्रहहरू र शत्रुताहरू अब कहिल्यै रहन असम्भव हुन्छ।’

दुई शताब्दी र दुई विश्वयुद्धपछि मार्क जुकरबर्गले भने, ‘फेसबुकको उद्देश्य भनेको मानिसहरूबीच सञ्चारमार्फत नजिक ल्याउनु र संसारलाई अझ खुला बनाउनु हो ताकि उनीहरूबीचको समझदारीलाई बढावा दिन सकियोस्।’ तर के साँच्चै संसारमा समझदारी बढेको छ त?

जोहान वोल्फगाङ भोन गोएथे सात भाइबहिनीहरूमध्ये जेठा थिए तर उनले र उनकी बहिनी कोर्नेलियाले मात्रै आफ्नो सातौं जन्मदिन मनाउन पाए। उनका अन्य भाइबहिनीहरू कलिलै उमेरमा परमधाम भए। स्वयं कोर्नेलियाको पनि छब्बीस वर्षको उमेरमा रोगकै कारण मृत्यु भयो, जसले गर्दा गोएथे आफ्नो परिवारमा बाँच्ने एक्लो व्यक्ति रहे।

गोएथेले आफ्नै पाँच सन्तान जन्माए, जसमा जेठो छोरा अगस्टबाहेक सबैको दुई हप्ताभित्र मृत्यु भयो। रगतमा एन्टीबडीका कारण त्यो बेला उनीहरूको मृत्यु भएको थियो। अहिले यसको प्रभावकारी उपचार हुन्छ र मृत्युदर दुई प्रतिशतभन्दा कम छ। त्यो बेला औसत मृत्युदर ५० प्रतिशत थियो।

धनी जर्मन परिवारमा बालबालिकाको जीवित रहने दर २५ प्रतिशत मात्र थियो। यो भयावह तथ्यांक असाधारण थिएन। गोएथे प्रख्यात लेखक हुन्जेल सन् १७९७ सम्म आइपुग्दा जर्मनीमा मात्र ५० प्रतिशत बालबालिकाहरूले पन्ध्र वर्षको उमेर पूरा गर्थे।

 सम्भवतः संसारका अन्य भागमा पनि अवस्था त्यही थियो। अहिले २०२० सम्मको तथ्यांक हेर्दा विश्वभर ९५.६ प्रतिशत बालबालिकाहरूले पन्ध्र वर्षको उमेरभन्दा बढी बाँच्ने गर्छन्। जर्मनीमा यो दर ९९.५ प्रतिशत छ। यो महत्त्वपूर्ण उपलब्धि रक्त समूहहरूको जस्ता कुराबारे ठुलो मात्रामा चिकित्सा डेटा संकलन, विश्लेषण र साझेदारी नभई सम्भव थिएन।

यस्ता डेटा संकलन, विश्लेषण र साझेदारीले विश्वभरका अरू अरबौं मानिसहरूसँग जोड्न सक्षम बनाउँछ। तर, यति धेरै जानकारी चकित पार्ने गतिमा सर्कुलेट गर्दा पनि मानवजाति आफैंलाई नष्ट गर्न रत्तिभर टाढा छैन।

विशाल डेटा–सम्पत्तिका बाबजुद पनि र हामीलाई थाहा हुँदाहुँदै पनि हामी अझै पनि वायुमण्डलमा ग्रिनहाउस ग्यासहरू फाल्दैछौं, नदीहरू र महासागरहरू प्रदूषित गर्दैछौं, जंगलहरू कट्दैछौं, सम्पूर्ण प्राकृतिक आवासहरू नष्ट गर्दै छौं। अनगिन्ती प्रजातिहरूलाई विलुप्तिको सँघारमा पुर्‍याउँदै छौं र आफ्नै प्रजातिको पारिस्थितिक आधारलाई खतरामा पार्दैछौं।

हामी अझै शक्तिशाली सामूहिक विनाशका हतियारहरू उत्पादन गर्दैछौं, थर्मोन्युक्लियर बमदेखि प्रलयकारी भाइरससम्म निर्माण गर्दैछौं। हाम्रा नेताहरूलाई यी खतराहरूबारे पर्याप्त थाहा छ तर समाधान खोज्न मिलेर काम गर्नुको सट्टा तिनीहरू वैश्विक युद्धको नजिक पुग्दैछन् भन्ने हरारीको टिप्पणी छ।

उसो भए धेरै जानकारीले सबै कुरा राम्रो बनाउँदो रहेछ त? अथवा अझ बढी खराब बनाउने रहेछ त ? अहिले धेरै कम्पनी र सरकारहरू इतिहासकै सबैभन्दा शक्तिशाली सूचना प्रविधि– एआई (कृत्रिम बुद्धिमत्ता) विकास गर्न होडमा छन्। मार्क एन्डरसेनजस्ता लगानीकर्ताहरू एआईले अन्ततः मानवताका सबै समस्या समाधान गर्नेछ भन्ने विश्वास गर्छन्। उनी एआईले संसारलाई बचाउने सपना पालिरहेका छन्। एआईको विकास र यसको विस्तारमा डराउनुपर्ने अवस्था छैन।

यसमा सहमत हुनेहरू थुप्रै छन् तर धेरै अग्रणी एआई विज्ञहरू र उद्यमीहरू योसुआ बेन्जिओ, जेफ्री हिन्टन, सैम अल्टम्यान, एलोन मस्क र मुस्तफा सुलेमान एआईले हाम्रो सभ्यतालाई नष्ट गर्ने चेतावनी दिएका छन्। २०२३ को एक सर्वेक्षणमा दुई हजार सात सय ७८ एआई अनुसन्धानकर्तामध्ये एक तिहाइभन्दा धेरैले उन्नत एआईले मानव विलुप्तीकरण १० प्रतिशत सम्भावना रहेको बताएका छन्।

हलिउडले देखाउनेजस्तो एआईको खतरा हुने होइन। बरु दुई तरिकाको खतरा बढ्ने देखिएको छ। पहिलो, एआईको शक्ति मानवबीच पहिलेदेखि विद्यमान द्वन्द्वलाई झन् चर्काउने छ। जसले मानवतालाई आफैंविरुद्ध विभाजित गर्नेछ। बीसौं शताब्दीमा शीतयुद्धले प्रतिस्पर्धी शक्तिहरूलाई विभाजित गरेजस्तै एक्काइसौं शताब्दीमा सिलिकन चिप्स र कम्प्युटर कोडले नयाँ पर्खाल निर्माण हुनेछ।

एआई हतियारहरूको दौड बढ्छ र विनाशकारी हतियारको सानो झिल्कोले विनाशकारी आगो सल्काउन सक्छ। दोस्रो, सिलिकन पर्खालले एउटा समूह र अर्को समूहबीच एआई प्रभुहरूले विभाजित गर्न सक्छ। हामी जहाँ बसे पनि, हामी आफैंलाई बुझ्नै नसक्ने एल्गोरिदमहरूको जालोले घेरिनेछ। जसले हाम्रो जीवनलाई व्यवस्थापन गर्छ, हाम्रो राजनीति र संस्कृतिलाई पुनःआकार दिन्छ र हाम्रो शरीर तथा मस्तिष्कलाई नियन्त्रित गरिन्छ। तिनलाई रोक्न वा बुझ्न सक्ने हैसियतमा हामी हुने छैनौं। एक्काइसौं शताब्दीको कुनै अधिनायकवादी सञ्जालले संसारलाई जित्न सफल भयो भने त्यो मानव तानाशाहद्वारा होइन, बरु गैरमानव बुद्धिमत्ताद्वारा चलाइनेछ।

यो खतराको परिमाणलाई विचार गर्दा एआईले सबै मानव जातिको चासो हुनुपर्छ। सबैजना एआई विशेषज्ञ बन्न सक्दैनन् तर हामी सबैले यो बुझ्नुपर्छ कि एआई मानव इतिहासमा पहिलो प्रविधि हो, जसले आफैं निर्णय गर्न र नयाँ विचारहरू सिर्जना गर्न सक्छ। अघिल्ला सबै मानव आविष्कारहरूले मानिसलाई शक्ति दिएका थिए किनकि कुनै पनि शक्तिशाली उपकरण भए तापनि यसको प्रयोगको निर्णय मानवकै हातमा रहन्थ्यो तर एआई आफैं जानकारी प्रशोधन गर्न सक्छ र निर्णय लिने प्रक्रियामा मानिसलाई प्रतिस्थापन गर्न सक्छ। एआई कुनै उपकरण होइन, यो एक एजेन्ट हो।

अबका एक दशकभित्रै एआईले आफैं सूचना प्रशोधन गरेर आफैं कला उत्पादन गर्नेछ, वैज्ञानिक आविष्कारहरू गर्नेछ। सम्भवतः नयाँ जीवन रूपहरू सिर्जना गर्ला। यसले आफैं आनुवंशिक कोड लेख्ला वा अकार्बनिक कोडहरू आविष्कार गर्ला।

अहिले नै हामीलाई कर्जा दिने कि नदिने, कुनै जागिरमा नियुक्त गर्ने, जेल पठाउने कि नपठाउने जस्ता निर्णय गर्न थालिसक्यो। अबका केही वर्षमा यो प्रवृत्ति तीव्र हुँदै जानेछ। जसले हाम्रो आफ्नै जीवनलाई बुझ्न झन् कठिन बनाउनेछ।

अल्गोरिदमले विवेकपूर्ण निर्णय लिन्छ र संसारलाई राम्रो बनाउँछ भन्नेमा के हामी विश्वस्त हुन सकौंला ? यो त त्यो चमत्कारी झाडुलाई पानी ल्याउन पठाइएको आदेशभन्दा ठुलो जोखिम हो। यो केवल मानव जीवनमा मात्र खेलिने खेल होइन। एआईले त हाम्रो प्रजातिको इतिहास मात्र होइन, सबै जीवको विकासको बाटोलाई नै परिवर्तन गर्न सक्छ भन्ने तर्क पुस्तकमा हरारीले गरेका छन्।

‘होमोडिअस’ किताबमा हरारीले सूचना प्रविधिहरूले मानवतामा ल्याउने केही खतराहरूलाई उजागर गरेका थिए। सो पुस्तकले इतिहासको वास्तविक नायक सधैं सूचना हो, मानिस होइन। वैज्ञानिकहरूले अब इतिहास मात्र होइन, जीवविज्ञान, राजनीति र अर्थशास्त्रलाई पनि सूचना प्रवाहको रूपमा बुझ्न थालिएको छन्।

 जनावरहरू, राज्यहरू र बजारहरू सबै सूचना नेटवर्कहरू हुन्, जसले वातावरणबाट डेटा लिन्छन्, निर्णय गर्छन् र पुनः डेटा जारी गर्छन्। हामीले आशा गरेजस्तै राम्रो सूचना प्रविधिले स्वास्थ्य, खुसी र शक्ति दिने होइन, यसले त उल्टो हामीबाट शक्ति खोस्न सक्छ र हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यलाई नष्ट गर्न सक्छ भन्नेमा सो पुस्तकमा जोड दिइएको थियो।

मानिसहरूले सावधानी अपनाएनन् भने हामी सूचना प्रवाहको बाढीमा पहिरोमा पर्नेछौं र अन्ततः मानवता केवल ब्रह्माण्डीय डाटाफ्लोमा एउटा सानो तरङ्ग मात्र साबित हुनेछ। होमोडिअस किताबमा कल्पना गरिएका कुराहरू अहिले सत्यसाबित भएका छन्।

संसारभर अन्तर्राष्ट्रिय तनाव बढेका छन्। लोकरञ्जनको लहर सुदृढ हुँदै जाँदा लोकतन्त्र कमजोर हुन थालेको छ। लोकरञ्जनले सूचनाको सरल दृष्टिकोणलाई कडा चुनौती दिएको छ। कतिसम्म भने कोभिडको खोपविरोधीहरू लोकप्रिय हुन थालेका छन्।

 डोनाल्ड ट्रम्प र जायर बोल्सोनारोजस्ता लोकरञ्जकको प्रियता बढ्दो छ। केहीले आफ्ना विशेषाधिकारहरू सुरक्षित गर्न जानाजान गलत सूचना फैलाइरहेका छन्। लोकरञ्जनको अस्तित्व त ट्रम्पभन्दा पहिलेदेखि नै थियो। उनले सूचनालाई आफू स्थापित हुन कति मजाले उपयोग गरे भन्ने राम्रो उदाहरण हुन्।

‘नेक्सस’ पुस्तकको पहिलो भागले मान्छेले कसरी सूचनाको जालो बनायो र त्यसका लागि कसरी उसले लिपि, मुद्रण र रेडियोजस्ता जानकारी प्रविधिहरूको खोज गर्‍यो भन्ने बताउँदै मानिसहरूले सबै युगमा जानकारी नेटवर्कहरू निर्माण गर्दा सामना गरेका मुख्य दुविधाहरूका बारेमा बताएको छ। साथै, ती दुविधाहरूलाई विभिन्न तरिकाले समाधान गर्दा कसरी फरक फरक मानव समाजहरू निर्माण भए भन्ने हरारीले लेखेका छन्।

यस्तै पुस्तकको पहिलो भागमा दुई मुख्य सिद्धान्तहरूको विश्लेषण छ, जसले ठुलो मात्रामा मानव जानकारी नेटवर्कहरूमा महत्त्वपूर्ण भूमिका खेलेका छन्ः मिथक र कर्मचारीतन्त्र। प्राचीन राज्यदेखि आजको अवस्थामा रहेका नेटवर्कहरूले कसरी मिथक निर्माता र कर्मचारीहरूमा निर्भर थिए भन्ने वर्णन छ। उदाहरणका लागि बाइबलका कथाहरू ख्रिष्टियन चर्चका लागि महत्त्वपूर्ण थिए तर ती कथाहरू चर्चका कर्मचारीहरूले निर्माण, छपाइ, सम्पादन र वितरण नगरेको भए बाइबल नै तयार हुँदैनथ्यो। बाइबलमार्फत ठुलो नेटवर्क बन्यो र त्यसमार्फत मानिसमाथि शासन गरियो।

चौथो अध्यायमा गलत जानकारीका फाइदा र घाटामाथि चर्चा गरिएको छ। यसमा मानव इतिहासमा सबैभन्दा सफल संस्था यदि कुनै हो भने त्यो क्याथोलिक चर्च किन हो भन्नेबारे विस्तारपूर्वक चर्चा गरिएको छ। सञ्जाल निर्माणका भिन्न अनुभवबारे पनि पुस्तकमा चर्चा गरिएको छ।

एआईको उदय सम्भवतः इतिहासकै सबैभन्दा ठुलो सूचना क्रान्ति हो भन्दै हरारीले यसअघिका सूचना क्रान्तिहरूले कस्ता विपत्ति निम्त्यायो, तीसँग तुलना गर्नुपर्ने धारणा राख्छन्।

उनी भन्छन्, ‘इतिहासको अध्ययन भनेको विगतको अध्ययन होइन, यो परिवर्तनको अध्ययन हो। इतिहासले हामीलाई के स्थिर रहन्छ, के परिवर्तन हुन्छ र कसरी परिवर्तन हुन्छ भन्ने सिकाउँछ। यो जानकारी क्रान्तिहरूको सन्दर्भमा पनि अन्य कुनै ऐतिहासिक रूपान्तरण जत्तिकै सान्दर्भिक छ। यसैले कथित रूपमा अचुक बाइबललाई कसरी क्यानोनाइज गरियो भन्ने प्रक्रिया बुझ्दा आजको एआईको अचुकताको दाबीहरूबारे महत्त्वपूर्ण जानकारी पाइन्छ।’

पहिलो भागको ऐतिहासिक सर्वेक्षणलाई आधार बनाएर पुस्तकको दोस्रो भाग ‘अनअर्गानिक नेटवर्क’ आज हामीले निर्माण गर्दै गरेको नयाँ जानकारी नेटवर्कबारे हरारीले एआईको उदयका राजनीतिक प्रभावबारे बताएका छन्।

म्यानमारमा २०१६–१७ ताका भएका जातीय हिंसा उक्साउन सामाजिक मिडियाका एल्गोरिदमको भूमिकाजस्ता हालैका उदाहरणहरूको विश्लेषण गरेर एआई अरू सबै जानकारी प्रविधिहरूभन्दा कसरी फरक छ भनेर व्याख्या गरेका छन्। उदाहरणहरू मुख्यतः २०१० दशकका छन्, किनकि २०१० को दशकका घटनाहरूको सन्दर्भमा केही हदसम्म ऐतिहासिक दृष्टिकोण प्राप्त भएको हरारी बताउँछन्।

किताबको दोस्रो भागले नयाँ प्रकारको जानकारी नेटवर्क निर्माण गरिरहेकाले यसको नतिजाहरूबारे सोचिएको छैन भन्दै हरारीले रोमन साम्राज्य, क्याथोलिक चर्च र सोभियत संघ सबैले जानकारी प्रशोधन गर्न र निर्णय गर्न मस्तिष्कलाई प्रयोग गरेका र अचेलका नयाँ जानकारी नेटवर्कलाई प्रभुत्व गर्ने सिलिकन–आधारित कम्प्युटरहरूले मानव मस्तिष्कभन्दा बिल्कुल फरक ढंगले काम गरिरहेको बताउँछन्।

सिलिकन चिप्सहरू जैविक न्युरोनमा जैविक–रसायनले लगाएको धेरै सीमाबाट मुक्त छन्। सिलिकन चिप्सले कहिल्यै नसुत्ने जासुसहरू, कहिल्यै नबिर्सने वित्तीय विश्लेषकहरू र कहिल्यै नमर्ने तानाशाहहरू बनाउन सक्छन्। यसले समाज, अर्थतन्त्र र राजनीतिमा कस्तो परिवर्तन ल्याउँछ त भन्ने उनको प्रश्न छ।

पुस्तकको तेस्रो र अन्तिम भागमा कम्प्युटर राजनीतिका कुरा आउँछन्। अबको इतिहास निर्धारणवादी हुने छैन तर कम्तीमा केही वर्षका लागि हामी मानव जातिका सदस्यहरूले अझै पनि हाम्रो भविष्यलाई आकार दिन सक्ने शक्ति राख्छौं। कसरी लोकतान्त्रिक प्रणालीहरूले अकार्बनिक नेटवर्कसँग व्यवहार गर्न सक्छन् भन्नेबारे हरारीले टिप्पणी गर्दै च्याटबटलाई सोधेर निर्णय गर्दा राजनीति, अर्थतन्त्र र मानव स्वास्थ्यमा अबका दिनमा कस्तो अवस्था सिर्जना होला भन्ने कल्पना गरेका छन्।

प्रकाशित: २९ भाद्र २०८१ ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App