१) मुक्तक
उता हैम पग्ली बगेका कथा छन्
यता गाउँबस्ती लगेका कथा छन्।
कथा नै कथाले व्यथा बल्झिंदै छ
कतै जिन्दगीले ठगेका कथा छन्।
२) मुक्तक
उता टन्न खाई चलेको छ हाँसो
यता भोकतिर्खा सधैंको गुनासो।
नदेख्ने नसुन्ने भएको छ राज्य
कसैले दिएनन् यतातर्फ चासो।
३) मुक्तक
युवा देश छोडी गए दूर आज
भए खेत बाँझा फलेनन् अनाज।
छ यो राज्य नाङ्गो उदाङ्गो भएको
विनावस्त्र नाच्ने नमानेर लाज।
४) मुक्तक
कतै न्याय खोज्दै बसे बारबार
कतै हुन्छ मुद्धा नचल्दै किनार।
यहाँ चाकरीचाप्लुसी छ उस्तै
भए जिन्दगानी यसैको सिकार।
५) मुक्तक
कतै युद्ध रच्ने भएको छ खेल
त्यसैले भयो विश्व लाग्दै छ जेल।
जलून् शान्तिका दीप आस्था जगाई
बढोस् भाइचारा सबैमाझ मेल।
६) मुक्तक
भए नाक काट्ने नजाती सडेका
तिनै मूर्ख विद्वान् गनिन्छन् पढेका।
हुँदा जन्म छोरा मुमा मक्ख पर्छिन्
बलात्कार गर्नेहरू छन् बढेका।
७) मुक्तक
यता कल्पनामा बिते रात सारा
फुटे ताल जस्तै बगे अश्रुधारा।
न देख्ने छ कोही न सुन्ने दुखेसो
भिजेको सिरानी छ एक्लो सहारा।
८) मुक्तक
कतै राजधानी कतै कन्दरा छन्
कतै अन्न फल्ने मिलेका गरा छन्।
छ यो देश प्यारो नेपाल मेरो
यहीं इन्द्र डुल्छन् जहाँ अप्सरा छन्।
९) मुक्तक
कतै मोजमस्ती कतै हुन्छ दर्द
बगाएर धारा रुँदै देख्छु मर्द।
भनी फूल ठान्यौं र काट्यो उसैले
भयो जिन्दगानी स्वयम् तीक्ष्ण कर्द।
१०) मुक्तक
समाचार उस्तै छ गाडी झरेका
यता घाइते छन् उता छन् मरेका।
दुखीको दुखेसो दिई दर्द डस्छ
सयौं झुन्डिएरै नदी छन् तरेका।
प्रकाशित: १३ भाद्र २०८१ ०९:४७ बिहीबार