१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

डोटेली चलचित्र ‘परू’ को शुभमुहूर्त

सुदूरपश्चिमको कला, साहित्य, संस्कृति र भाषिका संरक्षण तथा संवर्धन गर्न तथा यहाँको मौलिकता बचाउन डोटेली भाषिकामा निर्माण भइरहेको चलचित्र ‘परू’ को छायाङ्कन सुरु भएको छ। शुक्रबार एक भव्य कार्यक्रमबीच ‘परू’ को शुभमुहूर्त गरेर छायाङ्कन सुरु गरिएको हो।

शुभ मुहूर्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. टिएन जोशीले आफ्नो भाषा, कला, साहित्यलार्ई जगेर्ना गर्न यहाँका कलाकार तथा कलाप्रेमीहरू जुर्मुराएको बताए।

उनले भने, ‘पछिल्लो समयमा सुदूरपश्चिममा डोटेली चलचित्रहरू निर्माण भइरहेका छन्, जुन खुसीको कुरा हो।’

सुदूरपश्चिममा चलचित्र छायांकनका लागि राम्रा तथा मनमोहक ठाउँ रहे पनि छायाङ्कनका लागि कमै मात्र निर्माताको ध्यान जाने गरेकोमा यहींका लगानीकर्ताले सुदूरको भूगोल सुहाउँदो चलचित्र यहींका पर्यटकीय क्षेत्र छनोट गरेर छायाङ्कन गर्दा भाषा, कला, साहित्यसँगै यहाँको पर्यटकीय क्षेत्रको विकास हुनेमा जोशीले खुसी व्यक्त गरे।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि चलचित्र पत्रकार संघ नेपाल धनगढीका उपाध्यक्ष विवेक नागरीले सुदूरपश्चिममा चलचित्र निर्माण गर्ने कलाकारलाई प्रदेश सरकार तथा स्थानीय तहले पनि सहुलियत दिनुपर्ने बताए। ‘पछिल्लो समयमा धनगढीलगायत सुदूरपश्चिममा चलचित्र क्षेत्रमा लहर छाएको छ,’ उनले भने, ‘यो यहाँका कलाकार तथा चलचित्रकर्र्मीका लागि खुसीको कुरा हो।’

चलचित्रका माध्यमबाट डोटेली भाषा, कला र संस्कृतिको जगेर्ना हुनुका साथै लोप हुँदै गएका भेषभूषा र सुन्दर पर्यटकीय क्षेत्रको प्रचारप्रसार पनि हुने उनले बताए।

चलचित्रमा डोटेली भाषा संस्कृति झल्कने र त्यसले यहाँको भाषिका बिर्सदै गएको युवा पुस्तालाई आकर्षित गर्ने विश्वासका साथ ‘परु’ चलचित्र जन्मिएको निर्माता सौगात सुनारले बताए। उनले भने, ‘हामीले चलचित्रमा सुदूरपश्चिममा बोलिने डोटेली भाषिकालाई प्रोत्साहन गर्न तथा यहाँको संस्कृतिलाई उजागर गर्न यो चलचित्रमा लगानी गरेका हौं।’

‘परु’ सुदूरपश्चिमका नौवटै जिल्लामा छायाङ्कन हुने निर्माता सुनारले बताए। उदयसिंह बोहराको निर्देशनमा छायाङ्कन हुन थालेको ‘परु’ फिल्म शिखर आर्टस् प्रालिको ब्यानरमा निर्माण हुने बताइएको छ। फिल्ममा राजकुमार जोशी, गुणाकर पनेरु, गुड्डु ओली, कोपिला सिंह ठकुरी, पुष्पा बडैला, दीर्घ शाहीलगायतका कलाकारले अभियन गर्ने छन्।

प्रकाशित: २६ श्रावण २०८१ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App