४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

आमाको मन

लघुकथा

सुधाकी आमा क्यान्सरले थलिएकी महिनौं भएको थियो। उनको रोगको उपचार हुँदै थियो।  

एकदिन सुधा कौसीमा बसेर चिया पिउँदै थिइन्। 'किरिरिङ' उनको मोबाइल बज्यो।

'अहो, आमालाई गाह्राे पारे जस्तो छ' भन्दै उनले फोन उठाइन्, 'नानी एकदुई दिन आमासँग बस्न आइजो न। तेरी आमालाई बिरामीले चेप्न थालेको छ।'

'हुन्छ, बुबा!' भनेर फोन राखिन् उनले।

घरमा बिदा मागेर उनी माइती पुगिन्।

इन्तुनचिन्तु अवस्थाकी आमालाई छोरीले आमा भनेर बोलाएपछि पिर्लिक्क आँखा खोलिन्। एकछिनपछि बोल्न पनि थालिन्।

आमालाई ओखतीमुलो खुवाइन्। सकेको सेवा टहल गरिन्।

'आज आमा म रुँग्छु। तपाईं सुत्न जानुस्।'

यति भनेर सुधाले बुबालाई सुत्न पठाइन्। धेरै दिनदेखि निदाउन नपाएका उनी भुसुक्क निदाए। आमाछोरी धेरैबेरसम्म निकै कुरा गरे।

सुधा आमाको न्यानाे स्पर्श पाएर भुसुक्क निदाइन्। आमालाई धेरै गर्मी भएकाले दुई पङ्खा चलाइकाे थियाे। सुधालाई पङ्खाको हावाले शरीर बेसरी दुख्ने र कटकटी खाने हुन्थ्यो। निन्द्रामा उनी अइयाअइया भनेर बर्बराएकी सुनेर आमाको मन पग्लेर आयो। सकीनसकी आमाले ओढ्ने ओढाइन्। न्यानाे भएपछि उनी गहिरो निन्द्रामा परिन्।

बिहानीपख बिउँझिंदा उनको शरीर थिचिने गरी ओढ्ना ओढेकी पाइन्। आफूलाई खासै दुखाइको महसुस नभएकाले आश्चर्य मान्दै उठेर उनले सोधिन्, 'आमा, आमा! मलाई कस्ले ओढ्ना ओढाइदिनुभो?'

उनले आमालाई घचघच्याइन्। आमा उठिनन्।

प्रकाशित: १७ श्रावण २०८१ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App