छायांकन अगावैबाट चर्चामा रहेको फिल्म 'एक्टर'को छायांकन सकिएको छ। गत वैशाखको अन्तिम साता पोखराबाट छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पूरा भएको हो।
पोखरामा १० र काठमाडौंमा ३५ दिन छायांकन गरिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । एउटा गीतको भने छायांकन बाँकी छ। 'समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ,' निर्माता भण्डारीले भने ।
राजन भुसालको डेब्यू निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी 'पिके', बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।
दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।
अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मसको निर्माण रहेको यो फिल्ममा थमनकुमार भण्डारी निर्माता हुन्। एनिस भुसाल सहनिर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् ।
यो फिल्म कात्तिक १५ गते लक्ष्मीपूजाको दिन पारेर रिलिजको तयारी छ। फिल्मको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। 'एक्टर'को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।
प्रकाशित: २ श्रावण २०८१ १६:३९ बुधबार