३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

जंगलमा आस्था रोपेका ‘विक्रम बाबा’

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित राप्ती नदी छेउमा अहिले धार्मिक मेला लागिरहेको छ। यो मेला हरेक वर्ष चैत महिनाको औंसीदेखि पूर्णिमासम्म १५ दिन लाग्ने गर्छ र लाखौंको सङ्ख्यामा मेलामा दर्शनाभिलाषी उपस्थित हुने गर्छन्। यस वर्ष विक्रम बाबा मेला चैत २६ गतेको औंसीदेखि सुरु भएको हो र २०८१ वैशाख ११ गते पूर्णिमाका दिन समापन हुनेछ।

समय वसन्त ऋतुको छ। तराईमा हल्का गर्मी चढिसकेको छ। घरकरेसा, पाखापखेरा, जंगलझाडी जताततै फूल फुलेको देख्न पाइन्छ। चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीनजिकैको जंगलपरिसर पनि वसन्तमय छ। सालको रुखमुनि माटाको थुम्को छ। त्यहाँ न कुनै मन्दिर छ, न त कुनै देवताका मूर्ति नै। वरिपरि काठका खम्बाले घेरिएको थान छ। ती खम्बामा घण्टी र ध्वजाहरू झुन्ड्याइएका छन्।

यत्रतत्र ध्वजा बाँधिएका त्रिशूलहरू गाडिएका छन्। वरपर ठुला ठुला सालका रुख छन्। पूजास्थल जाने बाटोभरि सालका सुकेका पात झरेका छन्। नजिकै बोकाको बलि दिने स्थान छ। यही माटोमा मानिसहरूको धार्मिक आस्था छ। सबैको विश्वास छ–यहाँ विक्रम बाबाको बास छ, विक्रम बाबाको पूजा गरे मनोकाङ्क्षा पूरा हुन्छ।

विक्रम बाबा मेला किन निकुञ्जभित्र लाग्छ, निकुञ्जबाहिर मेला लगाउँदा राम्रो हुने होइन र? भन्ने प्रश्नमा विक्रम बाबा पूजा व्यवस्थापन समितिका सदस्य तथा सर्वेश्वर टोल विकास संस्थाका अध्यक्ष देवीलाल पौडेल भन्छन्, ‘पहिला यो ठाउँमा राष्ट्रिय निकुञ्ज थिएन।

पहिल्यैदेखि विक्रम बाबाको समाधिस्थलमा थारु समुदायले पूजाआजा गर्ने गर्थे। पछाडि राष्ट्रिय निकुञ्ज बनेपछि पनि निकुञ्जभित्र पर्ने थान, देवदेवीका मूर्ति, मन्दिरलाई स्थानान्तरण गरिएको छैन। फेरि यस्ता आस्थाका केन्द्र सारेर सारिने कुरा पनि होइनन्। विक्रम बाबाको समाधिस्थल यही हो। समाधिस्थल सार्न सम्भव छैन।’

किंवदन्तीअनुसार ‘विक्रम बाबा’ आदिवासी थारुका गुरु हुन्। विक्रम बाबा अद्भुत क्षमता भएका व्यक्ति थिए। जसले जल, जमिन र जंगललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारु समुदायको कल्याण गर्दै आएका थिए। उनी ख्यातिप्राप्त धामी थिए। बिरामी परेकालाई घरेलु औषधोपचार गरिदिने साथै घना जंगलमा एक्लै डुलेर जडीबुटी ल्याई बिरामीको सेवा गर्ने गर्थे।

सन्तान नभएका अर्थात् बाँझोपन भएका महिला, दीर्घ शारीरिक समस्या व्यक्तिलाई आफ्नो अद्भुत तान्त्रिक तथा परम्परागत औषधीय क्षमता प्रयोग गरी निको पारिदिन्थे भन्ने किंवदन्ती छ। आफ्नो निधन भइसकेपछि स्थानीय केही गुरुहरूलाई सपनामा विक्रमबाबाले आफू डुल्नेघुम्ने जंगलको त्यो ठाउँमा आएर मलाई सम्झ भनेछन्।

त्यसपछि त्यो ठाउँमा स्थानीय थारु समुदायका मान्छेले पूजा गर्न थाले। त्यहाँ पूजा गरेपछि आफ्नो मनोकाङ्क्षा पूरा हुन थालेको कुरा पूजारी वासुदेव सापकोटाले सुनाए। यो कुरा जताततै फैलिएपछि थारु समुदायका मान्छेमात्र नभएर सबै समुदायका मान्छे आई पूजा गर्न थाले। त्यहाँ पूजा गरेपश्चात् मनोकाङ्क्षा पूर्ण भयो भन्ने सबै भेटिए। यो खबर एक कान दुई कान मैदान भयो। अनि सबै विश्वासका साथ विक्रम बाबामा आएर पूजा गर्न थाले। यसरी विक्रम बाबा मेलाले व्यापकता पाएको हो भन्ने कुरा पुजारी सापकोटा बताउँछन्।

विक्रम बाबा प्रकृतिका पूजारी भएका र सर्वसाधारण मानिस नै भएकाले कुनै पनि मन्दिरभित्र बस्दैनन् भन्ने जनश्रुति छ। पूजा स्थलमा मन्दिर बनाउने कयौं प्रयास भए पनि मन्दिर निर्माण सम्पन्न हुन सकेको छैन। जतिपटक मन्दिर बनाउन थालिन्छ, निर्माण पूरा नहुँदै आफै भत्केर नष्ट हुनेगरेको स्थानीयको भनाइ छ।

वर्षौंदेखि बच्चाबच्ची नभएकाहरूको पनि विक्रमबाबामा आएर पूजाआजा एवम् विक्रमको स्मरण गरेपछि सन्तान प्राप्त हुन्छ र सन्तान भएकाहरूमा सुखशान्ति प्राप्त हुन्छ भन्ने विश्वास छ। यसका अलावा घरपरिवारमा सुख, शान्ति, ग्रहदशा निवारणका लागि पनि विक्रमबाबालाई स्मरण गरिन्छ।

यस मेलामा दैनिक हजारौं भक्तहरूको उपस्थिति रहन्छ। चितवनवासीका लागि भने मेला अवधिमा कम्तीमा एकपटक पुग्नैपर्ने तालिका बन्ने गर्छ। मेलाका लागि देशभरबाट दर्शनार्थीहरू आउने गर्छन्। भारतबाट समेत मेलामा दर्शनार्थी आउने गरेको पूजा व्यवस्थापन समितिका संयोजक शंकर महतोले बताए। चैते दसैंसमेत यही समयमा पर्ने भएकाले नवमी र दशमीमा मेलामा विशेष भिड हुनेगर्छ। वैशाख १ अर्थात् नयाँ वर्ष प्रारम्भका दिन समेत मेलामा विशेष भिड हुने गर्छ।

विक्रम बाबामा हरेक वर्ष पूजाआजामा स्वयंसेवकको भूमिकामा रहने भरतपुर महानगरपालिका–२२ पटिहानी टाउनका रवि लामिछाने भन्छन्, ‘मैले भ्याएसम्म विक्रम बाबाको दर्शन गर्न छुटाएको छैन। कुनै वर्ष कुनै कारणले दर्शन गर्न पाइएन भने ठुलो कुरा छुट्यो जस्तो लाग्छ। मनोशान्तिका लागि पनि हरेक वर्ष मेलामा स्वयंसेवा र पूजाआजा गर्दैआएको छु।’

विक्रम बाबा मेलामा पहिलोपटक पूजा गर्न आएका स्याङ्जाकी दुर्गा रेग्मी भन्छिन्, ‘मेरो पहिलादेखिको भाकल थियो। विक्रम बाबाको दर्शनकै लागि म स्याङ्जाबाट आएको हुँ। पूजा गरेपछि मनमा शान्ति भएको छ। यो प्राकृतिक स्थलमा यति व्यापक मेला लाग्छ। यहाँ आउन पाउँदा रमाइलो लाग्छ।’

अहिले भरतपुर पर्यटन वर्ष २०२४ चलिरहेको छ। नेपालको पर्यटन विकासमा धार्मिक पर्यटनको विशेष भूमिका रहन्छ। भरतपुरको पर्यटन गतिविधिलाई चुस्त बनाउन साथै पटिहानी पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न समेत विक्रम बाबा मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ।

पछिल्लो समय विक्रम बाबा आसपासका क्षेत्रमा युवा पर्यटकीय गतिविधि साथै वनभोज एवम् मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रशस्त हुनेगरेका छन्।

प्रकाशित: १ वैशाख २०८१ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App