१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कहाँ लाग्छ बाली विनाबोट आफैं!

दश मुक्तक

१) मुक्तक

बनी भ्रष्ट खोज्नेहरूले बहाना

हियामा दुखाए दिई चोट नाना।

जली वेदनाले मुमा भन्न थालिन्

गरौं देश खोजी हरायो निशाना।

२) मुक्तक

छ हिंसा बढेको यहाँ काटमार

सुनेनन् कसैले मुमाको पुकार।

समाधान भेटिन्छ हामी जुटेमा

समस्याहरूको लगाऔं किनार।

३) मुक्तक

उठे प्रश्न थुप्रै दिंदैनन् जवाफ

सधैं धाक लाए तिनैका रवाफ।

भनौं लाज लाग्ने भयो देश कस्तो

छ गल्ती उसैको उहीं माग्छ माफ।

४) मुक्तक

सधैं दुःख गर्ने हुँदा पेट खाली

भए राज्य हाँक्ने फटाहा र जाली।

कुनै छैन चिन्ता कुनै छैन चासो

कहाँ फूल फुल्ला र पानी नहाली।

५) मुक्तक

भनी चोर कोही भएको छ साधु

गरी जोर कोही भएको छ साधु।

उचालेर खुट्टा उही हिंड्न खोज्छ

उँचो सोर कोही भएको छ साधु।

६) मुक्तक

मेलापात झर्छन् यहाँका किसान

हदै दुःख गर्छन् यहाँका किसान।

सधैं दाउ खोज्छन् लुटेराहरूले

विनामूल्य मर्छन् यहाँका किसान।

७) मुक्तक

दिई भोट पायौं सधैं चोट आफैं

मरे तुल्य बाँच्यौं विनाखोट आफैं।

नबुझ्नेहरू छन् बुझाएर के होस्,

कहाँ लाग्छ बाली विनाबोट आफैं।

८) मुक्तक

लडायो कसैले उठायो कसैले

र स्याबास पाई पचायो कसैले।

न ता खेप्छ सास्ती धनी लुट्छ मस्ती

यहाँ दीन भोकै छ खायो कसैले।

९) मुक्तक

पिई आँसु भिज्ने सिरानी भएँ म

दिनै जन्मिएँ लाग्छ दानी भएँ म।

अटेको छु लाग्थ्यो म तिम्रो हियामा

कतै छैन दर्ता चलानी भएँ म।

१०) मुक्तक

नसक्दा हुनै लाग्छ खास आज

गर्‍यौ रुद्ध मेरो मुठी सास आज।

छ स्वीकार भन्थेँ गर्‍यौ जे तिमीले

बनायौ त्यसैले भएँ दास आज।

प्रकाशित: ३० चैत्र २०८० १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App