१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

बहाना

लघुकथा

-हेलो बुढी।

-हजुर बुढा।

-यता त गर्मी बढेपछि निदाउन गाह्रो छ। बिहानखेरि निन्द्रा लाग्छ। बिहान फोन, म्यासेज केही नगर है बुढी।

बुढीले मनमनै गुनेर ‘हो र बुढा, यता त पानी परेर झन् ठिहि याउने जाडो पो छ  बिहानीपख त!’

हो र बुढी?

-तिमीलाई शीतल छ, मलाई गर्मी छ। उसो भए केही दिन विदा मिलाएर आउनु न त यता।

उताबाट चर्को आवाज आयो, ‘भन्नेबित्तिकै विदा मिल्छ र? अफिसका कार्यक्रमहरू छन्, फुत्त हिंड्न सजिलो र भन्नेबित्तिकै?’

बुढीले गम्दै भन्छिन्, ‘यता छोराले पनि बाबासँग घुम्न जान मन लागेको छ भन्दैछ। बाबाको नियाँस्रो लाग्यो भन्दैछ।’

-ओहो हो र बुढी? छोराले त्यसो भन्यो!

विजयले मनमनै सोच्छ– मलाई खोजी गर्छ मेरो छोराले। मेरो छोरा पो हो त भनेर गर्वले छाती फुलाउँछ।

फेरि मनसराको  आवाज उसको कानमा बज्छ-हो त नि, छोरालाई बाबाको नियाँस्रो लाग्यो अरे के!

छोराका लागि भए पनि आउँछु नि त एकदुई दिनका लागि। लल फोन राख। मलाई निद पुगेको छैन।

हस बुढा भनेर फोन राखिन् र छोराको कोठामा हुर्रिंदै पुगिन् मनसरा। छोरा निदाइरहेको थियो।

छोरालाई पानी ल्याएर दिइन् र भनिन्,‘उठ छोरा, पानी पिउ अनि नित्यकर्म गरेर पढ्न बस।’

छोरा शंख आँखा मिच्दै उठेर हस ममी भनेर पानी पिउन थाल्यो।

मनसराले छोराको कानमा फुसफुसाइन्, ‘बाबाको फोन आयो भने नि, नयाँ वर्ष मनाउन यतै आउनु बाबा हजुरसँग घुम्न जान मन लागेको छ भन है छोरा।’

प्रकाशित: ३० चैत्र २०८० १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App