२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भक्तपुरमा बिस्का जात्रा सुरु

भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका– ५ तःमारी (टौमढी पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिन लामो यहाँको जात्रा सुरु भएको हो। जात्रा २०८१ वैशाख ५ गते बुधबारसम्म चल्ने छ। प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि सुरु भई वैशाख ५ सम्म जात्रा चल्ने परम्परा रहेको छ।

गुठी संस्थान शाखा कार्यालय भक्तपुर बिस्का (बिस्केट) जात्रासम्बन्धी कार्यतालिकाअनुसार दिउँसो ३ बजेदेखि भैरवनाथको रथ तान्न प्रारम्भ भएको थियो। यसअघि बिहानैदेखि पूजा सुरु भएको थियो।

बिहान ५ बजे भैरवनाथको नित्य पूजा गर्ने, ६ बजेदेखि ८ बजेसम्म भैरवनाथको पूजा गर्नेलगायत निरन्तरको पूजापछि साँझ ३ बजेदेखि भैरवनाथको रथ तान्न सुरु गरी जात्रा सुरु भएको हो। रथलाई तानेर रातिसम्ममा त्यसदिनको गन्तव्यस्थल गःहिटीमा पु¥याउने परम्परा रहिआएको छ।

प्यागोडा शैलीमा बनाइएको तीनतले भैरवनाथको रथलाई दुवै साइडमा डोरी राखेर तान्ने गरिन्छ। पहिलो दिनको रथ तान्ने प्रक्रिया द्यो क्व विज्याइजु (देवता तल सवारी हुने) भनेर भनिन्छ। यो दिन भक्तपुर नगरको ठिक बीचभागमा रहेको पाँचतले मन्दिरमा राखेर बनाइएको रथलाई नगरको तल्लो साइडमा तानेर लाने गरिन्छ।

सयौं युवाको सहभागितामा ६ वटा मोटामोटा डोरीको सहायताले रथ तान्ने गरिन्छ। रथ तान्ने क्रममा कहीँकतै ठक्कर खाएमा फर्काउनु पर्ने पनि हुनसक्ने भएकाले दुवैतिर डोरी राखेर रथ तानिन्छ। तर जुन दिन जता लाने हो, त्यसतर्फ ६ वटा र अर्काेतिर चारवटा मात्रै डोरी राखेर तान्ने गरिन्छ। नगरभरि हजारौंको सहभागितामा हुने यो जात्रा बिस्का जात्राको मुख्य आकर्षण पनि हो।

जात्रामा हजारौंको भीड हुने भएकाले शान्ति सुव्यवस्था पनि खलल हुनसक्ने सम्भावनालाई ध्यानमा राखी सयौं सुरक्षाकर्मी पनि परिचालित भएका छन्। साथै सादा पोसाकमा पनि उत्तिकै सुरक्षाकर्मी खटिएका छन्। साथै ठाउँठाउँमा सिसिटिभीको पनि बन्दोबस्त गरिएको छ।

भैरवनाथको रथ तानेर सुरु हुने (यो वर्ष चैत २७ देखि) यो जात्रा वैशाख ५ गते समापन हुनेछ। यसबीच वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाउनु र वैशाख १ गते ढाल्नु जात्राको अर्काे मुख्य आकर्षण हो।

प्रकाशित: २८ चैत्र २०८० १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App