९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

‘कोइली’ उडेपछिको वसन्त

अन्तर्य

वनस्पतिविद् तीर्थनारायण श्रेष्ठ भन्ने गर्छन्-तराईमा कुहुकुहु गर्दै गरेको कोइली पहाडतर्फ आएसँगै राजधानीमा वसन्त महसुस हुन्छ। उनले यसो भन्दै गर्दा धनुषाका परमेन्द्र साह यसै साता कोइलीजसरी नै राजधानी त आए तर विमानस्थलबाट सिधै कतार हानिए।

हिउँदको अन्त्यसँगै मुलुकमा वसन्तको रसिलो प्रभाव देखिएको छ। आरु फूलमा कर्मी माहुरी रमाउँदै छन्। तर धनुषाका यी साह यो भव्य वसन्तोत्सवमा रम्न सकेनन्। माहुरी महको खोजीमा निस्किएझैं उनी पनि ‘मह’को खोजीमा अरब हानिए।

‘नानीहरूको शिक्षा र बाआमाको उपचारका लागि हामी अरब जानुपरेको छ,’ ओइलाएको फूलजस्तै अनुहार लिएर बिदाइ हुँदै गरेका साहले भने, ‘तीन वर्ष बसेपछि घर फर्कने छु।’ साहुसँग रिन लिएर अरब हिँडेका उनी नेपालमा केही गर्न सक्ने भएर फर्कने सपना सुनाउँछन्।

 

उनीजस्तै सपना बोकेर उनको गाउँका अन्य पाँच जना पनि सँगै उडे। उनीहरूले जन्मभूमि छाड्दै गर्दा तराईमा यति बेला मध्यवसन्त छाएको छ। बगैंचामा आँप र लिचीले मुजुरा छाडेका छन्। जंगलमा पलाँस राताम्मे छ। खेत-खरियानमा सिरसिर बतास चलेको छ।

करेसामा कोइलीको कुहुकुहु गुञ्जन छ। तर उनीहरू विमानस्थलको भिडमा दैनिक जाँदै गरेका दुई हजारभन्दा बढी युवाको भिडसँगै हराए। परेमन्द्र विमानस्थलभित्र छिरेपछि उनकी श्रीमती सुनितादेवीको अनुहारमा अँध्यारो छायो।

‘अब उहाँ आउने बाटोको प्रतीक्षामा हो,’ उनले भनिन्, ‘उहाँ घरमा आएपछि मात्र हामीलाई गाउँ रमाइलो लाग्छ।’

परमेन्द्र मात्र होइन, यस्तै बाध्यता बोकेर दैनिक दुई हजारभन्दा बढी युवा बिदेसिइरहेका छन्। लाखौं युवा खाडीलगायतका मुलुकमा थुप्रिएका छन्। उमङ्गको यो ऋतुमा फुंग उडेका अनुहारसहित उनीहरू आशाको झोला काँधमा हालेर रेगिस्तान जाँदै गर्दा स्वर्गजस्तो भूमि मरुभूमिजस्तो बन्न पुगेको छ। युवाको हुल खाडीको मरुभूमिमा जाँदै गर्दा मुलुकको यो वसन्त रित्तो देखिएको छ।

श्रेष्ठ फागुन-चैतलाई यहाँको वसन्त मौसम मान्छन्। आरु, मयल र नास्पातीका फूलले स्वागत गरेको वसन्तलाई बेली, जाई, जुही, चम्पा, चमेलीले सिँगार्ने उनी बताउँछन्। हिउँद र ग्रीष्मबिच पर्ने वसन्तमा धेरैजसो बोटबिरुवा सक्रिय बन्ने उनी सुनाउँछन्। तर यही रहरलाग्दो मौसममा बिदेसिनेको सङ्ख्या झनै बढेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार वसन्तको पहिलो महिना फागुनमा ६५ हजार ६ सय ५८ बिदेसिएका छन्। त्यस्तै चैतको २१ दिनमा मात्र ५८ हजार आठ सय ९० बाहिरिएका छन्।

परिश्रमी हातहरू बाहिरिन थालेपछि पहाडका जमिनहरू बाँझै बस्न थालेका छन्। स्वदेशको वसन्तमा रम्न नसकेका यी ‘कोइली’ हरू ‘मरुद्यान’ भेटिने आशामा धमाधम उड्दै छन्। यस्तोमा कसैको सपना साकार भए पनि कोही रित्तो हात फर्किन बाध्य छन्। सुटकेस गुडाउँदै हिँडेका कतिपय बाकसभित्र चुपचाप फर्किन अभिशप्त छन्। अनि कति त बत्तीको उज्यालो लिन उडेका पुतलीजस्तै आफ्ना पखेटाहरू पोलेर फर्किएका छन्।

राज्यले यी मौरीजस्तै युवालाई रोक्न स्वदेशमै आशाका फूल फुलाउन सक्नुपथ्र्यो। उद्योगहरू खोलेर उनीहरूलाई रमाउन सक्ने वातावरण तयार गर्नुपर्थ्याे। फूलको त कुरै छाडौं, राज्य कडाजस्तै उभिएर बसेको देखिन्छ। यस्तोमा बिदेसिने युवाहरूको जमात रोकिने होइन, झनै ठुलो सङ्ख्यामा बाहिरिँदै गएको देखिन्छ।

वसन्तमा जीवनको सङ्केत देखिन्छ। बुझ्नेहरू यसलाई सृष्टिको समय मान्छन्। तर शिवरात्रि पनि यसै समय पर्ने भएकाले यसको धार्मिक, जैविक र सांस्कृतिक महत्त्व छ। तर यहाँ वसन्त ओइलाएको छ। सृष्टि फक्रिन सकेको छैन। पहाड, तराई, हिमाल सबैतिरबाट वसन्तहरू बाहिरिएका छन्।

सर्वसाधारणमा निराशा छाएको छ। बाहिर गएकाहरू घरको न्यास्रोमा तड्पिएका छन्। स्वदेशमा रहेकाहरू सन्तान आउने प्रतीक्षामा छन्। यस्तो अवस्थामा छोरा फर्किनु अगावै बाआमाहरू निधन भएको समाचार प्रकाशित भएका दुःखद खबर सुन्नुपर्छ।

पुरानो पालुवाको ठाउँमा नयाँ पालुवाको आगमन हुन्छ, आरुको फूलले मन लोभ्याउँछ। नयाँ सोच, नयाँ कामको सुरुवात आदि नै वसन्तको सुन्दर पक्ष हो।

वसन्तमा कोइलीको कुहुकुहु र काफल पाक्यो चरीको सन्देशले नयाँ उमङ्ग सञ्चार गर्छ। नयाँ क्यालेन्डर, नयाँ उत्साह र नयाँ अठोट वसन्त ऋतुका सुन्दर पक्ष हुन्। राम्रो वातावरण भएको भए यही माटोमा सुन फल्थ्यो तर युवाले अवसर पाएनन्।

सरकारले युवा स्वरोजगारका कार्यक्रम त ल्यायो तर त्यसमा पनि राजनीतिको प्रभाव पर्‍यो। उद्यमीभन्दा दलप्रति लगाव राख्नेले नक्कली उद्यमी बनेर रकम हडप्न थाले। त्यस्तै युवाहरू स्वदेशको जमिन बाँझो छाडेर मरुभूमिजस्तो रुखो ठाउँमा फूल फुलाउन बाध्य बने।

वसन्तको सपना बोकेर बिदेसिने युवाले मुलुकको वातावरण राम्रो भए स्वदेशमै आएर केही गर्ने आकाङ्क्षा बोकेका हुन्छन्। तर, मुलुक सुध्रिएको उनीहरूले देख्न पाएका छैनन्। उनीहरू फर्कने वातावरण बन्न सकेको छैन। कतिले देशमा आएर केही गर्ने प्रयास नगरेका पनि होइनन्। तर सरकारी झमेलाका कारण निराश भएर पुनः बाहिरिएको खबर पनि आएका छन्।

त्यसैले होला, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः राजनीतिको कठ्यांग्र्रिँदो शिशिरले मुलुकलाई उजाड बनाएको सुनाउँछन्। इमानदारीसाथ युवाको शिक्षा र रोजगारमा ध्यान नदिएसम्म मुलुकमा कहिल्यै वसन्त नआउने उनको बुझाइ छ।

‘जबसम्म रोजगारका लागि बिदेसिएका ‘कोइलीहरू’ स्वदेश फिर्ने वातावरण बन्दैन, तबसम्म मुलुकमा साँचो अर्थमा वसन्त आउँदैन,’ उनले भन्दै आएका छन्, ‘जति बेला यहाँका शासकमा चेतनाको न्यानो पलाउँछ, तब मात्र वसन्त आगमन हुनेछ।’

उनी बेरोजगार युवाको खाडीतर्फको लर्को रोक्ने कदम चालिहाल्न जरुरी भएको उनी बताउँछन्। समयमै राज्यले नसोचे वसन्तमा पलाएका आँप र लिचीका मुजुराले मात्र होइन, सन्तानका कलिला मुस्कान र गर्भवती श्रीमतीको मौन आग्रहले पनि उनीहरूको पाइला रोक्न नसक्ने उनको बुझाइ छ।

रित्तो वसन्तलाई भरिभराउ पार्ने कामको थालनी आजै हुनुपर्छ। आशा र विश्वासको फूलबारी सिर्जना गर्न सके निराश भएर उडेका मौरी र कोइलीहरू फेरि फर्कने छन्। भनिन्छ नि-ढिलो कहिल्यै हुँदैन, सुरुवात भने आजै गर्नुपर्छ।

प्रकाशित: २४ चैत्र २०८० ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App