९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

वसन्त विद्रोह

निबन्ध

आएर कहिल्यै ऋतु सिद्धिँदैन

लाएर माया मुटु रित्तिँदैन

राष्ट्रकवि माधवप्रसाद घिमिरेका यी कालजयी पंक्तिले जहिल्यै सोच्न बाध्य पार्छन्। प्रत्येक वर्ष वसन्त ऋतु हाम्रो ढोका ढकढक्याउन आइपुग्छ। फेरि ऊ पेन्सनवाला लाहुरेजस्तो आफ्नो पुरानो कोट ढल्काउँदै फर्किन्छ। उसको ठाउँमा नयाँ ऋतुको पदार्पण हुन्छ। अर्को, अर्को र फेरि अर्को ऋतु हाम्रा पाहुना भइरहन्छन्।

बुझाइको सहजताका निम्ति ६ ऋतुलाई हामीले गणना गर्छौं। अंग्रेजहरूले भने चार ऋतुमा समयलाई बाँडेका छन्।

वसन्तलाई ऋतुहरूको राजा मानिन्छ। चैत–वैशाख दुई महिना आउने वसन्त अलि भिन्न देखिन्छ। सौन्दर्य र नवीनताका हिसाबमा यो समयले हामीलाई अत्यन्तै ऊर्जावान बनाउँछ। यही बेला हाम्रो पुरानो पात्रो परिवर्तन भई नयाँ आउँछ। यो समयले जीवनप्रति सकारात्मकता बढाउँछ। हिजोका दुःख बिर्साउँछ।

प्रत्येक ऋतुले बोकेर आउने सुन्ध बेग्लै हुन्छ। यो समय परिवर्तन भइरहेको निरन्तर बोध पनि हो। वर्षा, ग्रीष्म, शरद्, हेमन्त, शिशिर, वसन्त ऋतुको सिलसिला आफैमा रोचक हुन्छ। प्रायः काव्यचेत भएका मानिसलाई महिनाले भन्दा ऋतु परिवर्तनले छोइरहेको हुन्छ। र, यो समयलाई पन्छीहरूले पनि तदनुकूल पछ्याउँछन्। जंगलमा घुम्न निस्किँदा तिनका कलरव ध्वनिले मनलाई आह्लादित तुल्याउँछ।

समय आफ्नै किसिमले अगाडि बढिरहेको हुन्छ। पलापला समय गुज्रिरहेको हुन्छ। त्यो समय बितिरहेको थाहा हुँदैन। जब दिन ढल्छ, अलिकति जिन्दगी खसिरहेको हुन्छ। महिना बित्दा धेरै समय गुज्रिसकेको हुन्छ। ऋतुले त एउटा याम नै बदलिएको भान दिन्छ। वर्ष दिन बितेपछि खासमा समय गुज्रिएकोमा दुःखी हुन छाडेर हामी फेरि नयाँ वर्षको शुभकामना आदानप्रदान गरेर सामान्यीकरण गर्छौं।

समय गतिवान हुन्छ। प्रत्येक दिन बिहान कुनै ढिस्कोमा उभिएर त्यही समयमा कुनै ठाउँमा हेर्ने बानी गर्ने हो भने सधैं परिवर्तनलाई महसुस गर्न सकिन्छ। हिजो त्यहाँ उभिएको रुख आज त्यही अवस्थामा हुँदैन। हिजो झुल्किएको घामभन्दा आजको केही न केही फरक परिरहेको हुन्छ। हिजोको कोपिला आज मुस्कुराइरहेको हुन्छ।

प्रकृतिलाई निरन्तर महसुस गर्न सकिन्छ। त्यसका निम्ति आफूलाई प्रकृतिले गरिरहेका परिवर्तन हेर्ने भिन्न दृष्टि आवश्यक पर्छ। भनिन्छ, जस्तो दृष्टि त्यस्तै सृष्टि हुन्छ। कहिले सृष्टिले दृष्टिलाई आह्लादित तुल्याइरहेको हुन्छ। कहिले दृष्टिले सृष्टिलाई भिन्न रूपमा ग्रहण गरिरहेको हुन्छ।

कसैका निम्ति ठिङग उभिएको रुखको कुनै महत्ता हुँदैन, कसैका निम्ति त्यसले भयानक सौन्दर्यबोध गराइरहेको हुन सक्छ। कसैको त्यही रुखसँग भावनात्मक सम्बन्ध हुन्छ। आखिर मानिस भन्नु नै भावनाको प्राणी हो। युवल नोहा हरारी भन्छन्-मानिस कथा बनाउन जान्दछ। सायद, यही कथा बनाउन जान्ने भएकै कारण ऋतु परिवर्तनका कथा उसले बुनेको छ। त्यसलाई उसले भिन्न हिसाबले हेर्न जानेको हुन्छ। कथा बनाउन नजानेको भए सायदै हामी पनि वसन्त बहारमा हुने थिएनौं।

प्रकृतिको कुनै पक्ष मन पर्न त्यहाँ भावना हुनुपर्छ। भावना नभए प्रकृतिलाई बुझ्न सकिँदैन। स्वस्फूर्त रूपमा मनमा जाग्ने भावनाले कुनै ठाउँ मन पर्न थाल्छ। मनले सहजै भनिदिन्छ- आहा, कति राम्रो!

वास्तवमा प्रकृति एउटा महान कलाकार हो। मानिस आफूले केही बाग, वन र उपवन सजाउन सक्छ। यो चराचर जगत्लाई कोरीबाटी गर्ने प्रकृतिको महान कलाकारिता रहेको छ। जंगलमा गएर हेर्दै गर्दा हामीलाई लाग्छ, ती रुखहरू कसले मिलाएर रोपेको होला? सुनाखरी भिरभरि फुलिरहेको हुन्छ। त्यसको माली को होला ? प्रकृति सबैभन्दा ठुलो माली हो।

समयानुसार जेजे घटित हुँदै जान्छ, त्यो नै प्रकृतिको योगदान हो। कहिले सिक्रो जंगल देखिन्छ। फेरि त्यसमा मुना पलाउन थाल्छन्। यो सुखद घटना भइरहेको समय वसन्त हो। प्रकृतिमा भइरहेका घटनाले हाम्रो जीवनलाई आह्लादित तुल्याउँछ। हामी त्यसैसँग खुसी हुन थाल्छौं। प्रकृतिकै घटना देखेर विरही वा आनन्दित हुने अवस्था आउँछ।

कविहरू कविता लेख्छन्। सिनेमामा यही यामलाई लिएर गीत बन्छ। ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर’ भन्दै छमछमी नाच्ने अवस्थामा ऋतुले पुर्‍याउँछ। मानिसले प्रकृतिमा आइरहेका परिवर्तन हेरेर आफूलाई तदनुकूल अगाडि बढाएको हो। प्रकृतिलाई महसुस नगरेको भए सायद उसलाई पनि समय पट्यारलाग्दो हुँदो हो।

बिहानको सुखद रश्मी पहाडका टाकुरामा पुग्दा देखिने सुनौलोपन क्यानभासमा पोखिएको रङजस्तो हुन्छ। रुखका पात फरफर फर्किंदा प्रियतमका हात हल्लाइको याद हुन्छ। चिसो र ताजा हावाभित्र प्रियजनका स्मृति सुवास महकाउँछन्। त्यसकारण प्रकृतिले तिनलाई बेचैन बनाउँछ। वसन्तसँग तिनका कथा जोडिएका छन्। तिनै कथाले तिनलाई यो समयको अर्थबोध गर्न बाध्य पार्छन्।

हाम्रो मुलुकमा त झन् वसन्त भन्नु नै निरन्तर राजनीतिक परिवर्तनको बिम्ब पनि हो। हामीले आज बोल्न र लेख्न पाएको यो समय यही वसन्त विद्रोहको परिणाम हो।

त्यसैले वसन्तसँग लालित्य मात्र जोडिएको छैन। यो निरन्तर परिवर्तनको द्योतक पनि हो। विद्रोही कविले यसैमा परिवर्तनको उच्छवास पनि देख्छ। गीतकार चन्द्र भण्डारीको ‘भुइँकुहिरो उड्न थाल्यो है’ भन्ने गीत पंक्तिले यसैको संकेत गर्छ।

वसन्तको बागभित्र हुन्डरीले कुल्चिदिन्छ,

ओइलाउँछन् फूलहरू व्यथा कसले बुझिदिन्छ,

प्रकृतिले आफ्नै घरमा भूकम्पको खेती लाउँछ,

तर पनि सगरमाथा दृढ भई उभिइरहन्छ। 

प्रकाशित: २४ चैत्र २०८० ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App