३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

टोखामा चैत २५ देखि ‘पाँहाचर्‍हे’ जात्रा

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा पाँहाचर्‍हे’ जात्रा मनाइने भएको छ।

नेवार समुदायको बाहुल्य रहेको टोखामा यही चैत २५ देखि २७ सम्म ‘पाँहाचर्‍हे’ जात्रा मनाउन लागिएको हो। जात्राका अवसरमा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो मसिनो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए।

चैत २५ गते पिचास चर्तुदशीका दिन बिहान ६ः३० बजे लिङ्ग (यँसि) उठाउने र साँझ ६ः३० बजे सपन विनायक र सङ्कटा अजिमाका दुई रथलाई गाउँ परिक्रमा गराइन्छ। परिक्रमाका क्रममा जहाँ–जहाँ महादेव लुकेर बसेका छन्, त्यहाँ पुर्‍याई दर्शन गराई फर्काउने चलन रहेको टोखाका मूल नाइके हेमराज श्रेष्ठले बताए।

चैत २६ गते अर्थात् घोडेजात्राका दिन साँझ ६ः३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याई ६ कुमार र चार कुमारीलाई मरजा (भात) खुवाइन्छ। सपनविनायकमा भने दुई कुमारलाई मरजा खुवाउने प्रचलन छ।

सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ। सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन रहेको छ।

चैत २७ अर्थात् जात्राको अन्तिम दिन बिहान ६ः३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो) मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ।

त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ। –रासस

प्रकाशित: २३ चैत्र २०८० १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App