“खै त, एघार बजिसक्यो। यतिबेलासम्म पनि आउनु हुन्न हर्क सर तपाईं? बिहानै आउँछु भनेर भर पारेको मान्छे। हैन, कता हो तपाई? मैले कतिन्जेल पर्खिनु?’’
रिसले कन्पारो तातेर फोन गरें मैले।
“ए हजुर,नरिसाउनु न। हेर्नु न, म एैले बर्दिबासमा छु। तपाईकोमा बिहानै आउन पैसा सबै ठिक्क पारेर बसेको। काठमाडौंमा जेठो छोरा दुर्घटनामा परेर चिन्ताजनक अवस्थामा छ भनेर राति नै खबर आयो। तुरून्तै काठमाडौं जानुपर्ने भएकाले बिहान घरबाट निस्किएँ। छोरो अलि बिसेक भएपछि आउँछु। अनि हजुरको सबै पैसा साँवाब्याज चुक्ता गर्छु।’’ सर्क सरले फोन राखे।
मैले पनि बर्बराउँदै फोन बन्द गर्दै थिएँ। कसकाे फोन थियो भन्दै श्रीमती आइन्।
“हेर न, हर्क सरले आज पैसा दिने भाका थियो। बिहानै पैसा लिएर आउँछु भनेका थिए। उता काठमाडौंमा जेठो छोरा दुर्घटनामा परेर राति नै काठमाडौं लागेछन्। आज पनि पैसाले काम नकाट्ने भयो।’’
श्रीमती मज्जाले डल्लो पर्ने गरी हाँसिन् र भनिन्, “हो हजुर, पैसा नआउने नै भयो। यो मोवाइलको नाम अब ढाँट्ने यन्त्र राखे पनि हुने भयो। हर्क सर र उसको जेठो छोरो दुवैलाई एक घण्टा अगाडि भाटभटेनीमा मैले भेटेर आएकी। गफिंदै सामान झिक्दै थिए।’’
-विष्णु उप्रेती
प्रकाशित: २० चैत्र २०८० १३:४२ मंगलबार