१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

सिन्धुलीगढी घुमेर हेर्दा

नियात्रा

हामी ‘सिन्धुलीगढी घुमेर हेर्दा...’ बोलको गीत गुनगुनाइरहेका छाैं। यो गीत सायद २०३७ सालमा कृष्णविक्रम थापाले गाएका हुन्। यो सिन्धुलीगढीको ऐतिहासिक गौरव र त्यहाँको प्राकृतिक सौरभको गाथा जस्तो लाग्छ। यसले सिन्धुलीगढीलाई पनि सम्झाइदिने गरेको छ। यो गीत सुन्यो कि मायाप्रीति होइन, सिन्धुलीगढी हेर्न मन लोभिने गर्छ। उनले भनेको ‘कति पो राम्रो दरबार’ कस्तो होला भन्ने हुटहुटी लागिरहन्छ। आज यही गढीलाई मसिनो गरी हेर्ने हो।

हिजो बेलुका सुत्नुअघि नै बिहान पाँच बजे जिरीबाट प्रस्थान गरिसक्ने सल्लाह भएको थियो। ढिलो उठ्नेहरूले अलार्म लगाए होलान्। मलाई चार बजे उठ्न अलार्म चाहिंदैन। जेठ २० गते कुखुरो नबास्दै हामी उठिसकेका थियौं। चिया खाएर हिंड्ने भन्ने केही अम्मलीको आग्रह भए पनि खावामा चिया खाने सल्लाहमा एकता भएर हामी हिँड्यौं।

हामी जुन गाडीमा गएका थियौँ, त्यही गाडीमा थियौँ। थोरै सिट प्लान (बसाइ योजना) बदलिएको थियो। म, सिर्जना र उर्मिला भट्ट बढुवामा परेका थियौँ। तारा शर्मा र वसन्त पोखरेल अगाडि पर्नुभएको थियो। गाडीमा निदाउनेले चालक छेउमा बस्नु हुँदैन।

मैले यसो भनेपछि चालकछेउमा बस्न तयार भएकाहरू पछि हटेका थिए। मनभरि जिरीको माया बोकेर हाम्रो गाडी उकालो लाग्यो। खावामा चिया खायौँ।

रमाइला दृश्यको पुनः अवलोकन गर्‍यौं। जति हेरे पनि मन नभर्ने। मैनापोखरी घामको उज्यालोमा हाँस्दै थियो। तामाकोसीमा पुगेपछि चरीकोट जाने बाटो छाडेर गाडी तामाकोसी किनारै किनार गुड्यो। मिल्ती बजारबाट दोलखा जिल्ला सकिंदो रहेछ। घरि उकालो घरि ओरालो, घरि तामाकोसी पारि र घरि वारि गर्दै रामेछापको सदरमुकाम मन्थली बजार पुग्यौँ। वरिपरि उराठ लाग्ने डाँडाको बिचमा थोरै हरियालीयुक्त मन्थली बजार रमाइलो छ।

तामाकोसीले बनाएको फाँटमा फैलिएको रहेछ, मन्थली। गुजुमुज्ज बजार। भैंसेश्वरबाट रामेछाप जाने बाटो छाडेर गाडी तामाकोसी किनारको सडक पक्डेर गुडिरह्यो। गाडीमा अस्तिभन्दा बढी उत्साह देख्छु। आज गाडीको मुख घरतिर जो छ।

खुर्कोट नपुग्दै तामाकोसी र सुनकोसीको जम्काभेट भयो। बनेपातिरबाट आएका गाडी र जिरी चरीकोटबाट आएका गाडी र बाटोको भेट खुर्कोटमा भयो। यसबिचमा रुद्र ज्ञवालीका केही चुटकिला फुत्किए बाटो काट्नु थियो। हाँसोले आँसु झराल्यो।

“ल अब गाउँखाने कथा जाओस्।” यो मप्रति लक्षित थियो। जाँदा पनि उकालो आउँदा पनि उकालो के हो? मैले अड्को थापेँ। जाँदा उकालो भएपछि आउँदा ओरालो हुनुपर्ने! गाउँखाने कथाले हामीलाई तामाकोसीदेखि सिन्धुलीसम्म डोर्‍यायो। बिचको बाटो काट्न सहज भयो।

तामाकोसी र सुनकोसी त मिलेपछि मिलेरै अघि बढ्दा रहेछन् भने बाटाहरू खुर्कोटबाट फाट्दा रहेछन्। बनेपा जाने, बर्दिबास जाने, रामेछाप जाने र खोटाङतिर जाने।

फरकफरक चोकबाट खुर्कोटदेखि बाटा फाटेका रहेछन्। हामीले बर्दिबास जाने बनेपा–बर्दिबास बाटो समात्यौँ र सिन्धुलीगढी पुग्न हतारियौं । सानो बजार खुर्कोट। यहाँ हामी भुलेनौं। पहिले २०७५ सालमा काठमाडौंबाट खोटाङ जाने क्रममा भने यस ठाउँमा हामी एकडेढ घण्टा भुलेका थियौं।

खुर्कोटबाट सिन्धुलीगढी पुग्न १८ किलोमिटर रहेछ। घुमाउरो उकालो बाटो काट्न हामीलाई करिब एकडेढ घण्टा लाग्यो। माथि डाँडाको टुप्पोमा छ, सिन्धुलीगढी। मूल बाटो छाडेर करिब १ किलोमिटर उकालो चढ्नुपर्छ, सिन्धुलीगढी पुग्न। जनही ५० रुपैयाँ प्रवेश शुल्क तिरेपछि हाम्रो गाडीभित्रै पार्किङस्थलसम्म पुग्यो।

ओहो सिन्धुलीगढी! साथीहरूमा उत्साह छ, गढी हेर्नाको। हामी गाडी छाडी गढीतिर लम्कियौं। वर्तमानबाट इतिहासतिर तानियौं । गढीक्षेत्र महाभारत पर्वत शृङ्खलामा पर्दो रहेछ।

समुद्री सतहदेखि करिब १५२० मिटरको उचाइमा रहेछ। यहाँ एक जोर गढी रहेछन्। जाँदाजाँदै थोरै सिँढी चढेपछि पुगिने गढीलाई सानो गढी भनिँदो रहेछ।

नेपालको ठुलो झन्डा फहराइरहेको छ। चारैतिर चाक्लो पर्खाल छ। यहाँ पर्खालमा एघारवटा प्वाल रहेछन्। यही पर्खालमा छेलिएर नेपाली सेनाले दुस्मनलाई प्रहार गरेको होला भन्ने अनुमान गर्न सकिन्छ। यो गढी र गढीबाट देखिने सिन्धुलीको दृश्यावलोकन गरेर हामी ठुलो गढीतर्फ लाग्यौँ। बिच बाटोमा कुनै समयको अदालत र जेलघरको संरक्षित भग्नावशेष, युद्धसङ्ग्रहालय, युद्धका झलक दिने स्मारक रहेछन्।

कृष्णविक्रम थापाले २०३७ सालमा देखेको ‘कति पो राम्रो दरबार’ अहिले खण्डहर भएको रहेछ। अहिले गाउने भए अर्कै शब्द राख्दा हुन्, ‘कति पो राम्रो खण्डहर’।

इतिहासकारका अनुसार यो क्षेत्र पहिले मकवानपुर राज्यअन्तर्गत पथ्र्यो। यहाँ १६१० देखि १८१९ सालसम्म सेनवंशको शासन थियो। सिन्धुलीगढी त्यही समयमा बनेको रहेछ। सानो गढी धनमनातिरबाट आउने शत्रुहरूलाई हेर्न र नियन्त्रण गर्न बनाइएको रहेछ। त्यतिबेला यो गढी गढी मात्र नभएर प्रशासनको केन्द्र रहेछ।

हाल सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. २ र ३ मा पर्ने यही स्थल २०१९ सालसम्म सिन्धुलीथुमको सदरमुकाम रहेछ। यहाँ सैनिक घर, प्रहरी चौकी, कारागार, अदालत बनाइएका रहेछन्। २०१९ सालपछि सदरमुकाम सिन्धुली बजारमा सरेपछि यो स्थान ऐतिहासिक–पुरातात्त्विक गढीका रूपमा संरक्षित भएको रहेछ।

युद्ध सङ्ग्रहालयमा त्यस बेलाको राजनीतिक भूगोलको डमी राखिएको छ। नेपाली सेनाले प्रयोग गरेका हतियार सजाएर राखिएका छन्। काजी वंशराज पाण्डे, खजान्ची वीरभद्र उपाध्याय, श्रीहर्ष पन्त, सिकारी सरदार वंशु गुरुङका प्रतिमा राखिएका छन्। बाहिर चोरऔँलो ठड्याएका पृथ्वीनारायण शाहको पित्तलको पूर्ण कदको प्रतिमा छ। तोपहरू छन्।

नेपाली सेनाले अङ्ग्रेज सेनालाई कुल्चिएका प्रतिमा छन्। राष्ट्रिय झन्डा र सुन्दर हरियाली तथा फूलबारी छ। ऐतिहासिक गौरव र प्राकृतिक सौरवले गर्दा मन आनन्दित भयो। एकछिन संसार बिर्सएर यहीं रमाउन मन लाग्यो, हामीलाई।

ठुलो गढी ठुलै रहेछ। युद्ध सङ्ग्रहालयबाट १२२ सोपानको ठाडै उकालो चढेपछि मात्र ठुलो गढी पुगिँदो रहेछ। रुद्र ज्ञवाली, तारा शर्मा, वसन्त पोखरेल, मोहन, सिर्जना र म ठुलो गढी चढ्यौं। सिँढी गन्यौं। गढीमा रहेका २१ प्वाल गन्यौं। बिचमा रहेको कुवा वा इनार सुक्खा थियो। त्यो हेर्‍यौँ। गढीबाट देखिने दृश्यको अवलोकन गर्‍यौँ। ठुलो गढीको एकातिर छङ्गाछुरे छाँगो रहेछ। त्यहाँबाट केही आउजाउ गर्न सक्दो रहेनछ। त्यसैले यो ठाउँ सुरक्षाका दृष्टिले उपयुक्त ठाउँ रहेछ।

यसको इतिहास बडो रोचक रहेछ। केही त मैले पनि सुनेको थिएँ। रुद्रजीले कुनै बखत यतैतिर जागिर खाएकाले उहाँलाई अझ बढी थाहा रहेछ।

हामीले पढेसुनेअनुसार १८२४ साल आश्विनतिर गोर्खालीहरूले उपत्यकामा आर्थिक नाकाबन्दी लगाउनुका साथै उपत्यकाका रणनैतिक दृष्टिले महत्त्वपूर्ण स्थानहरूसमेत कब्जा गर्न थालेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल अत्तालिएछन्।

उनले गोर्खालीविरुद्ध लड्न अङ्ग्रेजहरूसँग सैनिक सहयोग मागे। कप्तान किनलकको नेतृत्वको अङ्ग्रेजी फौज काठमाडौं आउने भयो। यसले गोर्खाली फौजलाई चनाखो बनायो। धेरै परामर्शपछि अङ्ग्रेजी फौजलाई सिन्धुलीगढीको उकालोमै रोक्ने र उपत्यकाभित्र पस्नै नदिने योजना बनाइयो।

यसका लागि धुलीखेलदेखि दुम्जासम्मको सुरक्षार्थ रहेका सिकारी सरदार वंशु गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको नेतृत्वको ५०० जनाको सैनिक टुकडीलाई सिन्धुलीगढीको ढुङ्ग्रेबासमा खटाइयो। काजी वंशराज पाँडे र काजी श्रीहर्ष पन्तको नेतृत्वमा ७०० जनाको अर्को टुकडीलाई पनि सोही ठाउँमा खटाइयो। यी टुकडीसँग मकवानपुरको लडाइँमा प्राप्त भएका केही बन्दुक थिए

परम्परागत हतियार तरबार, खुँडा, खुकुरी, धनुकाँड र घुयँत्रो पनि थिए। कप्तान किनलकको नेतृत्वमा आएको २,४०० जनाको अङ्ग्रेजीे फौजसँग बन्दुक, तोप र गोलासमेत थिए।

सिन्धुलीमाडीसम्म पुग्दा गोर्खाली सेनाको कुनै अत्तोपत्तो नभएको र माथि गढीमा पनि कोही छैन भन्ने खबर आएको हुनाले बिना रोकटोक उपत्यकामा प्रवेश गर्न सकिन्छ भन्ने कुरामा अङ्ग्रेजी फौज ढुक्क भयो। गोर्खाली फौजले सोचीबुझी गढी खाली गरी जङ्गलमा लुकेर बसेको थियो।

सिन्धुलीमाडीबाट खुर्कोट जाँदा पौवागढीसम्म ठाडो उकालो थियो, जहाँ नागबेली परेको बाटोको दायाँबायाँको जङ्गलमा सिस्नेघारी थियो। रणनैतिक महत्त्वलाई ख्याल गरेर जङ्गलको सिस्नेघारीका अरिङ्गल र बच्छिउँका गोला जोगाएर राखिएको थियो।

उकालोको आधा भागमा ढुङ्ग्रेबास थियो। त्यहाँ सिकारी सरदार वंशु गुरुङ र काजी श्रीहर्ष पन्तको साथमा ५०० सेना लुकेर बसेका थिए। माथि पौवागढीमा काजी वंशराज पाँडे र खजाञ्ची वीरभद्र उपाध्यायका साथमा ७०० सेना थिए। अङ्ग्रेज सेना ढुङ्ग्रेबासको उकालो चढिसकेपछि वंशु गुरुङको कमान्डमा रहेको फौजले आक्रमण थाल्यो।

पछाडिबाट गोर्खाली सेना आएको चाल पाएर अङ्ग्रेज सेना छिटोछिटो उकालो चढ्न थाले। त्यही मौकामा वीरभद्र उपाध्यायको कमान्डमा रहेको फौजले पौवागढीतिरबाट आक्रमण गर्‍यो।

उकालो बाटोमा माथिबाट आक्रमण गरिएकाले अङ्ग्रेज सेना माथि जान सकेन र तलतिर फर्किन थाल्यो। तलतिरबाट पनि आक्रमण भएको हुनाले केही समय दुवै पक्षबिच घमासान युद्ध भयो। दुईतिरबाट चेपुवामा परेको हुनाले कता जाने भन्ने अनुमानै गर्न नसकी अङ्ग्रेज फौज जङ्गलतिर पस्न बाध्य भयो। शत्रुको ताँती जङ्गलतिर पस्न लाग्दा वंशु गुरुङको कमान्डमा रहेको फौजले सिस्नुको झाडीमा रहेका बच्छिउँका गोला फोरिदिए। बच्छिउँको चिलाइबाट आक्रान्त भएको अङ्ग्रेज फौज बन्दुक फ्याँकेर झाडीतिर दौडियो।

झाडीमा सिस्नाले बिझायो। उनीहरू चिच्याउन थाले, ‘ओ माइ गड! हाउ क्यान आइ एलिभ। प्लिज सेभ मी। (हे, भगवान्! हामी कसरी बच्ने। कृपया मलाई बचाउनुस्।)

जङ्गलभरि यो क्रन्दन फैलियो। सबैको ध्यान आफ्नो ज्यान जोगाउनेतिर थियो। जसोतसो सिन्धुलीमाडीतिर भागेर ८०० अङ्ग्रेज सेनाले ज्यान जोगाए भने १,६०० सेना त्यहीं सोत्तर भए। तिनीहरूका साथमा रहेका ३०० थान बन्दुक गोर्खाली सेनाले हात पारे।

गोर्खाली पक्षका पनि छ सय जति सेनाले वीरगति प्राप्त गरे। त्यही युद्धको प्रतीकस्वरूप सिन्धुलीगढीमा विजयस्तम्भ खडा गरिएको रहेछ। सुनेर गौरव लाग्यो।

बँचेका अङ्ग्रेज सेनाले रिपोर्टिङ गरे रे-गोर्खाली सेना मात्र होइन, त्यहाँका इन्सेक्टर झारपात समेत हाम्रा दुस्मन रहेछन्। इन्सेक्टले हामीलाई हमला गरे। झारपातले करेन्ट लगाए। यस कुरालाई रुद्र ज्ञवालीले हँस्यौली पारामा सुनाउनुभयो। आधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेज सेनालाई परम्परागत हतियारले मात्र हराउनु सजिलो थिएन।

मनमा साहस र उत्साह लिएर टुटेका नेपाली सेनालाई यहाँको भूगोल र प्रकृतिले पूरै साथ दियो।फलस्वरूप आफ्नो कम क्षतिमा दुस्मनलाई बढी क्षतिका साथ हराउन र पिठ्युँ फर्काएर भाग्न विवश पारिदिए। त्यसैले सिन्धुलीगढी नेपाली वीरताको इतिहासको एक गौरवशाली पृष्ठ भएर रहेको छ।

आजको निरीह जस्तो देखिने नेपालीलाई यसले ऊर्जा थपेको अनुभूति भयो। मेरा बाले बिउ खाएका थिए मेरो हात सुमसुम भनेर जिउमा घिउ लाग्दैन। त्यसबेलाको गौरवपूर्ण इतिहासलाई बँचाउन पनि आज नेपालीले स्वाभिमानको बाटो रोज्नैपर्छ।

दुस्मनको हात लाग्यो भने यस्ता गढीका जगका ढुङ्गासमेत खोतलेर भिरतिर लडाइदिनेछन्।

विदेशी लेखकहरू सिन्धुलीगढीमा अङ्ग्रेजको हार हुनुमा गोर्खाली सेनाको शक्ति, ताकत वा चातुर्यलाई अस्वीकार गर्दछन्। बरु कम्पनीका सेनालाई प्रभावकारी रूपमा प्रशिक्षण दिन नसकेको, कठिन भूबनोट, त्यस कठिन भूबनोट र जङ्गलको अज्ञानता तथा मलेरिया, खोलानाला, बाढीपहिरो आदिलाई कारण मान्दा रहेछन्।

वास्तवमा सिन्धुलीगढीको लडाइँ असाधारण नै थियो। बेलाइती साम्राज्यले सामान्यतया तबसम्म कतै पराजित हुनुपरेको थिएन। सिन्धुलीगढीमा अङ्ग्रेजलाई परास्त नगरेको भए नेपाल एकीकरण पनि सम्भव हुने थिएन।

बेलाइतले स्पेन, क्यानडा, अमेरिका, इन्डिया जस्ता मुलुकमा कब्जा जमाइसकेको थियो। उसका लागि नेपाल त मामुली कुरो लाग्थ्यो। नेपालको एक गढी सिन्धुलीगढीबाट पिठ्युँ फर्काएर भाग्नुपर्दा भने साम्राज्यवाद मुर्च्छा परेझैं भएको थियो। यस युद्धमा अङ्ग्रेजको तर्फबाट क्याप्टेन किनलकले नेतृत्व गरेका थिए। बक्सार र बंगालको लडाइँमा वीरता देखाएकाले कम्पनी सरकारले उनलाई क्याप्टेन बनाएको र सिन्धुलीगढीमा पठाएको थियो। यस्तो सुनिरहँदा सहयात्रीहरूको शिर ठाडो भएको देख्छु।

नेपाल अङ्ग्रेज युद्ध (विसं १८७१–१८७३) मा सिन्धुलीगढी नाका पनि एक संवेदनशील नाका थियो। सिन्धुलीगढीसहित विजयपुरदेखि हरिहरपुरगढीसम्मको रेखदेखका लागि भीमसेन थापाका भाइ कर्णेल बख्तावरसिंह थापा सिन्धुलीगढीमा स्थानीय कमान्डर बनेका थिए। अङ्ग्रेजहरूले भने यस नाकातिर आक्रमण गर्दै गरेनन्।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरूको पहिचान गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्यक्रम अघि बढाएको सूचीमा ३००० वर्ग मिटरमा फैलिएको सिन्धुलीगढी पनि परेको रहेछ।

दरबार र गढीबिचको भागमा एउटा पौवासहितको सामान्य वनभोजको स्थल बनाइएको रहेछ। यही गढीबाट१८२४ सालको नेपाल अङ्ग्रेज युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरिदिएको थियो। सानो गढी र दरबार तथा ठुलो गढी जाने बाटोका मध्यभागमा प्राचीन अदालत र गोलघरको भग्नावशेषलाई काँढेतारले घेरेर राखिएको छ।

यो ठाउँ प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिलेसमेत महत्त्वपूर्ण भएकाले पर्यटकको आकर्षणको केन्द्र बनेको रहेछ। शनिवार यहाँ विशेष चहलपहल हुँदो रहेछ।

राईतिरबाट महोत्तरीको वर्दिबासबाट तथा काठमाडौँतिरबाट बनेपा हुँदै यहाँ पुग्न सकिन्छ। बनेपा–बर्दिबास (वीपी राजमार्ग) को झन्डै मध्यभागमा रहेछ, सिन्धुलीगढी। यो राजमार्ग मुख्यतः साना गाडीका लागि उपयुक्त छ। धेरै मोड वा घुम्ती भएकाले ठुला गाडीलाई सहज रहेनछ।

झन्डै ३० अर्ब खर्च भएको यो सडक निर्माण अहिलेसम्मकै सबैभन्दा महँगो सडक हो रे। यही महँगो बाटो खुर्कोटदेखि सिन्धुलीगढीसम्म हामीले पनि प्रयोग गर्‍यौँ।

यो सडक बन्नुभन्दा पहिलेदेखि नै तराईबाट उपत्यकातिर छिर्ने यो एक मूलबाटो थियो। यही बाटो भएर कृष्णप्रसाद कोइराला, धरणीधर कोइराला, पुष्पलाल आदि राजनेता लेखक, कलाकार तराई पसेका थिए।

विसं १३६७ मा सिम्रौनगढका सेना काठमाडौँ पुगी लुटपाट गरेर यही बाटो भएर विदेह (जनकपुर) फर्केका थिए। जयस्थिति मल्लका पाला (वि.स. १४०६) मा बंगालका शासक समसुद्दिन इलियासको फौजले काठमाडौँलाई ध्वस्त पारी यही बाटो भएर फर्केको थियो। यस्ता आक्रमणबाट बच्न जयस्थिति मल्लले १४११–१४५२ सालका बिचमा गढीको निर्माण गरी गढीको फेदीमा सुराकी राख्ने व्यवस्था मिलाएका थिए।

काठमाडौँका राजा यक्ष मल्लले अयोध्या र मगधलाई नेपालमा गाभेपछि विदेशी प्रत्याक्रमणबाट बच्न वि.सं. १५१५ तिर गढीलाई थप मजबुत बनाए। १५५६ साल कान्तिपुरका राजा शिवासिंह मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुलीगढीलाई आफ्नो अधीनमा लिएका थिए।

१८७३ सालमा सुरु भएको नेपाल–अङ्ग्रेज युद्धको समयमा यसको सामरिक महत्त्व बुझेर तत्कालीन जनरल भीमसेन थापाले यहाँ स्थायी छाउनीको व्यवस्था गरे। १८८६ माघमा पत्नी भक्तकुमारी देवीसित यहाँ गारद सलामी लिएका थिए।

सन् १८२९ मा गोर्खाली सेनाले गढी कब्जा गरेपछि पृथ्वीनारायण शाहले गढीमा काठ र खरको छानो भएको घर बनाए। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा सिन्धुलीगढी मकवानपुर राज्यअन्तर्गत पर्थ्याे।

वि.सं. १९७५ मा चन्द्र शमशेरका पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडा हाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल भएको टिनको छानो र इँट,सिमेन्टको गारो भएको दुई तले दरबार बनाउन सुरु गरे भने कर्णेल पुष्करविक्रमका पालामा गढीको निर्माण पूरा भएको थियो।

हाम्रो यात्रा चलेकै थियो । सिन्धुलीगढीबाट हामी सिन्धुलीमाडीतिर लाग्यौँ। सिन्धुलीमाडी पुग्न अझै १९ किलोमिटर रहेछ। गढीको अवलोकनले गर्दा होला सबैमा उत्साह जागेको थियो । साडे एघार बज्दा पनि भोक बिर्सेका थिए । गाउँखाने कथाको सिलसिला पुनः जोडियो। सिन्धुलीगढी हेरेर फर्केका कोही हार्न तयार थिएनन्। पकाएको पोलेर खाने, सुकाएको काँचै खाने के हो? भनी सोधिएको उत्तर भन्न पनि नसक्ने हार्न र गाउँ दिन पनि मन नमान्ने अवस्था आयो। सिन्धुलीगढी गाउँ दिएपछि मैले गाँठोफुकाइदिएको थिएँ। गाउँखाने कथा र सिन्धुलीगढीको गाथा सुन्दा–सुनाउँदा सिन्धुलीमाडी झरिएछ।

लाफा होटलमा खाना खायौँ। बाहिर जेठको हप्प गर्मी थियो। हाइसको एसीले मेन्टन गर्न सकिरहेको थिएन। सिन्धुलीमाडीबाट बनेपा–बर्दिबास सडक छाडी हामी मदन भण्डारी राजमार्ग समातेर हेटौँडातिर हुइँकियौं, मध्यान्ह १२ः३० तिर।

अमरगढी हेरें। रुन्टीगढी पुगेँ। जितगढी घुमेँ। दोलखाको कोतगढी पनि गएँ। यस गढीको महत्त्व र ऐतिहासिकता फरक पाएँ। नेपाली वीरता तथा युद्धचातुर्यको एउटा अवशेष हो, सिन्धुलीगढी।

भात र सिन्धुलीगढी घुमेर हेर्दाको आनन्दले गर्दा होला सहयात्रीलाई झुपुझुपु पार्न थाल्यो। कृष्णविक्रम थापाले उहिल्यै गाएको गीत कानमा गुन्जिरह्यो–

सिन्धुलीगढी घुमेर हेर्दा, सिन्धुलीगढी घुमेर हेर्दा

सुन्तलीमै कति पो राम्रो दरबार

मार्‍यो नि मायाले मार्‍यो, मार्‍यो नि मायाले मार्‍यो ... .. ...।

( नियात्राकार प्राडा कपिल लामिछानेकाे प्रकाश उन्मुख नियात्राकृति राराको डिलमा कृतिबाट।)

प्रकाशित: ९ चैत्र २०८० १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App