देवीप्रसाद सुवेदीको ‘मनु’ कृति हातमा लिनेबित्तिकै मनुष्यका मूलपुरुष मानिने ब्रह्माजीका सुपुत्र, मनुष्यका पिता, उत्तम र आदर्श पुरुष मनुलाई सम्झिन पुगें। ‘ऋग्वैदिक सामाजिक उपन्यास’ पुस्तकको आवरण पृष्ठमा लेखिएको परिचयमा मेरा आँखा झट्ट परे अनि मैले विचार गरें-‘यसभित्र पक्कै मनुको विशेषता, आदर्श, नैतिकता, चरित्र, मनु र मानवतासँग सम्बन्धित कथाकहानी होलान्।
मेरो मनले तत्कालै मनुस्मृतिका विवादित पाटालाई सम्झिन पुग्यो। फेरि सोचें-मैले बुझेको मनु त सम्पूर्ण रूपमा मानवतावादी मनु हो, मैले त मनुलाई व्यक्तिभन्दा पनि विशेषताका रूपमा बुझ्ने कोसिस गर्दैछु। मनुस्मृतिमा किन, कसले र कहिले मानवताविरोधी कुराहरू लेखिदिएर मनुस्मृतिलाई नै आलोच्य पारियो? त्यतातिर नलागी म त मनुको बिम्बलाई मात्र पढ्ने जमर्को गर्न थालें।
देव र असुरको लडाइँ, आमाले छोरीप्रति गरेको ईष्र्या, डाह, छल, कपट र षड्यन्त्र, दाजु र बहिनीको मर्यादा, यौवन, मनोविज्ञान र आकर्षण, दाजु र भाइको झगडा, वृत्रको हत्या, सुत्रामा इन्द्र, अलकापुरीको लालच, विभिन्न नारी पात्रहरूको सन्दर्भ र संघर्ष, नारी स्वतन्त्रताका विषय, यमीको मनोभाव आदि पढेपछि पुस्तकलाई हातमा खेलाउँदै निकैबेर सोचमग्न भएँ-‘आजको परिवेशमा देवीप्रसाद सुवेदीलाई ऋग्वैदिक सामाजिक उपन्यास लेख्न किन मन लाग्यो होला त? आजको अव्यवस्थित, अधैर्य र अशान्त पुस्तालाई किन चाहियो ऋग्वैदिक समाजको कथा ? यो उपन्यास पढेर के फाइदा लिन्छ आजको समाजले ? कसरी बुझ्छ मनुलाई?
मेरो मस्तिष्क अझ तुलबुलियो र पुनः सोचें-उपन्यास लेख्नका लागि मात्र मनु पक्कै लेखिएको होइन। मैले बुझेको मनुको अर्थभन्दा अझ गहिरो अर्थ बोकेको हुनुपर्छ मनुले। मनुभित्र पक्कै पनि ठुलो रहस्य लुकेको छ। मानवता हराएको बस्तीमा मनुलाई जन्माउनु छ, हुर्काउनु छ। मानव मनले भरिएका मान्छेलाई समाजमा पुनः स्थापित गरेर शान्तमय समाज निर्माण गर्नु छ। सत्ताको उन्मादले इन्द्रहरूले नैतिकता, इमानदारी, मानवता, सहयोग, सद्भाव, न्याय गुमाएका कथा पढ्दै गर्दा मैले आजको समाज खित्का छोडेर हाँसेको सुनें।
आखिर हरेक समाजमा हरेक युग लुकेको हुनेरहेछ। हरेक मान्छेमा देव र दानव बसेको हुनेरहेछ। प्रत्येक मान्छेले आफ्नै मनरूपी असुरलाई जितेर देवत्व प्राप्त गर्नु जीवनको परम लक्ष्य लिनुपर्ने रहेछ।
लोभ, लालच, अहंकार, हिंसा, हत्या, छल, कपटलाई अन्त्य गरेर समतामूल समाज स्थापित गर्नु प्रत्येक तक्षशिलाको उद्देश्य हुनुपर्छ। मानवबाट महामानव बन्न अभिप्रेरित गर्ने ज्ञान हरेक शिक्षालय र गुरुबाट दिइनुपर्छ।
मनुमा यो कुरालाई यसरी प्रस्ट पारिएको छ-‘हाम्रो राज्य र समाजमा कहीं पनि अरूको सम्पदामाथिको लालच, पारस्परिक हिंसा र शत्रुता नहोस् र समाजलाई दया, प्रेम, करुणाजस्ता भावनाले युक्त नैतिकवान् व्यक्तिहरूको बसोबासयुक्त बनाउन सकेमा नै हामी उत्तम मानव अर्थात् देव बन्न सक्छौं।’ (पृ. २१)
मनुमा स्पष्ट देखाइएको छ देवमा भएको असुर प्रवृति र असुरमा भएको देव प्रवृति। मान्छेले कसरी देवत्व प्राप्त गर्ने भन्ने कुरालाई मनुले यसरी सुझाएको छ, ‘वस्तुतः अग्निमा गरिने कुनै पनि प्रकारको द्रव्य वस्तुको हवनभन्दा आफ्नो मनका खराब इच्छा, द्वेष, लोभ, क्रोधजस्ता दुर्भावलाई सद्ज्ञानको अग्निमा हवन गर्नु नै उत्तम यज्ञ हो। जसले यस्तो यज्ञ गर्छ, ऊ देव हो र दुर्भावले युक्त भएर दम्भपूर्वक द्रव्यको हवनले गरिने यज्ञ असुर यज्ञ हो। त्यस्तो यज्ञकर्ता असुर हो। अब वर्ण, वर्ग र जातिका आधारमा नभएर गुण र कर्मका आधारमा देव र असुरको वर्गीकरण गर्ने परिपाटी देवलोकमा बसाल्नुपर्छ।’ (पृ. १९५)
यहाँ कस्तो मानसिक हवनको कुरा उठाइएको छ? गहिरिएर सोच्न आवश्यक छ। कृष्णले भनेझैं युद्ध पनि गर, मेरो नाम पनि जप। यो हवन त आत्मज्ञानबिना कसरी पूरा हुन सक्छ? उत्तम किसिमले जीवन जिउने कला नै त आत्मज्ञान हो। त्यसैले मनु आत्मज्ञानले भरिपूर्ण छ।
‘मातृगृहमा सरण्यु’ शीर्षकले पनि आत्मज्ञानलाई उठान गरेको पाइन्छ। दनु विपनाको संसारमा आउँदा त्वष्टाले सम्झाएको संवाद बढो गहिरो छ-‘हेर दनु! तिम्रो मेरो इच्छाले मात्र शताब्दिऔं अघिदेखि रहेको देव र असुरहरूबिच वैमनस्य अन्त्य हुने होइन। अब जीवनका यी अन्तिम दिनमा हामीले बितेका कुरालाई बिर्सेर आफ्नो मनलाई एकाग्र तुल्याउने मानसिक शान्ति लिनुबाहेक हाम्रा लागि अरू मार्ग छैन।’ (पृ. १३७)
अब प्रश्न उठ्छ, कसरी मानसिक शान्ति लिने? के आत्मज्ञानबिना र स्वपहिचानबिना मानसिक शान्ति सम्भव छ? शान्ति के हो? मानवभित्र शान्ति कहाँ छ? त्यो शान्तिलाई कसरी अनुभव गर्ने? सरण्युले मानसिक शान्तिको अभ्यास आफैंभित्र गरेको मनुले मज्जाले देखाएको छ।
प्रत्येक मानवले आफूमा स्थित त्यो परमज्ञानको अनुभव नगरी मानसिक शान्ति हुँदैन। जबसम्म मान्छेलाई मानसिक शान्ति प्राप्त हुँदैन, ऊ वास्तवमा शान्त हुनै सक्दैन। मनु बन्ने कला पनि यही साधना र ज्ञानको मार्गमा लुकेको कुरा मनुले व्यक्त गरेको छ।
आखिर हामी को हौं? यो युगकै प्रश्न हो आफूले आफूलाई चिन्नु। आफ्नो मानसलाई चिन्नु नै मनुसँग परिचित हुनु हो। यो धरामा मान्छेको स्वरूपमा हामी जन्मिएर पनि के हामी हाम्रो मनुवासँग नजिक हुन सकेका छौं? आखिर हाम्रो मूल स्वरूप के हो? के हो त मनु, मानस, मानव वा मान्छे?
सम्पूर्ण वैभव प्राप्त गरेर पनि किन अतृप्त छ मानिस? मान्छेलाई मात्र किन मान्छे बन्न अभिप्रेरित गर्नुपर्छ? सर्वश्रेष्ठ प्राणी मान्छेले आज असम्भव कार्यहरू गरिसक्यो। आफूजस्तै हुबहु अर्को मान्छे बनाउन सक्छ आजको मान्छे तर ऊ मनु बन्न चाहिँ बिर्सिएको छ।
गाईलाई कसैले तँ राम्रो गाई बन्नुपर्छ भन्नुपर्दैन। तर मान्छेलाई भन्नुपर्छ किन होला? हामीलाई ज्ञानी हुन, मान्छे हुन ज्ञान चाहिएको छ तर पनि हामी असफल हुँदै गएका छौं। मानवताको पाठ घोकेर मात्र मान्छे पूर्ण मानस बन्न सक्छ? यदि विश्वविद्यालयबाट दीक्षित भएर मानवता जागृत हुने भए आज यो दशा हुने थिएन।
आज सत्ताको मोहमा मान्छे कसरी अमानुष बनेको छ। सत्ता, शक्ति र शासनभन्दा माथि आजका इन्द्रले अरू केही देख्दैनन्। सम्पत्ति र सम्पन्नता हडप्ने होडमा मान्छेमा उन्माद बढेर संसार ध्वस्त पार्दैछ। सत्ताधारीहरू सम्पूर्ण विश्वलाई आफ्नो अधीनमा राख्न चाहन्छन्। सत्तामा पुगेका सम्पन्न मान्छे सदैव हन्तकाली हुँदैछन्।
युद्धको पिरो धुवाँमा बारुदको मुस्लोसँगसँगै मानवताको चिता जल्दैछ। मान्छेबाट करुणा, प्रेम, दया, सहयोग पनि खरानी हुँदैछन्। मान्छे केवल मान्छेको खोल ओढेको डरलाग्दो राक्षस बन्दै छ।
सकारात्मक र नकारात्मक विचारहरू नै देव र दानव हुन्। मान्छेको मन नै शत्रु, मन नै मित्र हो। मनको चञ्चलताले हृदयको शान्तिलाई छोपिदिएको छ। रिस, राग, अहङ्कार, क्रोध, घमण्डलाई व्यवस्थापन गर्न नसक्दा ईश्वरीय गुणहरू लुप्त भएका छन्।
अभ्यासको अभावमा प्राप्त भएका ज्ञानहरू पनि क्षय भएर जान्छन्। सकारात्मक र नकारात्मक कार्यहरूको युद्ध नै देव र असुरको युद्ध हो। मनु पढ्दै गर्दा महाकविलाई झलक्क सम्झिएँ। यात्री कविताको मूल सन्देशलाई गम्भीर भएर तुलना गर्दै गएँ। मान्छे नै ईश्वर हो।
महाकविले कस्तो मन्दिरको कुरा गरे? अनि हामी अझ पनि ईश्वर खोज्न कता भौंतारिरहेका छौं? शान्ति खोज्न कता दौडिरहेका छौं? मान्छेभित्र के छैन? सम्पूर्ण ब्रह्माण्ड मान्छेभित्र छ। हरेक जात मान्छेभित्र छ। हरेक युग पनि हामीभित्रै अटाएको रहेछ।
वास्तवमा आफूले आफैलाई चिन्ने हो भने सम्पूर्ण ज्ञानको रहस्य उद्घाटित हुनेरहेछ। जब हृदयमा भर्गो ज्योतिलाई प्रकाशित गरिन्छ, तब सत्य छर्लङ्ग हुन्छ। ज्ञान र विज्ञानको रहस्य हो मनु। असुरबाट मान्छे बन्ने पाठशाला हो मनु।
प्रकाशित: ३ चैत्र २०८० १०:५१ शनिबार