२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

संस्कृति सम्बर्द्धन र प्रवर्द्धनका लागि बाजा वितरण

 ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी तथा सिन्धु नेवाः खल लगायत पुचहरूलाई निशुल्क बाजा वितरण गरेको छ।

ज्यापु विकास संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनका अनुसार विभिन्न वाद्यवाधनका सामाग्रीहरू हार्माेनियम थान २, तबला २ सेट, पछिमा २ सेट, झ्याली ५ सेट, मादल ठूलो सानो गरी २ थान, ताँ १ सेट प्रदान गरिएको हो।

उपाध्यक्ष महर्जनले संस्कृति सम्वद्र्धनमा ज्यापू संस्कृति विकास कोषले यसअघि काठमाडौंका ६३ टोल, थाहा नगरपालिका, भक्तपुर र भारतको सिक्किम लगायत क्षेत्रमा बाजा वितरण गरिसकेको बताए।

सिन्धुपाल्चोकको पुरानो बजार चौतारामा आयोजित कार्यक्रममा कोषका अध्यक्ष मङ्गलकृष्ण सिंह, उपाध्यक्ष सन्तकुमार महर्जन, ज्यापु महागुठी नेपाः का अध्यक्ष सत्यनारायण डंगोल लगायतका पदाधिकारीहरूले सम्पदा संरक्षण गुठी चौताराका अध्यक्ष रविन्द्र श्रेष्ठलाई बाजा हस्तान्तरण गरेका हुन्।

उक्त बाजा सिन्धु नेवाः खल, म्हसिका पुचः, भिन्तुना आमा समूह र ज्योतिष परिषद् लगायतले प्राप्त गरेका हुन्। पछिल्लो समय नेवाः संस्कृति जगेर्नाका लागि सिन्धुपाल्चोकका नेवाः समुदायले काठमाडौं, भक्तपुर र ललितपुर लगायत उपत्यकाका नेवा संस्कृतिका क्षेत्रमा काम गरिरहेका संस्थाहरूसँग सहकार्य गर्दै आएको सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताएका छन्।

त्यस्तै संस्कृति अभियन्ता ध्रुव श्रेष्ठले चौताराको नेवाः संस्कृति जगेर्नामा स्थानीय तहले प्रभावकारी भूमिका खेल्न नसकेको र बरु नेवाः समुदायलाई काठमाडौं उपत्यकाकै नेवाः समुदायबाट सहयोग मिलिरहेको बताए।

बाजा वितरणमा समन्वयकारी भूमिका खेलेका संस्कृतिकर्मी कुमार रन्जितले मुलुकभर लोपोन्मुख अवस्थामा पुगेको नेवाः सभ्यता र संस्कृति जगेर्नाका लागि काम गर्दै आएको ज्यापु संस्कृति विकास कोषले यस पटक सिन्धुपाल्चोकको चौतारामा बाजा आवश्यक्तालाई बुझेर वितरण गरिएको बताए। उनले श्रीहरि भजन (मृदङ्ग) सुनाकोठीका तर्फबाट निःशुल्क रूपमा भजन प्रशिक्षण प्रदान गरिने पनि बताए।

सम्पदा संरक्षण गुठी चौताराका अध्यक्ष रविन्द्र श्रेष्ठले निःशुल्क बाजा ग्रहण गर्दै २०७२ साल वैशाख १२ गतेको भूकम्पले विनाश गरेको चौताराको कृष्ण मन्दिरमा पुनः भजन शुरू गर्न स्थानीयवासीलाई निःशुल्क रूपमा भजन प्रशिक्षण शुरू गरिएको बताए।

उनले सुनाकोठीका प्रशिक्षकद्वय सुरेन्द्र महर्जन र उमेश महर्जनका साथमा भजन प्रशिक्षणमा स्थानीयहरूले लाभ लिने बताए। भूकम्पपछि चौताराको कृष्ण मन्दिरमा टुटेको भजन संस्कृतिलाई निरन्तरता दिन बाजा सहयोगी हुने कोषको अपेक्षा छ।

कार्यक्रममा म्हसिका पुचः का उपाध्यक्ष गुणकेशरी श्रेष्ठ लगायतले स्थानीय नेवा समुदायमा भाषाको ज्ञानमा कमी भएका कारण ज्यापु संस्कृति विकास कोषलाई भाषा प्रशिक्षणका लागि पनि आग्रह गरे। म्हसिका पुचःका अध्यक्ष सिता श्रेष्ठ कसजुले चौतारामा निःशुल्क रूपमा पाएको बाजा तथा भजन प्रशिक्षणले स्थानीय भजन संस्कृतिलाई अझ उचाइमा पुर्‍याउन सकिने बताए।

संस्कृतिको सम्बर्द्धनसँगै चौतारा साँगाचोक गढीमा नगरपालिकामा चर्चित तिर्थस्थल गौरती मन्दिर, कृष्ण मन्दिर, पछिल्लो समय विकास भएको बुद्ध पार्क र पार्कमा जाने पदमार्ग हजार सिंढी, भूत छाँगो, भदौरे गणेशथान, पुरानोबजारको नारायणस्थान, इर्खुको बोर्न प्रतिमा, स्याउलेको हर्लङबर्लङ मन्दिर लगायतले पर्यटकहरूलाई आकर्षण गर्दै आएको छ।

यस क्षेत्रमा बसोबास गर्दै आएका नेवाः समुदायले आफ्ना पुर्खाले मान्दै आएका र लोप भएका संस्कृतिलाई पछिल्लो समय पुनः सम्वर्दन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियान नै थालेको छ। यो अभियानलाई स्थानीय तह सरकारले समेत साथ दिन जरुरी रहेको कार्यक्रमका सहभागीहरूले जनाएको छ।

कार्यक्रममा काठमाडौंबाट ज्यापु संस्कृति विकास कोषका अध्यक्ष, मंगलकृष्ण सिंह उपाध्यक्ष सन्तकुमार महर्जन, कोषाध्यक्ष निरजकुमार महर्जन, उपकोषाध्यक्ष गोविन्द महर्जन, एवं ज्यापु महागुठी नेपाः को केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोल, कार्यसमिति सदस्यहरू तीर्थनारायण महर्जन, कुलनारायण महर्जन, बालकृष्ण महर्जन, समाजसेवीहरू लक्ष्मण गमाल, रमेश महर्जन, कुमार रन्जित लेखक तथा साहित्यकार जितेन्द्र रसिक, विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो। आयोजकले बाजा वितरक टिमलाई मायाका चिनो वितरण गरेका थिए।

प्रकाशित: २९ फाल्गुन २०८० १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App