२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

हुइया-हुइया

कविता

घरी पल्लो वनका स्यालहरू

घरी वल्लो वनका स्यालहरू

पालैपालो कराउँछन्

हुइया-हुइया।

बेलाबेला जुवारी खेल्छन् 

यी स्यालका हुलहरू

रनवनै उचाल्छन्

जुरुक्क/जुरुक्क।

कतिबेला के झनक चल्दो हो कुन्नि

भेला हुन्छन् एकै खोला किनारमा

साउती मार्दै बात मार्छन्,

हातहरू मिलाउँछन्

अनि म दङ्ग पर्दै ठान्छु

अब सुन्नुपर्ने छैन कर्कशलाग्दो हुइयाहुइया

टट्याउने छैनन् मेरा कानहरू

तर, स्याल न परे

फेरि उहीँ स्वरमा गर्छन् हुइया-हुइया।

बर्सौदेखिको हुइयाहुइयाले

पाकिसके मेरा कानहरू,

असुरक्षितको त्रासमा छन् सिंगाे बस्ती

तर हरामखोर स्यालहरू,

हुइयाहुइयामै गर्दै छन् मस्ती।

बुढा स्यालहरूको आवाज दबाउन

खोज्छन् युवा उर्फ नयाँ स्यालहरू

बदलिएको स्वरूपमा

तर उहीँ पुरानै लयमा

हुइयाहुइया।

प्रकाशित: २५ फाल्गुन २०८० १४:१० शुक्रबार

अक्षर