२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

इलाममा लिम्बू सांस्कृतिक महोत्सव हुने

इलाममा २५ औं राष्ट्रिय चुम्लुङ महोत्सव आयोजना हुने भएको छ। चुम्लुङ संघीय कार्य समिति तथा आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा यही फागुन २४ र २५ गते महोत्सव अयोजना हुने भएको हो।

सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा चुम्लुङ महासचिव निरन्ती तुम्बापोले आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइन्।

‘त्यस अवसरमा करिब दुई सय च्याबु्रङ नृत्य (केलाङ)सहित सांस्कृतिक कला प्रस्तुत गरिने छ,’ उनले भनिन्, ‘सहभागीले तागा (पुरुषले लाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गर्नेछन्।’ महोत्सव अवसरमा मालाङ (धाननाच) प्रस्तुत गरिनेछ।

‘२५ गते साँझ सबै सहभागीलाई तरेचा (सांस्कृतिक परिकार)मा सहभागी गराइनेछ,’ उनले भनिन्, ‘महोत्सवमा ठूलो संख्याका सहभागी इलाम आउनेछन्।’ राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुनेछ। पूर्वका नौ, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाका सहभागी महोत्सवमा आउने इलामस्थित चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन्।

लिम्बुवान प्रदेश कार्य समिति र नेवा–ताम्सालिङ प्रदेश कार्य समिति, थप छ विषयगत संगठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधि, सम्बन्धनप्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधि, व्यवस्थापक जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य र अन्य गरी करिब दुई सय ३० जना छलफलमा सहभागी हुने आयोजकको अनुमान छ।

‘कोशी प्रदेश नाम खारेज गर्दै लिम्बुवान, किरात नामकरणको अवस्था र भावी रणनीतिका बारेमा महोत्सवमा छलफल हुनेछ,’ चुम्लुङ संघीय उपाध्यक्ष कमल तिगेलाले भने, ‘सांगठानिक तथा प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै एकवर्षे नीति–कार्यक्रम तय गरिनेछ।’ यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ÷लिम्बू भाषा विकासको योजना बनाइने उनले जनाए। इलाममा विजयबहादुर लिम्बूलगायतका सहिदको लिम्बुवानका लागि बलिदानको चर्चा र लिम्बू याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा पनि गरिने उनको भनाइ छ।

उद्घाटनको दिन इलामस्थित नारी विकास संघको कार्यालयको प्रांगणबाट सुरु हुने सांस्कृतिक झाँकीसहितको प्रदर्शन इलाम चोक बजार पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ।

इलाममा २०४६ साल १७ मा चुम्लुङ गठन भएको हो। चुम्लुङले आदिवासी याक्थुङ÷लिम्बू समुदायको सांस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा लामो समयदेखि काम गरिरहेको चुम्लुङका जिल्ला सचिव राम योङहाङले बताए।

प्रकाशित: २२ फाल्गुन २०८० ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App