३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

दुई कृति लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टाेकियाे साँझ सम्पन्न

विश्व नेपाली साहित्य महासंघ, जापान शाखाको आयोजनामा कविद्वय प्रविण लामा ‘अपरिचित’ को ‘सिनकानसेनको देशबाट’ लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचन अन्तर्गत जापान विमोचन तथा कवि सयपत्री थुलुङ विशेष गाउँ फर्किरहेको परदेशी टोकियो साँझ टोकियोमा सम्पन्न भएको छ।

विशिष्ट अतिथिको रूपमा रहेका नेपाली भाषा र साहित्यप्रेमी जापानी नागरिकहरू हारुहितो नोजु र युको ओकामोतोद्वारा सामूहिक दीप प्रज्वलन गरी नेपाली राष्ट्रियगान बजाएर कार्यक्रम सुरु भएको थियो।

विश्व नेपाली साहित्य महासंघ, केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ को प्रमुख अतिथि र विश्व नेपाली साहित्य महासंघ, केन्द्रीय महासचिव सुनिता राई कन्दाङ्वा विशिष्ट अतिथिको रूपमा भर्चुअल माध्यम तथा भौतिक उपस्थितिमा अनेसास जापान शाखाका अध्यक्ष अरुण पौडेल, जनजाति पत्रकार महासंघ जापानका अध्यक्ष फुर्वा शेर्पा, नेपाली जनप्रगतिशील मञ्च जापानका, महासचिव दावा शेर्पा तथा किरात याक्थुङ चुम्लुङ जापान, उपाध्यक्ष मनकुमार तुम्सा लगायत आमन्त्रित अतिथिहरूले सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जेको सामूहिक लाेकार्पण गरेका थिए।

गंगा गगनको स्वागत मन्तव्यसँगै अगाडि बढेको कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा कृतिहरूको लाेकार्पण तथा लाेकार्पित कृतिका सर्जकहरूको लेखन अनुभव सुन्ने थियो।

त्यसै गरी भौतिक तथा भर्चुअल माध्यमबाट अतिथिहरूको शुभकामना मन्तव्य थियो। भर्चुअल माध्यमबाट जोडिई अतिथि आसन ग्रहण गरेका भोजपुरबाट राष्ट्रिय कविता महोत्सव-२०७८ को विजेता कविता राई र इटहरीका वरिष्ठ भाषाविद् दिनेश पौडेलले कर्मथलो जापान बनाएका नेपाली साहित्यमा कलम चलाउनेहरूको महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए।

प्रवासी नेपाली मञ्चको अध्यक्ष कुलचन्द्र खरेलले शुभकामना मन्तव्य दिंदै भने, ‘साहित्यबाट हरसमाजले केही न केही शिक्षा पाउने र सच्चिनुपर्ने ठाउँमा सच्चिन प्रेरित समेत गर्ने भएकाले विश्वको जुनसुकै भूगोलमा पुगे पनि आफ्नो समाजका लागि कलमकर्मीले निरन्तर लेखिरहनुहोस्।’

भर्चुअल माध्यमबाट जोडिएका कवि राजु स्याङतानले ‘ओ पेङ्दोर्जे’ एउटा दस्तावेजको रूपमा दाबी गर्दै नव पुस्ताका लागि यो कवितासंग्रहले सेतुको काम गर्ने बताए।

पेङ्दोर्जे मेरै पुस्ताले खोज्नुपर्थ्यो र मैले खोजें, उनले अगाडि थपे। लोकार्पित ‘सिनकानसेनको देशबाट’को सर्जक प्रविण लामा ‘अपरिचित’ले आफ्नो कर्मथलो जापानमा सिनकानसेन (बुलेट रेल) जसरी विकासका हरेक काम तीव्र गतिमा कुद्छन्। त्यसरी नै आफ्नो मातृभूमि समेत भइदिए हुन्थ्यो भन्ने आशयमा लेखिएका कविताहरू सङ्गृहीत भएको बताए। अझ भनौं नैतिक दबाब देशसम्म पुगोस् भन्ने चाहना रहेको बताए।

दोस्रो चरणमा खुला रचना वाचन रहेको थियो। विनेसामको सल्लाहकार भुवन रोकाले मन्तव्यसहित रचना तथा विमन किराती, दिलिप राई, गंगा गगन, अनिलकुमार ‘निर्दोष’, अरुण पौडेल, राजन घले, उमेश तिमिल्सिना, विजय स्याङ्बो, म्यामराज राई लगायत एक दर्जन जति साहित्यकारले विभिन्न विधामा आफ्ना रचना सुनाएका थिए।

कार्यक्रमको महत्त्वपूर्ण भाग अर्थात गाउँ फर्किरहेको परदेशी टोकियो साँझ तेस्रो चरणमा राखिएको थियो। उक्त चरणमा कवि सयपत्री थुलुङको एकल कविता वाचन राखिएको थियो। एक दर्जन जति वाचित उनका कविताहरू भर्खरै बजारमा आएको गाउँ फर्किरहेको परदेशी कवितासङ्ग्रहमा सङ्गृहीत छन्।

सयपत्रीको काव्य सामर्थ्य स्रोता, दर्शकलाई आफ्ना कवितामार्फत सुदूर सम्झनामा पुरयाउनु हो। यो साँझले पनि साँच्चिकै सबैलाई मन्त्रमुग्ध बनायो। ४० जना जति साहित्यप्रेमीहरूको उपस्थिति रहेको हलमा तालीको गडगडाहटले गुन्जायमान भएको थियो।

कार्यक्रम समापन हुनुअघि अर्थात अन्तिम चरणमा गंगा गगनको शब्द र भ्वाइस अफ नेपाल, सिजन -५ को विजेता विनोद राईको सङ्गीत र स्वरमा रहेको निबुखोले सोल्टिनी बोलको गीत सार्वजनिक गरिएको थियो। उपस्थित दर्शकहरू कम्मर मर्काउँदै छमछमी नाचेका थिए।

विनेसाम, जापान शाखाका लामा सदस्य, सयपत्री सहसचिव तथा गगन सचिव समेत हुन्। करिब तीन घण्टासम्म चलेको कार्यक्रम सञ्चालन विनेसामका महासचिव रविन्द्र दिखुक्पाले गरेका थिए। सभाध्यक्षको रूपमा रहेका विनेसाम, जापान शाखाको अध्यक्ष देवीबहादुर इङ्नाम लिम्बुले भर्चुअल तथा भौतिक रूपमा उपस्थित हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो।

प्रकाशित: १ फाल्गुन २०८० १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App